0
गोल्डेन न्यूज संवाददाता
पोखरा उपमहानगरपालिका– १७ बिरौटाकी मन्जिता भण्डारीले भाडामा लिएको ६ रोपनी जग्गामा लगाएकोे फूलखेतीबाट मनग्य आम्दानी गर्दैआएकी छन् । असोज महिनाको दोस्रो सातायता उनले फूल बिक्रीबाट ५० हजार रुपैयाँ आम्दानी गरेकी छन् । सात लाख कमाउने भण्डारीको लक्ष्य छ । फूलखेती गर्न उनले दुई लाख ५० हजार रुपैयाँ खर्च गरेकी छन् । तिहारलाई लक्षित गरी लगाइएका ४४५ कोलकतिया र ४४० मेरिगोल्ड जातका फूल बारीबाटै प्रतिथुङ्गा पाँच रुपैयाँका दरले बिक्री गर्ने गरेको भण्डारीको भनाइ छ । यस्तै बाराही नर्सरीका सञ्चालक भण्डारीले विगत तीन वर्षदेखि फूल व्यवसायमा संलग्न छन्। पोखरामा फूलको माग अत्यधिक भए पनि बीउ, बेर्ना, मल र कामदारको अभाव छ । ‘फूलको आयात रोक्नुपर्छ’–उनले भने । कोलकतिया जातका फूलका बिरुवा हेटौँडाबाट ल्याइएको हो । पोखरा र यसआसपासको क्षेत्रमा करिब २० करोड रुपैयाँ बराबरको फूल उत्पादन भए पनि यसले बजारको माग ७५ प्रतिशतमात्र पूरा गर्न सकेको फ्लोरिकल्चर एसोसिएसन कास्कीका अध्यक्ष दयाकुमार द्वाले जानकारी दिए ।

Post a Comment

 
Top