0
गंगाधर पराजुली
पोखरा २५ भदौ ।
पोखरा उद्योग वाणिज्य संघको ३१ औं महाअधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिएका सबैजसोले आफूले चुनाव चित्ने दावी गरेका छन् । निर्वाचन कार्यक्रम अन्तर्गत शनिबार निर्वाचन समितिले आयोजना गरेकने उम्मेदवार परिचय कार्यक्रममा उनीहरुले आफ्नो घोषणापत्र प्रस्तुत गर्दै उम्मेदवारहरुले असोज १ गतेको मतदान कार्यक्रमपछि आफू अध्यक्ष बन्ने दावी गरेका हुन् । हुनत अध्यक्ष बाहेकका अन्य पदका उम्मेदवारले पनि आफूहरु विजयी हुने दावी गरेका छन् । कार्यक्रममा ५२ जनाले आफ्नो परिचय दिंदै उम्मेदवारी दिनुको कारण स्पष्ट पारेका थिए ।  उनीहरुले आ–आफ्नो प्रतिबद्धता सार्वजनिक गर्दै आफूहरुलाई विजय गराउन मतदाता समक्ष आग्रह समेत गरे ।
अध्यक्षका उम्मेदवार ईश्वर कर्माचार्यले अबको अध्यक्ष आफू नै बन्ने दावी गरे । उनले भने–‘म कसैको बुई चढेर उम्मेदवार बनेको होइन । पोउवासंघमा पहिले नै उपाध्यक्ष बनेकोले यसपटक मैले अध्यक्षमा उम्मेदवारी दिएको हुँ । त्यसैले मेरो उम्मेदवारी स्वभाविक हो र मैले नै चुनाव जितेर अध्यक्ष बन्नेछु ।’ उनी यसअघि सञ्जीव बहादुर कोइराला अध्यक्ष रहेको बेला उपाध्यक्ष बनेर काम गरेका थिए  । तर वर्तमान कार्यसमितिमा उनी सदस्यमात्र छन् ।
अध्यक्षकै अर्का उम्मेदवार देव क्षेत्रीले आफू भाषणमा भन्दा काम विश्वास गर्ने व्यक्ति भएकाले आफूलाई सबै मतदाताले विश्वास गर्ने दावी गरे । उनले व्यवसायिक हक हित र संबृद्ध पोखराको लागि आफूले उम्मेदवारी दिएको बताए । ब्यवसायीका समस्या समाधानको साथै संघलाई मजवूद बनाउँदै अघि बढ्ने प्रतिबद्धता जनाउँदै उनले आफ्नो समूहका लागि सामुहिक रुपमा भोट मागेका थिए ।
अध्यक्षका लागि अर्का उम्मेदवार धनीराम बरालले संघको नेतृत्व तहमा रहेर उद्योगी ब्यवसायीको हकहितका लागि लाग्ने प्रतिबद्धता जनाए । उनले आफू सम्वद्ध विभिन्न सामाजिक तथा व्यवसायिक संस्थाको प्रगति गर्न सफल भएको भन्दै पोउवासंघको नेतृत्व लिएर संस्थालाई अझै सक्षम बनाउने बताए ।
अध्यक्षका अर्का उम्मेदवार नारायण कोइरालाले पोउवासंघको नयाँ विधानले व्यवस्था गरेबमोजिम पदाधिकारी लगायत सबै पदमा स्वतःस्फूर्त रुपमा उम्मेदवारी परेको भन्दै अहिले उम्मेदवारी दिनेहरु लाई कुनै समूह र प्यानलको भन्न नमिल्ने बताए । ‘मैले कुनै समूह र पार्टी भन्दा पनि स्वतन्त्र रुपमा उम्मेदवारी दिएको छु, त्यसैले सबैको समर्थन प्राप्त हुन्छ’–उनको विश्वास थियो ।
उनले टीम भन्ने कुरा निर्वाचन जितेपछि विजयीहरुको मात्र बन्ने र त्यसले समग्र व्यवसायी र संस्थाको हितमा काम गर्ने भएकाले अहिले प्यानल बनाउनुको औचित्य नभएको बताए । यसअघि महासचिवको जिम्मेवारी निर्वाह गरेको कोइराला वर्तमान कार्यसमितिमा भने सदस्य छन् ।
अध्यक्षका अर्का प्रत्यासी विश्वशंकर पालिखेले १२ वर्षमा खोला समेत फर्कन्छ भन्ने उखानको चर्चा गर्दै आफूले १२ अघि अध्यक्षमा उम्मेदवारी दिएको र पराजित भएको स्मरण गरे । उनले भने–‘त्यसबेला मैले पोउवासंघ र उद्योगी व्यवसायीका लागि धेरै काम गर्न सकेको थिइन होला त्यसैले पराजित भए तर अहिले अर्थात १२ वर्षपछि पुनः अध्यक्षमा उम्मेदवारी दिएको छु र यसअघि संघमा विभिन्न काम समेत गरिसकेको छु ।’ उनले पोखराको समग्र विकासका लागि आफूले गरेको प्रयासलाई सबैले नजिकबाट हेरेकोले आफूलाई मतदान गर्ने र विजयी समेत हुने विश्वास व्यक्त गरे । समग्र पोखराको विकासको लागि बर्षौ देखि लड्दै आएकाले नेतृत्व तहमा पुगेर त्यसलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता जनाए । उनले पनि सामुहिक रुपमा आफ्नो टिमलाई भोट दिन आग्रह गरेका थिए ।
