0
कति हजार जूनी पार गरेर पाईन्छ भन्छन् त्यसैले जिन्दगी प्रति केही गुनासो छैन मेरो। बाचिएकै छ, जस्तो छ ठीकै छ तर जिन्दगीमा थोरै गुनासो रह्यो त उनैसँग जससँग रगतको नाता त छ। तर, भावनात्मक रूपमा न मेरी आमाका श्रीमान भए, न मेरा बा। उकुस मुकुस भो मलाई नस्वीकारेका बा! त्यसैले तिम्रा नाममा डायरीका दुई चार पाना भरेँ मैले। बाचेर पनि जिउँदै मरेका हामीलाई त इज्जतको के प्रवाह भयो र माफ गर, तिम्रो त्यो इज्जतिलो जीवनमा दाग नलागोस् मेरो यो गुनासोले।  हुन त बा भनेर सम्बोधन गर्ने ठाउँ नै कहाँ राख्यौ र तिमीले? न त मैले कहिल्यै देखेँ तिमीलाई, न त एउटा बाउबाट छोरीले पाउने मायाँ नै पाएँ जिन्दगीमा। साच्चै भन्ने हो भने त दन्ते कथा जस्तो लाग्छ बाउले छोरीलाई धेरै मायाँ गर्छन् भनेको सुन्दा। उमेरले झन्डै दुई दशक बढी भएँ, स्नातक सकेँ, आफ्नै खुट्टामा उभिएर आमालाई पाल्न जागिरको खोजिमा छु। तर, यो दुई दशकको जिन्दगी कति लामो भो त्यो त कि मलाई नै थाहाँ छ कि मलाई नजिकैबाट बुझेकी मेरी आमालाई। हुन त यस्ता कुरा कस्लाई भनेर नै के हुन्छ र? त्यही पनि लेखेर,वह पोखेर मन हलुका बनाउँदै छु।
 
हुन त सँगै भएको भए नि तिमी प्रति मेरो श्रद्धा त के नै रहन्थ्यो होला र। तिमी त मेरो भ्रुण हत्या गरेर मेरी आमालाई धोका दिएर अर्को बिहे गर्न खोजेको मान्छे। जब म आमाको पेटमा रहेको थाहा भो आमाले गर्भ पतन गर्न नमाने पछि तिमी मध्य रातमा भागेर काठमाडौं पसेछ्यौं। त्यतिबेला नै मेरी आमाले प्रण गरिछन् जसरी पनि मलाई जन्माएरै छाड्ने। मलाई ताते ताते गराउने बेलासम्म त तिमी  काठमाडौं तिरै लुक्दै बसेका थियौ रे।
जब मलाई हात समाएर स्कुल भर्ना गर्ने बेला हुँदै थियो, तिमी बिदेश तिर बेपत्ता भाका हौ रे। अहिले सम्झिन्छु मैले, कसरी संघर्ष गरिन् होला मेरी आमाले, मलाई पढाउन, हुर्काउन र बढाउन?
 
आमा! मेरो बाबा कहिले आउनुहुन्छ के? मलाई जामा ल्याइदिनु हुन्छ है भनेर दिन रात आमालाई तिम्रो बारेमा सम्झाइ रहँदा आमा उता फर्केर किन रूदी रैछन् भनेर बल्ल बुझ्दै छु। पछि पछि त आमाको साथी भनेकै म भएछु, तिम्रो बारेमा सबै कुरा भन्न थाल्नु भो। दाईं गर्ने परालमा खेल्दा खेल्दै बसेको मायाको चिनो हुँ रे म। मेरी ती सोझी आमालाई के थाहाँ भयो र? तिम्रो त्यो मायाँको नाटक उर्लेको बैंसलाई पोख्ने वाहना मात्रै थियो भनेर। तिम्रो र आमाका बल्यकालका फोटा देखाउछिन् कहिलेकाहीं आमाले अनी मैले नदेख्ने गरेर आसुँ पूस्छिन्। पहिला पहिला निकै माया गर्ने तिम्ले आमाले ज्यान बोकी भने पछि हेला गर्न थालेका रहेछ्यौ। आमाले भन्थिन् (आमा नराम्री भएर स्वीकारेनौ रे! राम्री भएको भए सानै जात भए नि स्विकार्थे भन्थ्यौ रे। धिकार्न मन लाग्छ आमाका कुरा सुन्दा तिमीलाई (रसलीला गरून्जेल तिमीलाई तिनै ठिकै थिन जब कहिल्यै नघाउने काँचो मासुको तिर्खा मेटेको भान भो तिमीलाई, अनी बोझ हुन थालिन हैन मेरी आमा!
 
