0
६२ बर्षको इतिहास बोकेको पोखराकै जेठो संस्था पोखरा उद्योग वाणिज्य संघ पोखरेली उद्योगी व्यवसायीको छाता संस्था हो । यो संस्थामा हालसम्म ३१ वटा कार्यसमिति फेरियो । २१ जनाले अध्यक्षको कुर्सी सम्हाले । २२औं अध्यक्षको लागि ६ जना प्रत्यासी छन् । त्यस मध्ये एक महिला छिन् । ३१औं महाधिवेशन अन्तर्गत शनिबार हुने मतदानले संघको आगामी नेतृत्वको भाग्य र भविष्य निर्धारण गर्नेछ । तर यो पटकको महाधिवेशन मतदाताको लागि पनि महत्वपूर्ण फैसला लिने अवसरको रुपमा उभिएको छ ।  पोखरा उद्योग वाणिज्य संघमा महिलाको उपस्थिति न्यून भइरहेका बेला यो महाधिवेशनमा महिला उम्मेदवारको संख्या बढेको छ । अध्यक्षदेखि पदाधिकारी र सदस्यसम्म महिला प्रतिस्पर्धीको रुपमा अघि सरेका छन् । संघमा १४ बर्षको इतिहास बनाएकी हिरा भट्टराई अध्यक्षको प्रतिस्पर्धी छिन् भने महासचिवमा लक्ष्मी पाण्डे, उपाध्यक्ष उद्योगतर्फ सीता गुरुङ र बाणिज्य तर्फको उपाध्यक्षमा विन्दु कोईराला सुवेदी प्रतिस्पर्धामा छन् । उनीहरु मध्ये जसले जितेपनि इतिहास रचिनेछ । निर्वाचित पहिलो महिला अध्यक्ष वा पदाधिकारीमा उनीहरुको नाम लेखिनेछ । अहिलेसम्म यी पदमा महिलालाई मौका पाएका छैनन् । संघ स्थापनाको ४७ वर्षपछि मात्रै महिला सदस्यको प्रवेश भएकोमा अहिले कार्यसमितिको लागि विभिन्न पदमा उम्मेदवारी दिने महिलाको संख्या १० जना छन् । सीता बराल, गोमा ढकाल, चिनु गुरुङ, गीता तिवारी गौतम, मुना बाँस्तोला र पवित्रा गुरुङ सदस्य पदको उम्मेदवार हुन् । संघमा महिला प्रवेशको अवस्थालाई हेर्दा २०५९ सालमा रमेश कर्माचार्यको कार्यसमितिमा पहिलो महिला सदस्यको रुपमा गंगा कुँवर प्रवेश गरिन् । निर्वाचित सदस्यको रुपमा एक कार्यकाल विताएपछि उनले संघमा निरन्तरता दिन सकिनन् र अर्को कार्यकाल पुनः महिला विहिन भयो । २०६३ सालमा दिपक श्रेष्ठ अध्यक्ष भएका बेला दुई जना महिला कार्य समितिमा प्रवेश गरे । विन्दु कोईराला कार्यसमिति सदस्यमा निर्वाचित भईन् । उनीसँगैं निर्वाचित वासु पराजुली विदेश पलायन भएपछि अर्की महिला सदस्य हिरा भट्टराईलाई मनोनित गरियो । त्यस यता कोईराला र भट्टराईले निरन्तरता दिंदै आएको संघमा वर्तमान कार्यसमितिमा अर्की एक महिला थपिईन् ।  विन्दु कुमार थापा अध्यक्ष रहेको ३० औं कार्यसमितिमा सीता गुरुङ निर्वाचित भएसँगै महिलाको संख्या तीन पुग्यो । २०६३ सालमा दिपक श्रेष्ठ संघको अध्यक्ष हँुदा मनोनित सदस्यमा छिरेर लगातार कार्यसमिति सदस्य हँुदै २०६९ सालमा सञ्जिवबहादुर कोईराला अध्यक्ष भएका बेला उप महासचिवमा मनोनित भई वर्तमान कार्यसमितिमा समेत रहेकी भट्टराईलाई इतिहास रच्ने अबसर बनेको छ । त्यस्तै २०६३ देखि निरन्तर संघमा आवद्ध विन्दु कोईराला सुवेदी आगामी कार्यसमितिको लागि वाणिज्य तर्फको उपाध्यक्ष पदमा प्रतिस्पर्धा गर्दैछिन् । हाल महिला उद्यम विकास समिति सभापति रहेकी उनी विना प्यानल स्वतन्त्र रुपमा प्रतिस्पर्धामा आएकी हुन् । त्यस्तै हालको कार्यसमिति सदस्य सीता गुरुङ दोस्रो कार्यकालमै उद्योगतर्फको उपाध्यक्ष पदमा प्रतिस्पर्धामा उत्रिएकी हुन् । संघको महिला उद्यम विकास समितिको कोषाध्यक्ष समेत रहेकी लक्ष्मी पाण्डे पहिलो पटक कार्यसमितिमा प्रवेश गर्ने आकांक्षा सहित चुनावी मैदानमा उत्रिएकी छिन् । उनी महासचिव पदमा अर्का प्रत्यासी दामु अधिकारीसँग भिड्दैछन् ।
कार्यसमिति सदस्यमा पहिलो पटक प्रवेश गर्न चाहने ६ उम्मेदवारलाई पनि यो महाधिवेशन अवसरको रुपमा उभिएको छ ।  एक दशक अघि संघमा ५५ जना महिला उद्यमीमात्रै आबद्ध थिए । तर अहिले ४६७ महिला उद्यमीहरु संघको मतदाता छन् ।
गोकुल बानियाँ÷पिस पोखरा






Post a Comment

 
Top