0
गोल्डेन न्यूज संवाददाता
पहिरोले मंगलबार बिहान ८ बजेदेखि अवरुद्ध पृथ्वीराजमार्ग केही समय एकतर्फी रुपमा सञ्चालन आएपनि  पुनः सोही स्थानमा पहिरो झरेपछि अवरुद्ध भएको छ । मुग्लिन–आँबुखैरनी सडक खण्डको आँबुखैरनी नगरपालिका–७ स्थित ऐना पहरोमा खसेको पहिरोका कारण राजमार्गमा हजारौं यात्रु अलपत्र परेका छन् । दसैंका लागि घर हिँडेका सर्वसाधरण, बिरामी बोकेका एम्बुलेन्स, पर्यटक र राजनीतिक दलका नेताहरु समेत पहिरोका कारण बाटोमा नै रोकिएका छन् । मुग्लिनबाट पश्चिम र काठमाडौं, नारायणगढ तर्फ हिडेका यात्रुहरु अलपत्र परेका हुन् । सडकको दुवै तर्फ १०–१० किलोमिटर लामो जाम भएको छ । पहिरोका कारण राजमार्ग पुनः ठप्प भएको इलाका प्रहरी कार्यालय आँबुखैरनीका प्रहरी निरीक्षक रमेश श्रेष्ठले बताए । साँझ एकतर्फी बाटो खोलेर फिर्किएको डोजरलाई फेरी बोलाइएको छ । डोजर मगाएर आँबुखैरनी तर्फबाट सडक खुलाउने प्रयाश गर्ने बारे छलफल भइरहेको छ । ‘पहिरो ठूलो छ, राजमार्ग फेरी कति खेर खुल्छ भनेर अनुमान गर्न सकिदैंन,’ उनले भने । बिहान ९ः३० बजे तनहुँ सदरमुकाम दमौलीबाट डोजर मगाएर पहिरो पन्छाउन खोजिएको थियो । पहिलो पटक आएको डोजरले काम गर्न नसकेपछि पुनः दुई वटा डोजर ल्याईएको थियो । पछिल्लो पटक आएका दुई डोजर मध्ये एउटाको टायर पञ्चर भएको श्रेष्ठले बताए । ‘अहिले एउटा डोजरले मात्रै पहिरो हटाउने काम गरेको छ,’–उनले भने ।  भिरमा पहिरो गएका कारण यात्रुहरु हिँडेर वारपार गर्न समेत सकेका छैनन । ‘तल मस्र्याङदी नदी छ माथि भिरबाट ढुङ्गा खसिरहेको छ,’ उनले भने । सडक डिभिजन कार्यालयका प्राविधिकहरु बाटो खुलाउन डोजर सहित पहिरो स्थल आएका हुन् । राति भएको वर्षाका कारण पहिरो गएको हुन सक्ने प्राविधिकहरुले अनुमान गरेका छन् । पोखराबाट काठमाडौं जाँदै गरेका यात्रु सुरेन्द्र रानाका अनुसार आफूहरू ठिक्क पहिरो जाँदाजाँदै ऐरापहरामा आइपुगेकोले जाममा अड्किएको बताए। पहिरोका कारण नयाँ शक्ति पार्टीले गोरखामा आयोजना गरेको चियापान कार्यक्रममा सहभागी हुन आएका पूर्व प्रधानमन्त्री भट्टराई बाटोबाटै काठमाडौं फर्केका छन् । चियापानमा सहभागीहरुलाई टेलिफोनबाट सम्बोधन गरेर उनी राजधानी फर्केका थिए ।

Post a Comment

 
Top