आमालाई त घरको न घाटको बनाइ हाल्यौ । म जन्मे पछि मेरो बारेमा कहिल्यै सोच्यौ तिमीले? आफ्नो रगत, आफ्नो सन्तानलाई पनि एक पटक कहिल्यै हेरौ जस्तो लागेन है तिमीलाई? कहिल्यै सोचेनौं है मेरी छोरीले पनि अरुका छोरीले जस्तै मिठाइ र बिस्कुट पर्खेर बसेकी होलिन् भनेर। मलाई पनि त रहर थियो होला नि, बाबाले चलाएको साइकल, मोटर साइकलमा अगाडि बसेर रमाउने रहर! त्यसको अलवा को हो को हो नचिनेको  मान्छेलाई बाउ बनाएर नागरिकता लिँदाको पीडा कस्तो भयो होला सोच त! अर्को तर्फ यो अन्धो समाजले हामी आमा छोरीलाई हेर्ने नजर, कहिल्यै एक मिनेट सोच्यौं? धेरै पटक आमालाई ‘न एक्ली न दुक्ली’ भन्थे पधेँरामा। मलाई ऊ ‘अबैध’ आइ भन्थे गाउँ घरमा अनी स्कुल, कलेजमा पनि। त्यतीसम्म त सहेकै थियौं।
 
आमाले त आफ्ना रहर र बैंस सबैलाई दबाएरै राखिन् तिम्रै नाममा। मेरा पनि त रहर र सपनाहरू थिए होलान् अनि छन् होलान् नि। माया प्रेममा होस या विवाहका कुरा सबै कुरा त्यही ‘अबैध’ मा पुगेर टुगिन्छन्। अनी मलाई राम्री देखेर घरसम्म हेर्न आउनेहरु पनि बिना बाउ कि छोरी के बिहे गर्छौ र भने पछि हाम्रो घरसम्म नै नआइ फर्किन्छन्। तिम्ले आमालाई दिएर गएको पुरस्कार हो कि उपहार हो बाबा! त्यसले किन बारम्बार घोची रहन्छ हामी आमा छोरीलाई? के म तिम्री छोरी हैन? हैन भने आउ एक पटक आएर डि एन ए परीक्षण गर। यदि हुँ भने किन स्वीकार्दैनौ? किन रमिता देखाउँछौ दुनियाँलाई? सम्पत्तिले भरीपूर्ण भए पनि, सुन चाँदी र हिराकै डल्लपमा सुरा सुन्दरीहरूसँग खेले पनि तिम्रो मन पनि त पक्कै खुसी छैन होला। नत्र वास्तविक परिचय लुकाइ लुकाइ किन भाग्यौ जिन्दगीको दौडबाट। नयाँ परिचय राखेर, नचिनिने फोटा राखेर सामाजिक सन्जालमा पोखिदा रै’छौ। निरासाले भरिएका तिम्रा पाना पढ्दा तिमीलाई पनि ग्लानी भएको महसुस हुन्छ। तिमीले लुकी लुकी हामीले नजानिने गरेर फेसबूकमा देखेको हेरेको जस्तो रमाइलो छैन बाबा हाम्रो जिन्दगी पनि। थाहा छैन तिमी एक्लै छौ वा दुक्लई? यदि एक्लै छौ र आँफैले आटेर आउन नसकेका हौ भने–‘‘जे भयो त्यो भयो, त्यस्लाई जीवनको एउटा तितो घटना सम्झेर आउ फर्केर, अबको बाँकी जीवन खुसीले बाँचे हुँदैन र ? तीज नजिकै आउँदै छ, म जान्ने भए देखि नै कहिल्यै देखिन मैले आमालाई रातो साडीमा सजिएर मुस्कुराएको। अरूका दिदी बहिनी र आमाहरू खुशीले नाचेको देख्दा रहर लाग्छ, तिमीलाई थाहा छ बा किरिया बस्न पर्ने तिम्रो नाममा अझै पनि मेरी आमा ब्रत बस्छिन्। त्यो पनि तिम्रो दिर्घायूका लागि रे! अबैध बनेर जीवनभर संघर्षले मैं बाँचुला, कम्तिमा आमाको मुहारमा हाँसो छर्देउ एक पटक! यो अबैधको लाख लाख बिन्ती छ तिमीलाई।





Post a Comment

 
Top