संघको अध्यक्षका अर्का उम्मेदवार हिरा भट्टराईले आफ्नो उम्मेदवारीलाई समयको माग अनुसार आएको बताइन । उनले भनिन्–‘मैले कुनै महत्वाकांक्षा राखेर अध्यक्षमा उम्मेदवारी दिएकी होइन, यो समयको माग हो ।’ सधैंजसो पुरुषलेमात्र नेतृत्व लिंदै आएकोमा पहिलो पटक नेतृत्वका लागि महिला भएर पनि आफू अघि बढ्दा धेरैले आश्चर्य मानेको भन्दै उनले भनिन्–‘म पोखराको वडा नं. ६ मा बस्छु, ६ जना दिदीबहिनी मध्ये म कान्छी हुँ र यसपटक अध्यक्षको उम्मेदवारी पनि ६ नं.मै दर्ता गरेकोले म आवश्य विजयी हुन्छु ।’
संघको अध्यक्षका उम्मेदवारहरु मध्ये देव क्षेत्रीले र विश्वशंकर पालिखेले आफूहरुको प्यानल समेत रहेकाले सबैलाई मतदान गर्न समेत आग्रह गरेका थिए । वरिष्ठ उपाध्यक्षका उम्मेदवार मिनराज काफ्ले र रविन्द्र बहादुर प्रजुले संघमा यसअघि गरेको योगदान स्मरण गराउँदै नेतृत्व क्षमता विस्तारको लागि पनि आफुहरुको उम्मेदवारी स्वभाविक भएको दावि गरे । काफ्ले क्षेत्री समुहबाट र प्रजु पालिखे समूहबाट प्रतिस्पर्धामा छन् ।
उद्योगतर्फको उपाध्यक्षमा क्षेत्री प्यानलका सीता गुरुङ्ग र पालिखे प्यानलका गोकर्ण कार्की प्रतिस्पर्धी छन् । वाणिज्य तर्फको उपाध्यक्षमा तीन जना प्रतिस्पर्धी छन् । क्षेत्री प्यानलबाट सुरेश अधिकारी र पालिखे प्यानलबाट केदारनाथ भट्टराई तथा विन्दु कोईराला सुवेदीको बीचमा प्रतिस्पर्धा हुनेछ ।
महासचिवमा पालिखे प्यानलबाट दामु अधिकारी र क्षेत्री प्यानलबाट लक्ष्मी पाण्डेको बीचमा प्रतिस्पर्धा हुँदैछ । अधिकारीलाई नेकपा एमालेको तर्फबाट अघि बढाइएको र पाण्डेलाई नेपाली कांग्रेसको तर्फबाट अघि सारिएको हो । महासचिवको पदलाई एमाले र कांग्रेसले आ–आफ्नो प्रतिष्ठाको विषय समेत बनाएको बताइन्छ ।
कोषाध्यक्षमा क्षेत्री प्यानलबाट जनकराज पराजुली र पालिखे प्यानलबाट पवन कुमार प्रजापति प्रतिस्पर्धामा उत्रिएका छन् । उप महासचिवमा क्षेत्री समूहबाट अर्जुन पोखरेल र पालिखे समूहबाट नविन बराल चुनावी मैदानमा छन् । त्यस्तै धर्मराज अर्याल पनि उप–महासचिवको उम्मेदवार हुन् ।
खुल्ला १० सदस्यका लागि २१ जनाले उमेदवारी दिएकोमा १० जना क्षेत्री समूहमा छन् भने १० जना पालिखे समूहमा छन् । पालिखे समूहबाट सीता बराल, गीता तिवारी, अनिल सिग्देल, किसान सुनार, देवकृष्ण काफ्ले, प्रेम प्रसाद पौडेल, प्रेम बहादुर भूजेल, पवित्रा गुरुङ, यदुनाथ अधिकारी र सुरेन्द्र बिजुक्छे उम्मेदवार बनेका छन् ।
त्यस्तै क्षेत्री प्यानलबाट सदस्यहरुमा चीनु गुरुङ, गोमा ढकाल, कुमारी मुना बास्तोला, हिमालय बख्रेल, नवराज त्रिपाठी, बलराम आचार्य, गिरीधारी शर्मा, अर्जुन खनाल, हरिराज पन्त र महेश्वर पोखरेल उम्मेदवार बनेका छन् । सदस्य पदका लागि खुल्ला तर्फ उम्मेदवारी दिएका कृष्ण रानाभाट र वस्तुगततर्फ ४ जनाको लागि उम्मेदवारी दिएका ८ जना प्रतिस्र्धामा छन् । वस्तुगत तर्फबाट नारायण प्रसाद पौडेल, गिरीधारी अधिकारी, डिवी भूजेल, यामनाथ पौडेल, तारानाथ ढुङ्गाना, केपी शर्मा, यमनाथ तिमल्सिना र माधव प्रसाद पौडेलले वस्तुगततर्फको सदस्यमा प्रतिस्पर्धा गर्ने भएका छन् । संघमा दुई जना कर्पोरेट र एक जना औद्योगिक सदस्य निर्विरोध भैसकेका छन् । कर्पोरेट सदस्यमा नरेन्द्र वास्तोला र कमल बहादुर बस्नेत र औद्योगिक सदस्यमा मोहनबाबु खड्का निर्विरोध भएका हुन् ।
उम्मेदवार परिचय कार्यक्रममा निर्वाचन समितिका संयोजक दीपक श्रेष्ठ, सह–संयोजक राजेन्द्र बाटाजू, सदस्य निरञ्जन श्रेष्ठ लगायतले बोलेका थिए ।

Post a Comment

 
Top