0
गोल्डेन न्यूज संवाददाता
गएराति परेको भारी वर्षापछि घर पछाडिको भित्तो खसेर पुर्दा एकै घरका ४ बालबालिकाको मृत्यु भएको छ । कास्कीको लेखनाथ नगरपालिका–४ खरानीफाँटस्थित चन्द्रकली बिकको घरको कोठा पहिरोले पुरिँदा उनका १४ वर्षीय छोरा निशान सुनार, ९ र ७ वर्षकी छोरीहरु रजिना र अन्जीला सुनार र ३ वर्षको नाति सलमान तामाङको मृत्यु कास्कीका प्रहरी प्रवक्ता गुजुसिद्धि ब्रजार्चायले जानकारी दिए । बुधबार राति साढे ११ बजे घरपछाडिको भित्ताबाट जमिन खसेर उनीहरु सुतेको घरको एउटा कोठा पुरेको थियो । उनीहरुको घटनास्थल मै मृत्यु भएको प्रवक्ता ब्रजाचार्यले जानकारी दिए । चन्द्रकलीका १० वर्षीया छोरी सविना र २५ वर्षीया छोरी कविता घाइते भएका छन् । उनीहरुको क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।
चन्द्रकलीका श्रीमान् किर्तबहादुर सुनारलाई मंगलबारमात्रै साउदी उठाउन काठमाडौ गएर पोखरा फर्केकी थिइन् । पोखराबाट नाति तामाङ बुधबारमात्रै पोखराबाट हजुरआमा को साथ लागेर मामाघर गएका थिए । अर्को कोठामा सुतेका ३ जनालाई सकुशल उद्धार गरिएको थियो । स्थानीयले झ्याल फुटाएर उनीहरुको उद्धार गरेका थिए। चन्द्रकलीको ३ कोठाको ब्लकको घर थियो । घरभित्र ९ जना थिए ।
यसैगरी पोखराको नगर क्षेत्र भएर बग्ने फिर्के खोलाले मोटरसाइकलसहित एक जनालाई बगाएको छ । अविराल बर्षाको कारण उर्लिएको खोलाले बगाउँदा एक जना बेपत्ता छन्। गएराति ११ बजे मोटरसाइकल सहित बगाएका ब्यक्तिको पहिचान खुलेको छैन । उनको मोटरसाइकल भने बिहीवार बिहान फेला परेको कास्की प्रहरीले जनाएको छ । पोखराको मालपोत कार्यालय नजिकैबाट खोला पार गर्ने क्रममा मानिस सहित बगेको ग १ प ७९२ नम्बरको १८० सिसीको निलो पल्सर झण्डै दुई सय मिटर तल फेला परिएको हो । मोटरसाइकलमा सवारको अवस्था भने अज्ञात छ । उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
यसैगरी गएराति आएको भिषण वर्षाले कास्कीको लामाचौर माछापुच्छे« सडक खण्डमा पहिरो जादा सडक अवरुद्ध भएको छ । चुरुङगा र पात्लेका विभिन्न ठाउँमा पहिरो गएको स्थानीय खिमलाल बाँस्तोलाले जानकारी दिए । पहिरो हटाउने डोजर नै आवश्यकता पर्ने उनले बताए । पहिरोले दिलबहादुर भुजेल लगायत अन्य तीन घर उच्च जोखिममा परेको बाँस्तोलाले बताए । त्यसैगरि कालिका गाविस वडा नं ६ सुनपा देवी भन्ने स्थानमा पहिरो आई ५७ बर्षीय बोधराज तिमिल्सिनाको २ तले पक्की घर पूर्णरुपमा क्षति भएको प्रहरीले जानकारी दिएको छ । उनका २ वटा भैसीको मरेको, १ वटा स्कुटर पहिरोले पुरिएको प्रहरीले जानकारी दियो । बोधराज तिमिल्सिना र उनीको श्रीमती भिमादेवी तिमिल्सिना घाईते भएकोमा प्रहरी टोलीले उद्वार गरी उपचारको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भई रहेको छ ।
यसैगरी लगातारको वर्षापछि पोखरा–१९ र २८ का विभिन्न क्षेत्रमा भएको क्षतिका बारेमा स्थानीयवासीले प्रशासनको ध्यानाकर्षण गराएका छन् । बुधबार आएको पानीले अमलाविसौनी घार्मी  आलेवारी अम्वरेश्वर ग्रामिण सडक भूनपरे–वेशीचोक–घार्मी–ग्रामिण सडक र महेन्द्र गुफा घार्मी ग्रामिण सडकमा पहिरोले पु¥याएको क्षति र यातायात सेवा अवरुद्ध भएको भन्दै स्थानीयवासीले पोखरा उप–महानगरपालिका, जिल्ला विकास समिति, नेपाल विद्युत प्राधिकरण पोखरा शाखा र पोखरा बस व्यवसायी समितिको ध्यानाकर्षण गराएका छन् । पहिरोले सडक अवरुद्ध भएको र विद्युत सेवा समेत प्रभावित भएकोतर्फ जानकारी गराउँदै चाँडो सेवा सञ्चालन गर्न आग्रह गरेका छन्।
स्थानीयवासी धर्मराज आचार्य, डिल्लीराम पौडेल, शालिग्राम आचार्य, वज्रमोहन पौडेल, विष्णु आचार्य, भरत आचार्य, शिव पौडेल, राजकुमार पौडेल सहितको टोलीले सम्बन्धित कार्यालयका प्रमुखलाई भेटी क्षतिको अवगत गराएका हुन् । पहिरोका कारण त्यस क्षेत्रका तीन वटै ग्रामिण सडक अवरुद्ध भएको छ भने विद्युत सेवा समेत ठप्प भएको छ । पहिरोले मानवीय क्षति नभएपनि विद्युत वितरणका लागि राखिएको ट्रान्समिटर पहिरोले पुरेको छ । त्यस्तै वेथेखोलाका चूडामणि परियार, घार्मीका ऋषिराम पौडेल, एकनाथ अधिकारी, धर्मराज पौडेल र नारायण वि.क.को घर र गोठमा क्षति पु¥याएको छ ।
 
