0
गोल्डेन न्यूज संवाददाता
श्रम तथा रोजगार मन्त्री सूर्यमान गुरुङले नेपालमा नै युवाहरुलाई रोजगारको व्यवस्था गर्नु आवश्यक रहेको बताएका छन् ।  नेपाली काँग्रेस कास्कीद्वारा आइतबार पोखरामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले वैदेशिक रोजगारीम जाँदा अवसर संगै समस्या र चुनौती समेत धेरै रहेको भन्दै देशमै केही गर्न सके राम्रो हुने बताए। अफगानिस्थानमा नेपालीहरु मारिएपछि मन्त्री परिषद्को बैठकले उक्त मुलुकमा रोजगारीमा जाँदा प्रतिवन्ध लगाएको र अहिले खोल्नुपर्छ भन्ने दवाव बढेको भन्दै मन्त्री गुरुङले एउटा निर्णय गर्दा अकोै समस्या आउने यथार्थता विद्यमान रहेको बताए । सरकारका मन्त्री र सम्बन्धित कर्मचारीहरु विभिन्न बहानामा विदेश जाने गरेको भएपनि विदेशमा बस्ने नेपालीहरुको समस्या समाधान हुन नसकेको भन्दै उनले   वैदेशिक रोजगारीमा जानेहरु र रोजगार व्यवसायीहरु जिम्मेवार बन्नुपर्नेमा जोड दिए । अहिले सबैलाई चोर र बद्मास देख्ने प्रवृत्ति बढेको छ, पत्रकारहरुले पनि सामान्य कुरालाई बङ्ग्याउने गर्दछन्, म मन्त्री बने वित्तिकै एक जना टिभि पत्रकारले ‘तपाइँलाई त मुठाका मुठा पैसा लिएर व्यवसायीहरु आउँछन् होला’ भन्ने प्रश्न गरे ।’ उनले भने–‘तर मैले सबेलाई भ्रष्टाचार नगर्न कडा निर्देशन दिएको छु ।’ फ्रि भिषा र फ्रि टिकटका बारेमा समेत अहिले बहस भइरहेको भन्दै उनले यो व्यवस्था हटाउन खोजेको भनेर आफूमाथि आरोप लागेको बताए ।  बढ्दो वेरोजगारीका कारण दैनिक रुपमा ठूलो संख्यामा युवाहरु रोजगारीको खोजिमा विदेशमा भौतारिनु परेको अवस्थालाई दृष्टिगत गरी यसको न्युनिकरण तर्फ लाग्नु टड्कारो आवश्यकता भएको उनले बताए। स्वदेशमा रोजगारीको सिर्जना हुन नसक्दा युवा शक्ति पलायन भएकोमा जोड दिदै उनले युवा शक्तिलाई यही नै परिचालन गर्न सक्ने तवरबाट राज्यले रोजगारीको सिर्जना गर्नु अपरिहार्य भएको बताए । जातीय सद्भाव एवम् धार्मिक एकता कायम गर्दै अघि बढ्नुको विकल्प नभएको उल्लेख गर्दै उनले नेपालमा भैरहेको जातीय सद्भाव एवम् एकता विथोल्न विभिन्न षड्यन्त्र जारी रहेको बताए । जनप्रतिनिधि विहिन अवस्थामा जनतालाई मर्का परिरहेको उल्लेख गर्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य समेत रहेका मन्त्री गुरुङले सरकार निर्वाचनको तयारीमा लागिरहेका कारण त्यसतर्फ जुट्न कार्यकर्तालाई आग्रह गरे । नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण के.सी.ले संघीय संरचनामा पार्टीका गतिविधि बढाउने सम्बन्धमा केन्द्र स्तरबाट पार्टीले तत्काल अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

Post a Comment

 
Top