0
गोल्डेन न्यूज संवाददाता
वरिष्ठ गजलकार डा. कृष्ण जंग राणाको एकल गजल वाचन कार्यक्रम बुधबार पोखरामा सम्पन्न भयो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज गण्डकी अञ्चल समितिले आयोजना गरेको कार्यक्रममा उनले आफ्नो उमेरलाई समेत ख्याल नगरि फूर्तिलो पारामा २ हिन्दी, ४ नेपाली भाषाका गजल गीति शैलीमा प्रस्तुत गर्दा पोखरेली गजल प्रेमीहरुले निकै चासोपूर्वक सुनेका थिए । जिन्दगी नै कहानी हो बाट शुरु गरेर हिन्दी भाषाको २ गजल सहित अन्य ३ नेपाली गजल मान्छेले मान्छेलाई...., हाम्रो मनमा माया फूले..., आयु होइन जीवन देउ भन्ने गजल प्रस्तुत गरेका थिए । उनी आफ्नो गजलमा स्रोताले चित्त दुखाउँछन् कि भनेर निकै चनाखो भएका थिए । यस क्रममा उनले कस्तो कजल मन पर्छ ? हिन्दी गजल ठीक हुन्छ कि हुँदैन ? उमेरले साथ दिएन, कति सुनाउनुपर्छ ? भनेर बीच–बीचमा सोधेका थिए । 
अन्य गजल वाचनमा करिब २ दर्जन गजल सुन्ने स्रोता राणाको ६ वटा गजलमै खुशी भए, किनकी राणाको गजल गायनमा उमेर र स्वास्थ्य अवस्थाले धेरै साथ दिंदैन भन्ने राम्रैसंग स्रोताले बुझेका थिए । यस्तै राणाले समय तालिकालाई समेत राम्रैसंग ख्याल गरेका थिए । उक्त अवसरमा उनले कार्यक्रमको आफ्नो समय तालिका १ बजेदेखि ५ बजेसम्म भएको बताएका थिए । उनको समय तालिकालाई केही पोखरेली साहित्यकारहरुले प्रशंसा समेत गरेका थिए । डा. राणाले २ वटा उठेर र ४ वटा गजल बसेर गाएका थिए। गजल गायनका क्रममा उनको उमेरावस्था प्रष्टै झल्किन्थ्यो । गायनका क्रममा उनका कैयौंपटक स्वर लर्वराएका थिए । कार्यक्रमका डा. राणालाई दोसल्ला र सम्मानपत्र सहित सम्मान गरिएको थियो ।
कार्यक्रमकी प्रमुख अतिथि एवं लोकगायिका प्राज्ञ हरिदेवी कोइरालाले पोखरामा फेवाको छालजस्तै पटक–पटक डा. राणाका जस्ता गजल सुन्न पाइयोस् भन्ने शुभेच्छा व्यक्त गर्दै राणाको सम्मानस्वरुप आफ्नो गजल वाचन गरेकी थिइन्। स्रष्टा परिचय राख्दै अनेसास गण्डकीका सचिव असफल गौतमले ८६ वर्षको उमेरमा गजल गायन गर्नु र दर्जन बढी हिन्दी र नेपाली गजलका किताब प्रकाशन गर्नु नै डा. राणाको पूर्ण परिचय रहेको बताए। 
संस्थाका अध्यक्ष दुर्गाबहादुर शाह बाबाले डा. राणाबाट हामी सबैले प्रेरणा लिनुपर्ने बताए। कृष्ण रानाभाट सारथीले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन पितमसेन ठकुरीले गरेका थिए। वि.सं. १९८८ भाद्रमा बाँकेको नेपालगञ्जमा जन्मेका राणाले एमबीबीएस, डीपीएचसहित विद्यावारिधि गरेका छन्। राणाका देशको लागि मन दुखाऊ कविता संग्रह–२०२८, मेरो गीत तिम्रो लागि कविता संग्रह–२०३०, बिखर काँटे बिखरे फूल हिन्दी कविता संग्रह–२०६२, मनका उद्गार कविता संग्रह–२०६२, अन्तर्भाव कविता संग्रह–२०६७, मनकै सेरोफेरोमा, आस्थाको खोजीमा गजल संग्रह–२०६७, भाव थरीथरी, मायाको सँगालो, छल्किएका भाव मनका गजल संग्रह–२०६८, उकाली ओराली गजल संग्रह–२०६९, जिन्दगी की परछाइयाँ, जीवन की गलियोँ में हिन्दी गजल संग्रह–२०६९, प्यारका तोहफा, जिन्दगी प्यार और खुशियाँ हिन्दी, मन्जिल की खोज गजल संग्रह–२०७०, धूपछाँह हिन्दी गजल संग्रह २०७१ कृति प्रकाशित छन्। भानुभक्त पुरस्कार, मध्य पश्चिमाञ्चल गजल सम्मान, नेपाल हिन्दी सम्मान, मध्यपश्चिम स्रष्टा सम्मान, अवधि सांस्कृतिक सम्मान र राष्ट्रिय गजल सम्मानबाट सम्मानित भइसकेका छन् ।



Post a Comment

 
Top