यसैगरी बुधबार राति पोखरास्थित विजयपुर खोलामा आएको बाढीले स्थानीय टास्क हाइड्रो पावरमा करोडौंको क्षति पुगेको छ । हाइड्रोमा पुगेको क्षतिसँगै एक मेगाबाट क्षमताको हाइड्रोबाट बिजुली उत्पादन बन्द भएको छ । सो हाइड्रोले २०६५ सालदेखि विद्युत उत्पादन गर्दै आएको थियो। मध्यरातमा विजयपुर खोलामा आएको बाढीले हाईड्रोपावरको ट्रान्सर्फमरसहित विद्युतीय उपकरणहरु बगाउँदा ९ करोड बराबरको क्षति भएको हाइड्रोपावर परियोजनाका प्रशासन प्रमुख लेखनाथ देवकोटाले जानकारी दिए। यद्यपि प्राविधिक टोलीले क्षतिको विवरण संकलन गर्न बाँकी रहेको उनको भनाई छ । बाढीले हाइड्रोपावरको सिटीपिटी, भिसिवी, कनेक्टीङ वायर, डिक्सपिन, इन्ड्रस्ट्रियल फ्यान, केवलवायर, भिसीडी पोलमा क्षति पुगेको छ ।  त्यस्तै सुरक्षा गार्डको कोठासहित महत्वपूर्ण विद्युतीय वस्तुहरु बाढीले बगाएको देवकोटाले बताए । बाढीका कारण हाइड्रोपावरका मेसिनहरु रहेको भवन समेत पहिरोको उच्च जोखिममा परेको छ ।रीब २५ करोड लागतमा उक्त हाइड्रो पावर निर्माण भएको सञ्चालक समितिको दाबी छ । विद्युत उत्पादन रोकिएसँगै काहुँखोलाबाट पावर हाउसमा जाने पानीको मुहान बन्द गरिएको छ ।
 
