0
गोल्डेन न्यूज संवाददाता
नेपालीको महान् पर्व बडादशैको अबसरमा पोखराको प्रसिद्ध धार्मिक स्थल विन्ध्यवासिनी मन्दिरमा यसवर्ष पनि विगतमा जस्तै नवदुर्गा महोत्सव हुने भएको छ । नवरात्रीको नौ दिनसम्म चल्ने महोत्सवको तयारी सुरु भएको आयोजक विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले मंगलबार पत्रकार सम्मेलनमार्फत जानकारी दियो । नवदुर्गा महोत्सव अन्तर्गत असोज १५ गते घटस्थापनाको दिनदेखि महानवमीको दिनसम्म दैनिक भागवत कथा वाचन हुने विन्ध्यबासिनी धार्मिक क्षेत्रविकास समितिका अध्यक्ष गणेशबहादुर श्रेष्ठले जानकारी दिए । महोत्सव सुरुवातको अवसरमा घटस्थापनाको दिन बृहत शोभायात्रा निकालिने उनले बताए । विन्ध्यवासिनी मन्दिर पार्कबाट सुरु हुने शोभायात्रा पोखराको मोहरियाटोल, भैरवटोल, भिमसेन टोल, नालाको मुख, तेर्सापट्टी, महेन्द्रपुल, चिप्लेढुङ्गा, सिद्धार्थचोक, रामकृष्णटोल, गणेशटोल हुँदै पुनः मन्दिरमा पुगेर समापन हुनेछ ।  शोभायात्रामा माता नवदुर्गाको नौ रुपको झाँकीसहित एक सय आठ कलश, विन्ध्यवासिनी मन्दिरको झाँकी, बिभिन्न भजन समूह, जातिय भेषभूषा, सांस्कृतिक झाकीहरु, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल स्काउट, आमा समूह तथा धार्मिक, सामाजिक, शैक्षिक संघ–संस्थाहरुको सहभागिता रहने समितिले जनाएको छ । महोत्सवका लागि समितिका अध्यक्ष गणेशबहादुर श्रेष्ठको अध्यक्षमा मूल समारोह समिति गठन गरिएको छ । संस्कृतिको संरक्षण संगै धार्मिक पर्यटन प्रबद्र्धनका लागि विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले विगत १० बर्षदेखि प्रत्येक बर्ष नवदुर्गा महोत्सब गर्दै आएको छ । महोत्सव अवधिभर करिब डेढ लाख दर्शनार्थी भित्रिने अपेक्षा गरिएको समितिका सचिव तीर्थ श्रेष्ठले बताए। आध्यात्मिक जागरण तथा संस्कृतिको जगेर्ना गर्ने उद्देश्यअनुरुप विभिन्न पर्वको अवसर पारेर विशेष पूजनोत्सव समेत हुँदै आएको छ । श्रावण महिनाभर शिव पुजनोत्सव, गणेश चौथीमा गणेश पुजनोत्सव, श्रीपञ्चमीमा सरस्वती पुजनोत्सव, श्रीकृष्ण जन्माष्टमीमा श्रीकृष्ण जन्मोत्सव, हनुमान जयन्ती, शिवरात्रि जस्ता विशेष कार्यक्रम हुँदै आएको सचिव श्रेष्ठले बताए ।  उनका अनुसार मन्दिर परिसरमा मनोक्रान्ति योग शिविर, कुण्डलिनी जागरण योग शिविर र विभिन्न विषयमा प्रवचन समेत हुँदै आएको छ । ३ सय बर्षको ईतिहास बोकेको विन्ध्यवासिनी मन्दिरमा कास्कीसंगै यस आसपासका जिल्लाहरु तनहु, लमजुङ, स्याङ्जा, पर्वत लगायत काठमाडांै तथा छिमेकी मुलुक भारतबाट समेत दर्शनार्थीहरु आउने गरेका छन् । नवरात्रिभर बिहान साढे ४ बजेदेखि साँझ ८ बजेसम्म मन्दिर दर्शनका लागि खुल्ला राखिने छ । दर्शनार्थीको चापलाई ध्यान दिदै मन्दिर परिसरमा विशेष सुरक्षा प्रबन्ध गरिने र महिला र पुरुषका लागि छुट्टा छुट्टै लाइनमा दर्शनको व्यवस्था मिलाइने श्रेष्ठले जानकारी दिए ।

Post a Comment

 
Top