0
गोल्डेन न्यूज संवाददाता
पोखरा २३ भदौ ।
एम्नेष्टी इन्टरनेशनल नेपालको  २५औं वार्षिक साधारणसभा तथा अधिवेशन शुक्रबारदेखि पोखरामा हुँदैछ । साधारणसभाको उद्घाटन नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले गर्ने कार्यक्रम छ । तीन दिनसम्म चल्ने साधारणसभा तथा अधिवेशनमा संस्थाको वार्षिक तथा आर्थिक प्रतिवेदन र आगामी वर्षको योजना र वजेटका बारेमा छलफल हुने बताइएको छ ।
यसैगरी नेपालको वर्तमान मानव अधिकारको अवस्था, आप्रवासी कामदारको अधिकारी र रोम विधानसम्बन्धी विभिन्न प्रस्तावमा छलफल गरिने र आगामी २ वर्षका लागि नेशनल बोर्ड अर्थात राष्ट्रिय समिति र पुनरावेदन समितिको नेतृत्व चयन गर्नेछ । साधारणसभामा देशभरमा एम्नेष्टी इन्टरनेशनल अन्तर्गत ६६ समूहबाट २÷२ जना प्रतिनिधि तथा अन्य पर्यवेक्षकहरु गरि १८० बढीको सहभागिता रहने एम्नेष्टी इन्टरनेशनल नेपालका अध्यक्ष सूर्यबहादुर अधिकारीले बताए ।
बिहीबार पोखरामा  आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार साधारणसभाको उद्घाटन समारोहमा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्मा, पूर्व सभामुख एवं नागरिक  समाजका अगुवा दमननाथ ढुंगाना, सामाजिक न्याय तथा मानवअधिकार सम्बन्धी संसदीय समितिकी सदस्य गीता क्षेत्री राणा, नागरिक समाजका अगुवा प्रा.डा. वीरेन्द्र मिश्र, अग्रज मानव अधिकारकर्मी प्रा. पुरुषोत्तम दाहाल र एआइका पूर्व अध्यक्ष चरण प्रसाइँ लगायत सहभागी हुनेछन् ।
यसपटक पोखरामा हुने साधारणसभा तथा अधिवशेनबाट एम्नेष्टी इन्टरनेशनल नेपालको नेतृत्व लिन ३ जनाको उम्मेदवारी दर्ता भइसकेको छ । जसमध्ये राजन कुँइकेल, भवानी खरेल र उत्तम सापकोटा रहेका छन् । कुइँकेल यसअघि संस्थाको उप–महासचिव समेत हुन् । उनी डेढ दशकदेखि पत्रकारिता पेशा र मानवअधिकारको क्षेत्रमा सक्रिय छन् ।
यस्तै खरेलले संस्थाको कार्यसमितिको सदस्य रहेर काम गरेको र सापकोटाले महासचिव रहेर काम गरेको अनुभव छ । अध्यक्ष र कोषाध्यक्षसहित ९ जना सदस्य पदका लागि हुने अधिवेशनमा कोषाध्यक्ष पदमा विक्रम धुकुक्षु, हीरा शर्मा, हीरा भगत र भवकृष्ण खतिवडाले उम्मेदवारी दिएका छन् भने ९ जना सदस्यमध्ये ३ महिला सदस्यमा यशोधा उपाध्याय, लक्ष्मी तिवारी, संगीता चापागाइँ, पार्वता आचार्य र मधु जवेगुले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै ४ जना पुरुष सदस्यमा १७ जनाको उम्मेदवारी परेको छ । बाँकी २ जना युवा सदस्यमा पासाङ शेर्पा र विपिन बुढाथोकी निर्विरोध निर्वाचित भएका छन् ।
संस्थाको पुनरावेदन समितिमा पनि २ सदस्य निर्विरोध भएका छन् । एम्नेष्टी इन्टरनेशनल समूह ८२ पोखराका संयोजक वसन्त प्रसाद सुवेदी संयोजक, प्रभा अधिकारी पुनरावेदन समितिको सदस्यमा निर्विरोध भएपनि संयोजक पदमा केशव पोखरेल र मनोज अधिकारीका बीचमा प्रतिस्पर्धा हुनेछ ।

Post a Comment

 
Top