0
वासुदेव पौडेल
नेपालका वाइसे चौवीसे राजाका पालादेखि अस्तित्वमा आएको पोखरा उपमहानगरपालिका वडा नं २२ स्थित धार्मिक एवम् ऐतिहासिक स्थल मणिद्विप प्रचार–प्रसारको अभावमा ओझेलमा परेको छ । पोखराको उपत्यकाको दृश्यावलोकन सहित ऐतिहासिक एवम् धार्मिक स्थलको अवलोकनका लागि स्वदेशी एवम् विदेशी पर्यटक मणिद्विपमा आउने गरे पनि आवश्यक प्रचारप्रसारको अभावले अपेक्षित पर्यटक अझै भित्र्याउन नसकिएको स्थानीयवासी बताउछन् ।
 
समाजसेवी ओमप्रकाश बरालका अनुसार यस क्षेत्रको राम्रो प्रचार प्रसार एवम् भौतिक पूर्वाधार विकास गरेमा धार्मिक पर्यटनको उत्कृष्ट गन्तव्यका रुपमा विकास गर्न सकिने सम्भावना रहेको बताउछन्। वाइसे चौविसे राजाको पालामा नै आर्वामा वस्ती स्थापना हुँदा गाउँको पूर्वमा मणिद्विप नागेश्वर महादेवको स्थापना गरिएको पाइन्छ,” उनले भने–“अत्यन्त शक्तिशाली शक्तिपीठका रुपमा रहेको यस मन्दिरमा धेरै पटक नाग प्रकट भएका छन्, यस मन्दिरमा भक्तिभावपूर्वक पूजा गरेका सन्तान प्राप्ती नभएका व्यक्तिलाई सन्तान लाभ भएको छ भने, नागका कारण समस्यामा परेका धेरै विरामीहरू स्वास्थ्य लाभ गरी फर्केका छन् ।” प्राचीन कालदेखि नै सन्यासीहरू बस्दै आएकोमा केही वर्ष अघिदेखि उनीहरू बस्न छोडेका अर्का स्थानीयवासी जयबहादुर बरालले बताए । उनका अनुसार सुरुमा खरले छाएको मन्दिर रहेकोमा हाल रहेको शिव मन्दिर भने २०६२ सालमा निर्माण गरिएको हो । २०६३ सालमा बृन्दाबनबाट ल्याइएको शिला स्थापना गर्दा शिलामा लामो समयसम्म पसिना आएको थियो । २०६३ सालमा बृन्दावनका महामण्डलेश्वर सहितका विशष्टि व्यक्तिहरूको उपस्थितिमा मणिद्विपमा महायज्ञ लगाइएको उनले जानकारी दिए । मणिद्विप क्षेत्रको धार्मिक विशिष्टतालाई उजागर गर्न स्थानीय समाजसेवी हरू पनि सक्रिय बनेका छन् । अत्यन्त रमणीय मणिद्विप क्षेत्रबाट माछापुच्छूे, अन्नपूर्ण हिमालका साथै लम्जुङको गणेश हिमाल हेर्नका लागि पनि पर्यटक आउने गरेका छन् । बृहत् गुरुयोजना सहित धार्मिक एवम् ऐतिहासिक स्थलललाई समेटेर समग्र आर्वालाई नै धार्मिक पर्यटनको विशिष्ट केन्द्र बनाउन सकिने बरालको भनाइ छ । लगभग १० रोपनी क्षेत्रफलमा रहेको मणिद्विपकोे विकासमा सहयोग पु¥याउने लक्ष्यका साथ स्थानीय समाजसेवी खिमकुमारी बरालले १२ आना थप जग्गा मन्दिरलाई उपलब्ध गराएका छन् । यहाँको धार्मिक आस्था एवम् विश्ववासलाई जगाइ राख्नका लागि युवा वर्गको विशेष सकृयता आवश्यक रहने जग्गादाता बरालको भनाइ छ । मणिद्विप र आसपासका धार्मिक एवम् ऐतिहासिक स्थलको महत्वलाई उजागर गर्दै विकास गर्न सकेमा धेरै धार्मिक पर्यटकलाई आर्वामा आकर्षण गर्न सकिने आर्वा विजय गाउँ पञ्चायतका पूर्व प्रधानपञ्च समेत रहेका ८९ वर्षीय सूर्यनाथ उपाध्याय बरालले बताए । मणिद्विप सहित रतन पाण्डे स्थल, महाप्रभुधाम, लक्ष्मीनारायण मन्दिरलाई समेटर यस क्षेत्रलाई धार्मिक पर्यटनका उत्कृष्ट आकर्षण रहेको बताउँदै उनले यसका लागि आवश्यक प्रचार–प्रसार एवम् अत्यावश्यकीय भौतिक पूर्वाधारको विकास गर्नुपर्ने बताए ।रासस




Post a Comment

 
Top