0
गोल्डेन न्यूज संवाददाता
पोखराको प्रसिद्ध धार्मिक स्थल विन्ध्यवासिनी मन्दिरमा दर्शनार्थी तथा भक्तजनहरुले दान गर्ने भेटीको व्यवस्थापन हुन नसक्दा मन्दिरका पूजारीहरु र धार्मिक क्षेत्र विकास समितिबीचको आन्तरिक द्वन्द कायम छ । विन्ध्यावसिनी मन्दिर परिसरमा रहेका विभिन्न देवी–देवताका मन्दिरहरु मध्ये राधाकृष्ण मन्दिर, शिव मन्दिरको भेटी समितिले व्यवस्थापन गर्न सकेको भएपनि मूल मन्दिर माता विन्ध्यवासिनी को भेटीमा भने अझैसम्म समितिको पहुँच छैन । मूल मन्दिरमा दर्शनार्थी तथा भक्तजनले कति दान गर्छन् भन्ने समेत समितिलाई जानकारी छैन ।
 
मूल मन्दिरको भेटी मन्दिरका मूल पूजारी रुद्रनाथ पौडेलसहितले बाँडेर लिने गरेको भएपनि उनीहरुले मासिक रुपमा या वार्षिक रुपमा कति रकम संकलन हुन्छ भन्ने जानकारी समितिलाई गराउन चाहँदैनन् । वर्षौदेखि समितिले मूल मन्दिरको भेटी व्यवस्थित गर्न र पूजारीहरुलाई मासिक रुपमा आकर्षक पारिश्रमिकको सहितको सुविधा दिनका लागि प्रस्ताव गरेको भएपनि पूजारीहरुले नमान्दा आन्तरिक द्वन्द कायम छ । आफूहरुले मन्दिरका पूजारीहरुलाई आचारसंहिता बनाउन र निश्चित पोशाक बनाउन निकै प्रयास ग¥यौं तर पूजारीहरुले नमानेको विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका सचिव तीर्थ श्रेष्ठले मंगलबार पत्रकारहरुमाझ गुनासो गरे । ‘काठमाडौंको पशुपतिनाथको  मन्दिर पशुपति विकास कोष ऐनबाट संचालन हुन्छ तर हाम्रो समिति संघ–संस्था ऐन अनुरुप दर्ता भएकाले छुट्टै ऐनद्वारा मन्दिरको भेटी व्यवस्थित गर्न आवश्यक छ’, समितिका सचिव श्रेष्ठले भने–‘यसका लागि सरकारलाई घच्घच्याउने काम हामीले गरिरहेका छौं, अब पत्रकार लगायत सबैतिरबाट पहल होस् भन्ने हाम्रो चाहना छ ।’
 
समितिका अध्यक्ष गणेशबहादुर श्रेष्ठले मन्दिरको भेटी व्यवस्थापन गर्न र त्यसलाई समाजिक क्षेत्रमा लगानी गर्नुपर्छ भन्ने आवाज सबैतिरबाट उठ््न थालेको बताए । अध्यक्ष श्रेष्ठका अनुसार मूल मन्दिर बाहिर राखिएको दानपात्र लगायत राधाकृष्ण मन्दिर र शिव मन्दिरमा संकलित भेटी रकम एक महिनामा १६ लाखसम्म पुगेको छ । मूल मन्दिरमा भने भक्तजनले धेरै दान गर्न चाहने भएकाले भेटी रकम धेरै हुने भएपनि एकिन गर्न कठिन रहेको अध्यक्ष श्रेष्ठले बताए ।
यसैबीच विन्ध्यवासिनी मन्दिरको गुठीको रुपमा रहेको करिब ५४ रोपनी जग्गा समितिले संरक्षण गर्न सफल भएको छ । गुठी संस्थानबाट निकालेको सूचीमा कुँडहरमा ३५ रोपनी जग्गा विन्ध्यवासिनी मन्दिरको गुठीको रुपमा रहेको उल्लेख भएपनि उक्त जग्गाका बारेमा भने केही जानकारी प्राप्त हुन नसकेको समितिले जनाएको छ । तर पोखरावेशी बसपार्क नजिकै अर्थात सराङकोट क्षेत्रमा २७ रोपनी, नदीपुरमा २० रोपनी र फूलवारी लगायतका ठाउँमा करिब ६ रोपनी जग्गा समितिले पत्ता लगाएर संरक्षण गर्न सफल भएको अध्यक्ष श्रेष्ठले जानकारी दिए । पोखराको नारायणस्थान मन्दिरको गुठी जग्गामध्ये करोडौं मूल्य पर्ने जग्गा पूजारीहरुको नामबाट विभिन्न व्यक्तिलाई बेचविखन भएको अवस्थामा विन्ध्यवासिनी मन्दिरको गुठी जग्गा समेत बेचविखन हुने सम्भावना बढेपछि समितिको सक्रियतामा जग्गा पत्ता लगाउने र गुठीको नाममा संरक्षण गर्ने प्रयासले सार्थकता पाएको हो ।
 
