0
गोल्डेन न्यूज संवाददाता
प्रत्येक वर्ष असोज १ गतेका दिन मनाइने विश्वकर्मा पूजा शनिबार पोखराका विभिन्न स्थानमा फलाम उद्योग तथा अन्य धातुजन्य कल कारखानामा पूजाआजा गरी मनाइयो । विश्वकर्मा पूजाका अवसरमा बिहानैदेखि कल कारखानामा रङ्गीचङ्गी ध्वजापताका टाग्नुका साथै विशेष पूजा गरिएको थियो । सवारी साधन हुनेले बिहानै सवारी साधनको सफा गरी पूजा गरेका छन् भने अन्य सार्वजनिक सवारीका साधनलाई पनि रिवन तथा विभिन्न ध्वजापताका लगाएर सिङ्गारिएको छ । गाडी मर्मत सम्भार गर्ने ग्यारेजलगायत प्रत्येक सानाठूला उद्योगमा आजै मर्मत सामग्रीको टिकाउ र मुनाफाको कामना गर्दै पूजा गर्ने प्रचलन रहेको लेखनाथ मेटल उद्योग पोखराका रविन घिमिरेले जानकारी दिए ।     उनका अनुसार शनिबार पूजा गरिसकेपछि दिनभर ती सामानको प्रयोग नगर्ने चलन पनि छ । विश्वकर्मा पूजाका अवसरमा पोखरा र आसपासका क्षेत्रमा पछिल्ला वर्ष विभिन्न उद्योग तथा कल कारखानामा विश्वकर्माको मूर्ति बनाई पूजा गर्ने र शनिबार पूजा गरिएको मूर्तिलाई आइतबार बिहान नजिकैको खोला वा नदीमा लगि विसर्जन गर्ने प्रचलन रहेको उनले जानकारी दिए । विगतमा विशेष गरी तराई क्षेत्रमा धुमधामका साथ विश्वकर्मा पूजा गरिने गरेकामा पछिल्ला केही वर्ष यता पहाडी जिल्लामा पनि यसको गरिमा र महत्व बढ्दै गएको घिमिरेले बताए । विश्वकर्मा पूजाकै अवसरमा विश्वकर्मा युवा समाज केन्द्रीय समितिद्वारा पोखरामा अन्तर विश्वकर्मा समाजस्तरीय खुल्ला भलिबल प्रतियोगिता आयोजना गरिएको छ भने अन्य सङ्घसंस्था एवम् विश्वकर्मा मन्दिरमा सामूहिक पूजा कार्यक्रम गरिएको छ ।

Post a Comment

 
Top