0
गोल्डेन न्यूज संवाददाता
दाह्रीको शौख भएकाहरुको फेसबुक समूह दाह्री ग्याङका पोखरा मेम्बरले पोखरामा सञ्चालन गरेको तीन दिने ट्राफिक सचेतना अभियान शुक्रबार सम्पन्न भएको छ । सवारी चालक तथा बटुवालाई ट्राफिक ज्ञान सम्बन्धी सचेतना फैलाउने उद्देश्यले बुधबारदेखि अभियान सुरु भएको थियो । ट्राफिक सचेतनाका लागि ट्राफिक प्रहरीसँगै समूहले विहान ९ बजेदेखि साढे बजेसम्म र बेलुकी ४ बजेदेखि ६ बजेसम्म स्वयंसेवक परिचालन गरेको थियो ।

पोखराका मुख्य बजार क्षेत्र महेन्द्रपुल, चिप्लेढुंगा, पृथ्वीचोक, सभागृहचोक र सृजनाचोकमा स्वयंसेवक परिचालन गरेको संयोजक शेखर गौतमले जानकारी दिए । पोखराका मुख्य चोकमा रहेका जेब्राक्रसिङबाट बाटो काट्न सचेतना फैलाउन स्वयमसेवीको भूमिका निर्वाह गरेका थिए । पैदल यात्रीलाई जेब्रा क्रसिङबाट बाटो काट्न सचेतना जगाउने हेतुले कार्यक्रम गरेको सह–संयोजक बसन्त पहारीले जनाए ।जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्की सँगको सहकार्यमा भएको कार्यक्रमका क्रममा ४००० पर्चा वितरण गरिएको थियो । अब शनिबारदेखि सार्वजनिक सवारी साधनमा विभिन्न ट्राफिक सचेतना सम्बन्धी १००० स्टिकर पनि टाँसिने सो समूहले बताएको छ । दाह्री ग्याङले वृहत रक्तदान कार्यक्रम र मृगौला पीडितलाई सहयोग गरिसकेको छ । बृद्धबृद्धा र पिछडिएका वर्गलाई लक्षित गरि दशैं विशेष कार्यक्रम समेत गर्ने भएको छ । त्यस्तै, पोखराको सडकमा खुल्ला रुपमा छाडिएका छाडा चौपायालाई व्यवस्थान गर्न पहल समेत गर्ने भएको छ भने विभिन्न कम्पनीहरुसंग सहकार्य गरि सो कम्पनीहरुको लोगो अंकित टिर्सटहरु विपन्न वर्गका व्यक्तिलाई वितरण गर्ने जनाएको छ ।

Post a Comment

 
Top