0
गोल्डेन न्यूज संवाददाता
फेवातालको किनारमा रहेको बसुन्धरा पार्कमा अब कुनैपनि सार्वजनिक कार्यक्रम सञ्चालन गर्न नपाइने भएको छ । पोखरा उपत्यका नगर विकास समितिले कुनैपनि ब्यक्ति वा संस्थालाई सार्वजनिक रुपमा कुनैपनि कार्यक्रम गर्न नदिने निर्णय गरेको हो । समितिको भदौ १६ गते बसेको १४९ औं बोर्ड बैंठकले गरेको निर्णय अनुसार अब पार्क भित्र मेला महोत्सब सञ्चालन गर्न पाइने छैन । यसको प्रत्यक्ष असर पश्चिमाञ्चल होटल संघले गर्ने फेवा नववर्ष महोत्सब र रेवान पोखराले गर्ने सडक महोत्सबमा पर्ने भएको छ । पार्कको अस्तित्व जोगाउन नगर विकास समितिले यो निर्णय लिएको अध्यक्ष प्रकाशमोहन खनालले बताए । ‘ सुरुमा जुन प्रयोजनका लागि लिइएको थियो, सोहि अनुसार पार्क संरक्षण र ब्यवस्थापन सम्बन्धि आवश्यक प्रक्रिया अपनाउने र अब आइन्दा उक्त क्षेत्र भित्र कुनै पनि ब्यक्ति तथा संस्थालाई सार्वजनिक रुपमा कुनैपनि किसिमका कार्यक्रमहरु सञ्चालन गर्न अनुमति नदिने निर्णय गरियो ।’ समितिको १४९ औं वोर्ड बैंठकको निर्णय नम्बर ७ मा उल्लेख छ । निर्णयमा बसुन्धरा पार्क सम्बन्धि सर्वोच्च अदालतमा विचाराधिन मुद्धा फैसला हुदाको बखत सोहि अनुसार ठहर्ने गरी हाललाई सार्वजनिक कार्यक्रम सञ्चालनमा रोक लगाउने उल्लेख छ । सरकारले फेवातालको पूर्वी किनारमा रहेको ब्यक्ति बिशेषको एक सय ८ रोपनी जग्गालाई ग्रिनवेल्ट बनाउने भन्दै २०३८ सालमा अधिग्रहण गरेको थियो । हाल बसुन्धरा पार्कको रुपमा रहेको सो जग्गा पोखरा उपत्यका नगरविकास समितिको नाममा छ । बिष्णु प्रसाद वास्तोला अध्यक्ष भएका बेला समितिले केवुलकार निर्माणको लागि मनकामना दर्शन प्रालिलाई २० बर्ष भन्दा बढी समयको लागि भाडामा दिएको थियो । हाल सो मुद्धा सर्बोच्च अदालतमा विचाराधिन छ । पोखरेली पर्यटन ब्यवसायी र राजनीतिक दलहरुले बसुन्धरा पार्कमा केवलकार निर्माण गर्न नहुने भन्दै विरोध जनाइरहेका छन् । बसुन्धरा पार्क रेखदेखको जिम्मा स्थानीय मितेरी आमा समूहले लिएको छ । समूहसहित नगर विकास समितिलाई केहि रकम दिएर आयोजकले पार्क भित्र मेला महोत्सब गर्दै आएका थिए । पार्कलाई ब्यवस्थित पार्ककै रुपमा विकास गर्न यो निर्णयले ठूलो टेवा पुग्ने सरोकारवालाहरुले बताएका छन् ।





Post a Comment

 
Top