0
गोल्डेन न्यूज संवाददाता
पोखराका उद्योगी एवं व्यवसायीहरुको छाता संस्था पोखरा उद्योग बाणिज्य संघको संघको ३१औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि शनिबार चुनाव अर्थात मतदान भएको हो । नयाँ नेतृत्व चयन गर्न दुई हजार पाँच सय १३ जना सदस्य उद्योगी व्यवसायीले मतदान गरेका छन् । संघमा आवद्ध २ हजार ७ सय ४९ मतदाता रहेकोमा ९१ प्रतिशतले मात्र मतदान गरेका हुन् । संघको कार्यकारिणी सदस्यमा १० जना चयन गर्न दुई हजार चार सय मत खसेको छ । संघमा साधारण सदस्य २ हजार ६ सय २७ जना रहेका छन् । वस्तुगत सदस्यतर्फबाट चार सदस्य चयन गर्न २३ जनामा शतप्रतिशत मत खसेको छ । खुल्ला १० जना चुन्ने अधिकार खुल्लातर्फकै साधारण सदस्यमा रहेको छ भने वस्तुगत, कर्पोरेट र औद्योगिकतर्फकाले आफ्ना सदस्य मात्र चुन्न पाउने व्यवस्था विधानमा छ । तर, पदाधिकारी चयनमा भने सबैको मताधिकार रहेकाले सबैले मत खसाले । सदस्यमा सबै १० जनालाई नै भोट खसाल्नुपर्ने भएकाले एक कम वा बढिमा मत दिएको खण्डमा स्वतः मत बदर हुने निर्वाचन समितिले जनाएको छ । शनिबार बिहान ८ बजेदेखि बेलुकी चार बजेसम्म मतदान समय तोकिएको भएपनि २५ मिनेट थप गरिएको थियो । लाईनमा बसेकाहरुले मतदान गरिसक्दा साँझ ६ बजेको थियो । मतगणना आईतबार बिहान ८ बजेदेखि मात्रै सुरु हुने निर्वाचन समितिका संयोजक दीपक श्रेष्ठले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिए । मतपेटिका प्रहरीको रोहवरमा सचिवालयै सुरक्षित साथ राखिएको उनले बताए । संशोधित विधानअनुसार अध्यक्षसहित पदाधिकारी ७, खुल्ला सदस्य १०, वस्तुगत ४, कर्पोरेटतर्फ २ र उद्योग १ गरी २४ सदस्यमा निर्वाचन हुनुपर्छ । तर कर्पोरेटतर्फ दुईजना र उद्योगतर्फका एक जना सदस्य निर्विरोध निर्वाचित भईसकेकाले कर्पोरेटतर्फका मतदाता र उद्योगतर्फका मतदाताले सदस्यका लागि मत दिनु परेन । अध्यक्षले मनोनित गर्ने ४ र निवर्तमान अध्यक्षसहित संघको कार्यसमिति २९ सदस्यीय हुने विधानमा व्यवस्था छ ।
यसपटकको चुनाव निकै खर्चिलो देखिएको छ । प्रचार–प्रसारदेखि मतदान स्थल वरपर ब्यानर, पर्चा, पम्प्लेट टँंग्न र वितरण गर्न कुनै उम्मेदवारले पनि कञ्जुस्याइँ गरेनन् । २१ पदका लागि चुनावमा होमिएका ४९ जना प्रतिस्पर्धीले सक्दो खर्च गरेर चुनावमा होमिए । स्रघको ईतिहासमै पहिलो पटक अध्यक्षमा एक महिलासहित ६ जना चुनावी मैदानमा होमिएका थिए । सबै नाम चलेका र अघिल्ला कार्यसमितिहरुमा सक्रिय भएकाले पनि उनीहरु उम्मेदवार बन्नकै लागि उम्मेदारी दिएको