यसैगरी बुधबार परेको वर्षाका कारण पोखराको नदीपुरमा रहेको बुद्धबिहारमा भासिँदा भवन जोखिममा परेको छ । राती परेको अबिरल बर्षाका कारण पुरात्वतिक महत्व बोकेको बिहार जोखिममा परेको हो । भवन आगाडिका जमिन भासिँदा भवनका दुईवटा कोठा जोखिममा रहेको बुद्धबिहार व्यवस्थापन समितिका अध्यक्ष कृष्णमान गुभाजुले बताए । उनले दुईवटा कोठा निकै जोखिममा रहेको र पुजाकोठा सहित अन्य ठाउँमा पनि भवनको भित्तो चिरिएको बताए । उनले १० देखि १५ फिट सम्म चाक्लो र गहिरो पनि त्यही अनुपातमा भासिएको बताए । उनले पोखरा उपमहानगरपालिका, जिल्ला प्रशासन कार्यालय र वडा कार्यालयमा खबर गरेको बताए । तर वडा सचिब बाहेक अरु केहि पनि नआएको बताए । उनले बिहीबार केहि रुपमा भासिएको भागलाई पुरेको र पालले छोपेर राखोको बताए ।
 
यसैबीच नेकपा एमाले कालिका गाउँ कमिटी र नेपाली कांग्रेस कालिका गाउँ कमिटीले बुधवार राति परेको अविरल वर्षासँगै गएको पहिरो पीडितलाई  तत्काल राहत तथा क्षतिपूर्ति दिन माग गरेका छन् । एमाले कालिका गाउँ कमिटीका अध्यक्ष निर्मल दियाली सुनार र कांग्रेस कालिका गाउँ कमिटीका अध्यक्ष भानु ढकालले संयुक्त रुपमा विज्ञप्ति प्रकाशित गरी कालिका गाविस वडा नं. ६ सुनपदालीका पहिरो पीडित बोधराज तिमिल्सिना लगायतका सम्पूर्ण बाढी तथा पहिरो पीडितलाई तत्काल राहत तथा क्षतिपूर्ति दिलाउन प्रशासनसँग माग गरेका हुन्। पहिरोले तिमिल्सेनाको दुईतले पक्कीघर पुरिएको छ । यसैबीच नेपाली कांग्रेस कास्की र एमाले कास्कीले भीषण बर्षाका कारण कास्कीका विभिन्न स्थानमा बाढिपहिरोबाट भएको मानवीय र भौतिक क्षतिप्रति दुःख व्यक्त गरेको छ। कास्की कांग्रेसले बिहीबार विज्ञप्ति निकालेर बाढिपहिरोका कारण मानवीय क्षतिसँगै खानेपानी, बाटोघाटो, झोलुङगे पुल र सिंचाई कुलोमा नराम्ररी क्षति पुगेकोभन्दै दुःख  व्यक्त गरेको छ।  कांग्रेस सभापति कृष्ण के.सी र एमाले अध्यक्ष कृष्ण थापाद्वारा हस्ताक्षरित विज्ञप्तिमा पीडितलाई नआत्तिन आग्रहगर्दै हरेक दुःखमा पार्टीले साथ र सहयोग गरिरहने उल्लेख गरिएको छ। विज्ञप्तिमा घाइतेको निःशुल्क उपचार, पीडितलाई राहत, क्षति पुगेको भौतिक संरचनाको पुनःनिर्माण, अवरुद्व ग्रामिण सडक सञ्चालनका लागि सरकारको ध्यानाकर्षण गराइएको छ। साथै विज्ञप्तिमा घाइतेको शीघ्र स्वास्थ्यको लाभको कामना गर्दै दिवंगतको चिरशान्तिको कामना गरिएको छ।





Post a Comment

 
Top