0
गोल्डेन न्यूज संवाददाता
संचार प्रविधि विज्ञ महावीर पुनले स्थापना गरेको राष्ट्रिय आविष्कार केन्द्रलाई पोखराको कुमुदिनी होम्स् माविले आर्थिक सहयोग गरेको छ । मंगलबार एक कार्यक्रमको आयोजना गरी विद्यालयका संचालक समितिका अध्यक्ष अशोक पालिखेले नगद सहयोग गरे। विद्यालयमा अध्ययनरत विद्यार्थीबाट संकलित र संस्थाको तर्फबाट गरि ५५ हजार ५ सय ५५ रुपैयाँ केन्द्रलाई सहयोग गरिएको छ ।  नेपालका विभिन्न क्षेत्रमा आविष्कार र अनुसन्धानको विकास गर्ने उद्देश्यले सो केन्द्र स्थापना गरिएको हो । पुन सो संस्थाका संस्थापक हन् । विभिन्न समयमा सरकारी प्रयासमा यस प्रकारको संस्था स्थापना हुनु पर्दछ भनी पहल गरेका पुनले सहयोग पाउन नसके पछि सर्वसाधरणहरुसँग सहयोगको लागि आव्हान गरेका थिए । त्यो आव्हान पछि सर्वसाधरणहरुले सहयोगका लागि हात अगाडि बढाएका हुन् । केन्द्र स्थापनाका लागि बेगनास ताल नजिकै रहेको उनले जग्गा समेत प्रदान गर्ने घोषणा गरिसकेका छन् ।
 
विद्यालयमा आयोजित सहयोग रकम हस्तान्तरण कार्यक्रममा पुनले सहयोगका लागि विद्यार्थीहरुलाई धन्यवाद दिदँै आविष्कार केन्द्र निमार्णका लागि देशव्यापी अभियान चलाएको बताए । देशको विकास गर्ने सपना पूरा गर्नका लागि अभियान चलाएको बताउँदै केन्द्रको स्थापना पछि नयाँ आविष्कार र अनुसन्धान गर्ने क्षमतामा मद्दत पुग्ने विश्वास रहेको धारणा राखे । कार्यक्रममा विद्यालयका अध्यक्ष पालिखेले उनलाई स्वागत गर्दै निजी क्षेत्रको शैक्षिक संस्थाका रुपमा केन्द्रलाई सहयोग गर्न पाएकोमा खुशी व्यक्त गरे । कार्यक्रममा सार्दीखोलाका हिमालयन प्रावि र बाराही प्राविलाई पनि नगद सहयोग प्रदान गरिएको थियो । कुमुदिनीको संयोजनमा संचालित कुवेरा छात्रवृत्ति अन्र्तगतको रकम हिमालयनका प्रधानाध्यापक माधवप्रसाद गौतमलाई ५० हजार र बाराहीका प्रधानाध्यापक राम आचार्यलाई २० हजार १ सय २० रुपैयाँ हस्तान्तरण गरिएको हो । सो छात्रवृत्ति जर्मन समाजसेवी रेनर कुवेराले स्थापना गरेका हुन् जसको संयोजन पालिखेले गर्दै आएका छन् । सो रकमबाट बाढीले क्षति गरेको हिमालयन प्रावि जोड्ने पुलको छेउ निमार्णमा खर्च गरिने प्रअ गौतमले जानकारी दिए । पुल कुवेराको आर्थिक सहयोगमा निमार्ण गरिएको थियो । त्यसैगरी बाराही प्राविमा अध्ययनरत ३३ जना विद्यार्थीहरुलाई पोशाक खरिद गर्न सहयोग रकम खर्च गरिने प्रअ आचार्यले बताए। सार्दीखोला गाविसमा रहेका दुवै विद्यालयका विद्यार्थीलाई कुमुदिनीले शैक्षिक सामाग्री सहयोग गर्दै आएको छ ।


Post a Comment

 
Top