वि.सं. १८४४ मा तत्कालिन राजा सिद्धिनारायण शाहले महेन्द्रो पाध्या पौडेललाई मन्दिरको गुठी जग्गाको लालमोहर दिएका कारण पूजारीहरुले आफ्नो स्वामित्वमा जग्गा आउनुपर्ने दावी गर्दै आएका थिए । तर समितिको तर्फबाट पूजारीहरुसंग उक्त लालमोहर लागेको कागज माग्दा अझैसम्म उपलव्ध हुन नसकेको बताइन्छ । इतिहासविद् प्रा. डा. दिलबहादुर क्षेत्रीले लेखेको पुस्तकमा वि.सं. १८४२ मा कास्की राज्य वृहत् नेपालमा एकीकृत भएकाले १८४४ मा लालमोहर दिने अवस्था नरहेको उल्लेख गरेकोले पनि लालमोहर सम्बन्धी विषय स्पष्ट हुन नसकेको बताइन्छ । तर वडागुरुज्यूका पालामा लालमोहर समय–समयमा नविकरण गरेको भन्ने पत्ता लागेको भन्दै समितिका सचिव तीर्थ श्रेष्ठले नविकरण नभएको अवस्थामा उक्त लालमोहर स्वतःरद्ध हुनुपर्ने जिकिर गरे । यस विषयमा संस्कृति मन्त्रालयमा वारम्बार कुरा भएको समेत उनले बताए ।
 
विन्ध्यवासिनी मन्दिरको भौतिक विकासका लागि २०४३ सालमा धार्मिक क्षेत्र विकास समिति गठन गरिएपछि मन्दिरको संरक्षण, विकास र प्रचार–प्रसारले गति लिएको सचिव श्रेष्ठ बताउँछन् । योजनावद्ध ढङ्गले भौतिक विकास र आध्यात्मिक जागरणका प्रयत्न हुँदै गर्दा सन्त निवास, राधाकृष्ण मन्दिर, शिव मन्दिर, छात्रवास भवन, बहुउद्देश्यीय सभा भवन, यज्ञ मञ्डप, लक्ष्मीनारायण मन्दिर, राम–सीताको मन्दिर, कीर्ति स्तम्भ, हवन कुण्डको निर्माणका साथै छपनी ढुङ्गा छाप्ने, चौतारी बनाउने, प्रवेशद्वारमा ढोका लगाउने जस्ता काम भएको छ । यसका साथै विन्ध्यवासिनी पार्कमा पूmलप्रसाद विक्री कवल, पार्कमा वाटर फाउण्टेन निर्माण, मन्दिरमा प्रदक्षिणा पथ निर्माण र ऐतिहासिक महत्वको पुरानो माल अड्डा भवनलाई कलात्मक भवनका रुपमा पुनःनिर्माण समेत समितिको पहलमा गरिएको । यस्तै समिति अन्तर्गत वैदिक शिक्षा र कर्मकाण्डलाई संरक्षण गर्न गुरुकुल विद्याश्रम संचालन भइरहेको र २५ जनाले अध्ययन गरिरहेका छन्

Post a Comment

 
Top