0
गोल्डेन न्यूज संवाददाता
उपप्रधानमन्त्री कृष्णबहादुर महराले निजी क्षेत्रलाई प्रोत्साहन गर्न सरकार तयार रहेको बताएका छन् । पोखरा उद्योग वाणिज्य सङ्घको ३१औँ महाधिवेशनको शुक्रबार उद्घाटन गर्दै अर्थमन्त्री महराले निजी क्षेत्रले सरकार र सरकारले निजी क्षेत्रलाई सहयोग गरेमा मात्रै देशको आर्थिक समृद्धि सम्भव हुने बताए । पोखराको निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग दुई हजार ५०० मि.बाट तीन हजार मि बनाउन थप जग्गाको अधिग्रहणको काम छिटो अघि बढाइने जानकारी दिँदै उनले पोखरामा चक्रपथ तथा पोखरादेखि मुस्ताङ र लुम्बिनी जोड्ने राजमार्गको स्तरोन्नतिको काम छिट्टै शुरु गरिने बताए । अर्थमन्त्री महराले संघीयता कार्यन्वयनको काम शुरु भैसकेको बताए । उनले सात वटै प्रदेशमा उच्च अदालत गठनको निर्णय गरी यो सरकारले संघीयताको कार्यन्वयन प्रक्रिया थालेको बताए । उनले प्रदेशमा तहगत संरचना निर्माण गरेपछि सोहि प्रदेशमा केन्द्रित रही काम गर्ने वातावरण मिलाउने स्पष्ट पारे ।  पोखराको विकासलाई सरकारले उच्च प्राथमिकतामा राखेको उनको दावि छ । महराले देशको आर्थिक अबस्था सन्तोषजनक नरहेको औल्याउँदै पूँजीगत खर्चको दर निकै कम भएको बताए। पैसा हुने तर खर्च नहुने प्रवृतिले विकास निर्माणको काम अघि बढ्न नसकेको उनको स्पष्टोक्ति छ ।
 
सो अवसरमा  नेपाल उद्योग वाणिज्य महासङ्घका कावा अध्यक्ष किशोरकुमार प्रधानले उद्योग वाणिज्य सङ्घको निर्वाचनमा राजनीतिक हस्तक्षेप हुन लागेकामा दुःख व्यक्त गरे । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले आर्थिक समृद्धिको नाराभन्दा काम गरेर अघि बढ्न सरकारसँग आग्रह गरे। उनले राजनीतिक दलहरुको यस्तै हस्तक्षेप कायमै रहे अवको पाँच बर्षपछि उद्योग वाणिज्य संघको अस्तित्व समाप्त हुने र निजी क्षेत्रको संस्था राजनीतिक दलका नेताको अखडा हुने खतरा औंल्याए ।
 
सो अवसरमा लक्ष्मी विद्या पदक र नगदबाट विद्यार्थीलाई सम्मान गरिएको थियो । सो पदकबाट एमबिएसमा सर्वोत्कृष्ट अङ्क ल्याउने पृथ्वीनारायण क्याम्पसका लक्ष्मण कुँवर, बिबिएसमा जनप्रिय बहुमुखी क्याम्पसका कृष्णमुरारी पौडेल र नवराज भण्डारी पुरस्कृत भएका थिए । एमबिएसमा सर्वोत्कृष्ट हुने कुँवरले २५ हजार रुपैयाँ र बिबिएसका पौडेल र भण्डारीले १५÷१५ हजार रुपैयाँ पाए । महाधिवेशन उद्घाटनको अवसरमा उत्कृष्ट व्यवसायीलाई सम्मान समेत गरिएको थियो । उत्कृष्ट व्यवसायी सम्मान अन्तर्गत वाणिज्य तर्फबाट गंगाप्रसाद श्याम प्रसाद प्रतिष्ठान र उद्योगतर्फ होटल दि कान्तिपुर पुरस्कृत भयो । सोही अवसरमा उत्कृष्ट उद्योग तथा वाणिज्य क्षेत्रका उद्यमीलाई पनि सम्मान गरिएको थियो । महाधिवेशनले सङ्घको नयाँ नेतृत्व पनि चयन गर्ने कार्यक्रम छ ।
 
महाधिवेशन अन्तर्गत नयाँ कार्यसमितिको लागि आज मतदान हुँदैछ। संघको निर्वाचित २४ सदस्यीयका लागि ५३ को उम्मेदवारी परेकोमा कर्पोरेट दुई र औद्योगिक एक निर्वारोध भएपछि अहिले २१ सदस्यका लागि ४९ जना प्रतिस्पर्धी छन् । अध्यक्षमा ६ जना, दुई वरिष्ठ उपाध्यक्ष, वाणिज्य तर्फका तीन उपाध्यक्ष, औद्योगिक तर्फका दुई उपाध्यक्ष, कोषाध्यक्ष तर्फका दुई, महासचिवमा दुई र उप–महासचिवका प्रत्यासी तीन जना चुनावी मैदानमा छन् । त्यस्तै खुल्ला तर्फ १० जना सदस्यका लागि २१ जना र वस्तुगततर्फ चार जनाको लागि ८ जना प्रतिस्पर्धी छन् । संघको संशोधित विधान अनुसार अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उद्योग र वाणिज्यतर्फ गरी दुई उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष, उपमहासचिव, खुल्लातर्फ १० सदस्य, वस्तुगततर्फ चार, कर्पोरेट दुई र एक औद्योगिक गरी २४ सदस्यीय कार्यसमिति निर्वा्चित हुनेछन् । अध्यक्षले पछि मनोनित गर्ने चार सदस्य र निवर्तमान अध्यक्ष गरी २९ सदस्यीय कार्यसमिति संघमा रहनेछ ।


Post a Comment

 
Top