0
गोल्डेन न्यूज संवाददाता
पश्चिमाञ्चल विकास क्षेत्रमा ट्राफिक ब्यवस्थापन र सवारी दुर्घटना न्यूनिकरणको लागि सरोकारवाला निकायले सामुहिक प्रतिबद्धता जनाएका छन् । पोखरामा बिहीवार आयोजित कार्यक्रमका वीच ट्राफिक प्रहरी, नेपाल प्रहरी, यातायात ब्यवस्था कार्यालय, नगरपालिका र यातायात ब्यवसायीको साथै प्रशासनले आ आफ्नो भूमिका निक्र्योल गरी समाधानका लागि काम गर्ने प्रतिबद्धता जनाएका हुन् । पश्चिम क्षेत्रीय प्रहरी कार्यालय पोखराले आयोजना गरेको ‘ट्राफिक ब्यवस्थापन तथा सवारी दुर्घटना न्यूनिकरण बिषयक एक दिवसीय गोष्ठीमा सहभागिले यस क्षेत्रको समस्या समाधानमा प्रतिबद्ध भएर लाग्ने बाँचा गरेका हुन् ।
ट्राफिक ब्यवस्थापन तथा सवारी दुर्घटना न्यूनिकरणको लागि यातायात ब्यवस्था कार्यालय, ट्राफिक प्रहरी, यातायात ब्यवसायी र स्थानीय प्रशासनले खेल्नुपर्ने भूमिका र भएका कमी कमजोरीलाई सुधार्ने बिषयमा प्रतिबद्धता जनाइएको हो । सरोकारवाला निकायहरुको काम, कार्वाही र जिम्मेवारी पहिचान गरी आगामी दिनमा सुधार्ने प्रतिबद्धता सहित गोष्ठी सम्पन्न भएको पश्चिम क्षेत्रीय प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक कमलसिंह बमले जानकारी दिए ।
कार्यक्रममा पश्चिमाञ्चल क्षेत्रीय प्रशासन गोपीनाथ मैनालीले प्रतिवद्धता कार्यन्वयनको लागि कार्ययोजना बनाएर अघि बढ्न सुझाव दिए । उनले ट्राफिक ब्यवस्थापन र दुर्घटना न्यूनिकरणको लागि सबै क्षेत्र जिम्मेवार हुनुपर्ने आवश्यकता औंल्याए । एकले अर्कोलाई आरोप प्रत्यारोप गर्न भन्दा पनि आ आफ्नो गल्ती कमिकमजोरी सच्याउन उनले आग्रह गरे । प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले दुर्घटनामा ट्राफिक प्रहरीलाई दोषी देखाएर पन्छिन खोज्ने प्रवृति गलत भएको बताए । ट्राफिक जनशक्ति बढाउँदैमा दुर्घटना न्यूनिकरण नहुने भन्दै उनले सडक प्रयोगकर्ता, चालक, सबै उत्तिकै जिम्मेवार हुनुपर्नेमा जोड दिए । उनले प्रहरीमा साधनस्रोतको अभाब रहेको औल्याउँदै उनले ट्राफिक ब्यवस्थापन र सवारी दुर्घटना न्यूनिकरणका लागि एक पैसा पनि प्राप्त नहुनु दुःखद् भएको गुनासो गरे । तैपनि प्रहरीले सचेतना कार्यक्रम सञ्चालन गरिरहेको उनको जिकिर छ ।
 
यातायात ब्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले ब्यवसायीका कमि–कमजोरी सच्याउन आफूहरु तयार रहेको बताए । सवारी आयात सम्बन्धि बैज्ञानिक नीति बन्नुपर्नेमा उनले जोड दिए । दुर्घटना न्यूनिकरणका लागि लामो दुरीमा अनिवार्य दुई जना चालक, क्षमता भन्दा बढी यात्रु नबोक्ने लगायतका कामलाई कडाईको साथ कार्यन्वयन गर्ने उनले प्रतिबद्धता जनाए । ग्रामिण क्षेत्रमा प्राविधिक अध्ययन विना खनिएका सडकले पनि दुर्घटना बढाएको उनको ठहर छ । ट्राफिक महाशाखा प्रमुख प्रहरी नायव महानिरीक्षक पंकज श्रेष्ठले सवारी दुर्घटना र मानवीय क्षतिको क्रम बढ्दै गएकाले क्षेत्रीयस्तरमा सुझाव संकलनका लागि कार्यक्रम सञ्चालन गरिएको बताए । मुलुकका पाँच वटै क्षेत्रमा हुने क्षेत्रीय गोष्ठीबाट संकलित सुझावलाई समेटेर केन्द्रीय स्तरमा कार्यक्रम गर्ने र जिम्मेवार निकायको ध्यानाकर्षण गराइने उनले बताए । दुर्घटना न्यूनिकरणका लागि ट्रफिक प्रहरी मात्रै पर्याप्त नभएकाले सबै क्षेत्रका संलग्नतामा समस्या समाधानको उपाय खोज्ने प्रयत्न गरिएको श्रेष्ठले बताए । कार्यक्रममा पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय वुटवलका प्रहरी उपरीक्षक प्रकाश अधिकारी, पोखरा उपमहानगरपालिकाका इन्जिनियर सुरेन्द्र पौडेल, यातायात ब्यवस्था कार्यालय गण्डकीका प्रमुख भरत पौडेल, यातायात ब्यवसायी राष्ट्रिय महासंघका पश्चिमाञ्चल संयोजक धर्मराज अधिकारी तथा राष्ट्रिय बीमा संस्थान पोखराका प्रतिनिधिले कार्यपत्र प्रस्तुत गरेका थिए । सबै क्षेत्रको कार्यपत्र र त्यसमाथि सहभागीको सुझावलाई समेटेर कमी कमजोरीलाई औल्याउदै आगामी दिनमा गर्नुपर्ने जिम्मेवारी पहिचान गरिएको छ । कार्यक्रममा गण्डकी धौलागिरी र लुम्विनीका प्रहरी प्रमुख, यातायात ब्यवस्था कार्यालयका प्रमुख एबं यातायात ब्यवासायीको सहभागिता थियो ।






Post a Comment

 
Top