0
गोल्डेन न्यूज संवाददाता
भावना सामुदायिक कृषि सहकारी संस्था लिमिटेड पोखरा–२६ सराङ्कोटको पाँचौ वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष शिवप्रसाद कोइरालाको अध्यक्षतामा सम्पन्न साधारणसभामा सहकारीका विभिन्न पदाधिकारीहरुले वार्षिक प्रतिवेदन पेश गरेका थिए । सभामा संस्थाका अध्यक्ष कोइरालाले सो सहकारीको कार्य प्रगति विवरण तथा चालु आर्थिक वर्षमा अवलम्वन गर्ने नीतिहरु बारे वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यसैगरी सचिव बलराम कोइरालाले सचिवको, कोषाध्यक्ष बेलबहादुर थापाले कोषाध्यक्षको, लेखा समितिका संयोजक प्रजापति अधिकारीको, ऋण उप–समितिको र लेखापरीक्षण लगायतको प्रतिवेदन पेश गरिएको थियो । साधारणसभामा सहकारीका जेष्ठ सदस्यहरु लगायत अन्य सदस्यहरुलाई सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि सोही सहकारीका जेष्ठ शेयर सदस्य निलबहादुर थापाले दोसल्ला र सम्मानपत्र सहित सम्मान गरेका थिए। संस्थाका जेष्ठ शेयर सदस्यहरुका अलावा मासिक वचतकर्ताहरु, असल ऋणिहरु, बाल बचतकर्ता, गत वर्षको एसएलसी परीक्षामा संस्थागत र नीजि विद्यालयबाट उत्कृष्ट भएका शेयर सदस्यका छोराछोरी मध्येबाट सम्मानित गरिएको थियो ।  विंसं २०६८ सालमा स्थापना भइ संचालनमा आएको सहकारीमा हाल ८ सय ४० जना शेयर सदस्यहरु रहेको सो संस्थाले जनाएको छ । संस्थाले सामाजिक उत्तरदायित्व वहन गर्ने सन्दर्भमा गएको विनाशकारी भूकम्पबाट घरमा क्षति पुगेका सराङ्गकोटका प्रभावितहरुलाई आर्थिक सहयोग गरेको थियो ।   ३ सय ८० शेयर सदस्यहरुको घरमा सोलार जडान गर्ने कार्य पनि सम्पन्न गरेको बताइएको छ । हाल पोखरा उपमहानगरपालिकाको २६ वडालाई मुख्य कार्यक्षेत्र बनाएको सहकारीले आगामी दिनमा उपमहानगरपालिकाका वडा नं १ देखि ६सम्म र कास्कीकोट ६ लाई समेत कार्यक्षेत्र बनाउने लक्ष्य लिएको अध्यक्ष कोइरालाले बताएका छन् । शेयर सदस्यहरुसँग छरिएर रहेको पुँजीलाई एकत्रित गरी जनजीविकाको स्तरलाईमाथि उठाउने लक्ष्य लिइएको संस्थाका कोषाध्यक्ष थापाको भनाइ छ । कार्यक्रममा विशेष अतिथि वडा नं २६ का सचिव रुद्रप्रसाद बस्ताकोटी, संस्थाका सल्लाहकारहरु मित्रमणि तिमिल्सिना, राजु तिमिल्सिना, शिवप्रसाद तिमिल्सिना तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरु पुस्कलबाबु थापा, ज्ञानबहादुर थापा, आत्मबहादुर थापा शेयरसदस्यहरु शारदा पराजुली, गंगाधर तिमिल्सिना र संस्थाका अध्यक्ष योगेन्द्र बहादुर थापा लगायतले मन्तव्य राखेका थिए ।

Post a Comment

 
Top