देखिएन । अध्यक्षतर्फ ६ जनासँगै वरिष्ठ उपाध्यक्षमा दुई जना, वाणिज्य उपाध्यक्षतर्फ तीन, औद्योगिक उपाध्यक्षतर्फ दुइ, कोषाध्यक्षतर्फ दुई, महासचिवमा दुई र उपमहासचिव पदमा तीन जना चुनावी मैदानमा छन् । त्यस्तै खुल्ला तर्फ १० जना सदस्यका लागि २१ जना र वस्तुगततर्फ चार जनाको लागि ८ जना प्रतिस्पर्धी छन् । अध्यक्षका प्रत्यासीहरु ईश्वरप्रसाद कर्माचार्य, विश्वशंकर पालिखे, देव क्षेत्री, धनिराम बराल, नारायण कोइराला, हिरा भट्टराई आफ्ना शुभेच्छुक समर्थकलाई सक्दो परिचालन गरी चुनावी प्रचार–प्रसार गरेको थिए । आफन्तहरु समेत लिएर व्यापक प्रचार गरेका थिए । देव क्षेत्री र विश्वशंकर पालिखे प्यानल सहित नै उत्रेको भएपनि मतदान स्थलमा नारायण कोईराला लगायत पक्षले पनि प्यानल जस्तै नाम लिस्ट बाँडेको भेटिएको थियो ।
एक जना वरिष्ठ उपाध्यक्ष पदका लागि वर्तमान कार्यसमितिका द्वितीय उपाध्यक्ष मिनराज काफ्ले र महासचिव रविन्द्रबहादुर प्रजु प्रतिस्पर्धामा छन् । बाणिज्यतर्फको उपाध्यक्षमा केदारनाथ भट्टराई  विन्दु कोईराला सुवेदी, र सुरेश अधिकारी भिडेका छन् भने उद्योगतर्फको उपाध्यक्षका लागि सीता गुरुङ र गोकर्ण कार्की प्रतिस्पर्धामा छन् । महासचिव पद लिन दामु अधिकारी र लक्ष्मी पाण्डे अघि सरेका छन् । कोषाध्यक्ष पदका लागि जनकराज पराजुली र पवन कुमार प्रजापती अघि बढेका छन् भने उपमहासचिवमा नबिन बराल, अर्जुन पोखरेल र धर्मराज अर्याल छन् ्। खुल्ला १० सदस्य पदमा ६ महिला सहित २१ जना चुनावी मैदानमा उत्रिएका हुन् । यदुनाथ अधिकारी, गिरिधारी शर्मा, गिता कुमारी तिवारी गौतम, प्रेमप्रसाद पौडेल, वलराम आचार्य, गोमा ढकाल, देवकृष्ण काफ्ले, महेश्वर पोख्रेल, कुमारी मुना बाँस्तोला (मुना), प्रेमबहादुर भुजेल, अर्जुन खनाल, किसान सुनार, हिमालय वख्रेल, नवराज त्रिपाठी, चिनुकुमारी गुरुङ, हरिराज पन्त, कृष्णबहादुर रानाभाट, सीता बराल, अनिल सिग्देल, पवित्रादेवी गुरुङ, सुरेन्द्रमान विजुक्छे छन् । यसैगरी, चार वस्तुगत सदस्यको लागि आठ जना गिरधारी अधिकारी, नारायणप्रसाद पौडेल, यामनाथ पौडेल, केपी शर्मा पाध्या, यामनाथ तिमिल्सिना, तारानाथ ढुंगाना, देव बहादुर (डिवी) भुजेल, माधवप्रसाद पौडेल चुनावी मैदानमा छन् । उद्योगतर्फ सदस्यमा हिरामणि पण्डितले उम्मेदवारी फिर्ता लिएपछि मोहनबाबु खड्का निर्विरोध चुनिए भने कर्पोरेट सदस्यतर्फ कमलबहादुर बस्नेत र नरेन्द्र बँस्तोलामात्रैको उम्मेदवारी परेपछि दुवै जना निर्विरोध चयन भईसकेका छन् ।



Post a Comment

 
Top