गोल्डेन न्यूज संवाददाता
नेकपा एमालेका नेता यमलाल देवकोटा र टेकबहादुर गुरुङको बुधबार निधन भएको छ । कास्कीको लुम्ले गाविस वडा नम्बर ६ का ४७ वर्षीय देवकोटाको उच्चरक्त चापले बुधबार राति निधन भएको हो । बुधबार बिहान विन्ध्यवासिनी उच्च मावि वरपाटनमा अध्ययापन गराइरहेका बेला अचानक छातिमा अप्ठ्यारो महसूस भएपछि उनलाई उपचारको लागि मनिपाल शिक्षण अस्पताल लगिएको थियो । उपचारका क्रममा उनको राति निधन भएको आफन्तले बताए । नेकपा एमाले कास्कीका पूर्व जिल्ला सदस्य देवकोटा ३६ सालदेखि नै राजनीतिमा सक्रिय थिए । उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलीको लागि एमाले कास्कीको कार्यालय शान्तिवनमा राखिएको थियो । उनलाई नेकपा एमालेका सचिव पृथ्वीसुब्बा गुरुङ, नेकपा एमाले केन्द्रीय सल्लाहाकार परिषद् सदस्य खगराज अधिकारी, पोलिटब्युरोका वैकल्पिक सदस्य एवं सांसद तुलबहादुर गुरुङ, केन्द्रीय सदस्य एवं सांसद सीता गिरी, एमाले कास्कीका अध्यक्ष कृष्ण थापा लगायत नेता कार्यकाताले श्रद्धान्जली दिएको एमाले कास्कीका कार्यालय सचिव बैनबहादुर क्षेत्रीले जानकारी दिए । एमाले पार्टी कार्यालयमा नेता तथा कार्यकता, देवकोटाका आफन्त लगायतको बाक्लो उपस्थिति थियो । देवकोटाको बिहीबार सेतीनदीको रामघाटमा अन्त्येष्टि गरिएको छ । देवकोटाका श्रीमती एक छोरा र एक छोरी छन् ।

यसैबीच नेकपा एमाले कास्कीले बिहीबार शोक विज्ञप्ति जारी गर्दै देवकोटा र गुरुङको निधनप्रति दुख व्यक्त गरेको छ । एमाले कास्कीका अध्यक्ष कृष्ण थापाले जारी गरको विज्ञप्तिमा उनीहरुको निधनले पार्टीलाई क्षति पुगेको उल्लेख छ । विज्ञप्तिमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवार जनमा हार्दिक समवेदना प्रकट गरिएको छ । यस्तै कास्की क्षेत्र नम्बर ४ बाट निर्वाचित नेकपा एमालेका सांसद सीता गिरीले पनि देवकोटा र गुरुङको निधनप्रति दुःख व्यक्त गरिन्। गिरीले जारी गरेको विज्ञप्तिमा उहाँहरुको निधनले पार्टी र कम्प्युनिष्ट आन्दोलनमै क्षति पुगेको उल्लेख छ । गिरीले दिवंगत आत्मको चिर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेकी छन् ।
Post a Comment