0
प्रधानमन्त्री पुष्पकमल दाहालले अख्तियार प्रमुख लोकमानसिंह कार्की्विरुद्धको महाअभियोग प्रस्ताव पूर्वसेनापति रुक्मांगद कटवाल काण्डपछिको ‘दोस्रो गम्भीर राजनीतिक परिघटना’ भएको बताएका छन्। कार्कीविरुद्ध महाअभियोग प्रस्ताव अघि बढाउने सम्बन्धमा बिहीबार भएको पार्टीको संसदीय समिति बैठकमा बोल्दै प्राधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष दाहालले उक्त कुरा बताएका हुन्। ‘हामी अत्यन्तै जटिल मुद्धाको सामना गर्दैछौं,’ दाहाललाई उदृत गर्दै एक सांसदले भने, ‘लोकमानसिंहविरुद्धको महाअभियोग भनेको कटवाल काण्डपछिको सबैभन्दा जटिल र गम्भीर परिघटना हो।’ पहिलो संविधानसभामा चुनावमा सबैभन्दा ठूलो दल भएपछि तत्कालीन माओवादी पार्टीका अध्यक्षका हैसियतले प्रधानमन्त्री बनेका दाहालले सेनापति कटवाललाई बर्खास्त गर्ने विवादास्पद निर्णयका कारण उनको सरकार भंग भएको थियो। बैठकमा उपस्थित सांसदका अनुसार लोकमानविरुद्ध महाअभियोग दर्ता गरेका कारण ‘चलखेल’मार्फत आफ्नो सरकार भंग पनि हुन सक्ने र लोकमान विरुद्ध महाअभियोग पनि नलाग्ने अवस्था आउन सक्ने भन्दै उनले सांसदहरूलाई सजग गराएका थिए। पार्टीका सांसदहरुले भने आफूलाई कुनै जानकारी नदिई र छलफल नै नगरी महाअभियोग दर्ता भएकोमा गुनासो पोखेका थिए। ‘हामी लोकमानको साथमा थिएनौं। उनलाई महाअभियोग लगाउनुपर्छ भन्नेमा अधिकांश सांसदको मत हो,’ उपस्थित एक सांसदले भने, ‘तर, कसैलाई थाहै नदिइकन किन र छलफल नै नगरिकन महाअभियोग प्रस्ताव दर्ता गरियो भन्ने हाम्रो गुनासो थियो।’ केही संसदले पार्टीको तर्फबाट हस्ताक्षर बुझाउने जनार्दन शर्मालाई कारबाही स्वरूप मन्त्रीमण्डलबाट फिर्ता बोलाउनु पर्ने पनि माग गरेका थिए। त्यसपछि अध्यक्ष दाहालले महाअभियोग सम्बन्धि आधिकारिक निर्णय लिन शुक्रबार केन्द्रीय समितिको बैठक बोलाउने बताएका थिए। ‘हाम्रो गुनासो भनेको पार्टीमा छलफल भएर प्रस्तावमा सबैको अपनत्व हुनुपथ्र्याे भन्ने हो। जे भए पनि भोलि उक्त प्रस्तावबारे पार्टीमा छलफल हुन्छ र त्यसलाई पार्टीले अनुमोदन गर्नेछ,’ उनले भने।







Post a Comment

 
Top