0
गोल्डेन न्यूज संवाददाता
फ्युचर स्टार युथ क्लबले अमरसिंहचौरमा गरेको प्रथम आमन्त्रित अमरसिंह नकआउट टि २० क्रिकेट कप अन्तर्गत बुधबार ३ खेल सम्पन्न भएका छन् । धवलागिरी क्रिकेट क्लब बागलुङ र होटल सनरुट एन्ड रेस्टुरेन्ट लेकसाइड (स्याङ्जाको प्रतिनिधि टिम) बीच मंगलबार स्थगित भएको खेल बुधबार सम्पन्न भयो । खेलमा धवलागिरीले सनरुटलाई ७५ रनले हरायो । मंगलबार टस एड्भान्टेजका कारण ब्याटिङ रोज्ने अबसर पाएको धवलागिरीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४६ रन जोडेको थियो । १४७ रनको टार्गेट पछ्याएको होटल सनरुटको ८ ओभर बाँकी रहदा मंगलबारको खेल स्थगित भएको थियो । सनरुटले १६ ओभरमा सीमित हुँदै ७१ रनमा समेटियो । उक्त खेलमा धवलागिरीका राजु थापा ३ विकेट लिँदै ३३ बलमा ४३ रनको योगदान दिएर म्यान अफ दि म्याच घोषित भए ।
 
बुधबार नै पहिलो चरणको अन्तिम खेलमा नेपोलियन क्रिकेट क्लब कोहलपुर र भारतको इन्डियन मुराट क्रिकेट क्लब भिडेका छन् । टस हारेर ब्याटिङको निम्तो पाएको कोहलपुरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६५ रन जोडेको थियो । १६६ रनको लक्ष्य पछ्याएको इन्डियन मुराट ९ ओभरमै ७३ रनमा समेटियो । कोहलपुरका मनोज केसीले ह्याट्रिक सहित ७ विकेट लिँदै म्यान अफ दि म्याच चुनिए । उक्त ह्याट्रिक टुर्नामेन्टमा दोस्रो हो । प्रतियोगिता अन्तर्गत बुधबार नै क्वार्टरफाइनलका दुई खेल सम्पन्न भएका छन् । पहिलो खेलमा भैरव इन्टरप्राइजेजले कास्की मोटरसाइकल मेकानिकल एसोसिएशन लाई ११७ रनको फराकिलो अन्तरले पराजित ग¥यो । टस जितेर ब्याटिङ रोजेको भैरवले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २०१ रनको विशाल नतिजा निकालेको थियो । मेकानिकल एसोसिएशन भने १४.४ ओभरमा ८४ रन जोड्दै अलआउट भयो । भैरवका अनिल गुरुङ ४३ बलमा ६४ रनको योगदान गर्दै म्यान अफ दी म्याच चुनिए । क्वार्टरफाइनलको दोस्रो खेल आयोजक फ्युचर स्टार ‘बि’ र धवलागिरी क्रिकेट क्लब बागलुङबीच भयो । उक्त खेलमा धवलागिरी १०३ रनले विजयी भयो । टस जितेर ब्याटिङ रोजेको धवलागिरीले १९.२ ओभरमा अलआउट हँुँदै १५६ रन जोडेको थियो । आयोजक ‘बि’ भने ११.२ ओभरमा ५३ रन जोड्दै अलआउट भयो । धवलागिरीको लागि ४ विकेट लिँदै गणेश केसी म्यान अफ दि म्याच घोषित भए । छक्का प्रहार भएर बाउन्ड्री बाहिर आएको बल एक हातले क्याच गर्ने प्रज्ज्वल दाहाल, जोय शर्मा र लक्ष्मण गोलेले नगद ५–५ सय रुपैयाँ र १–१ वटा रेडबुल उपहार प्राप्त गरे ।
 
प्रतियोगितामा बिहीबार क्वार्टरफाइनलका दुई खेल हुने आयोजक फ्युचर स्टार युथ क्लबका अध्यक्ष सरोज गुरुङले जानकारी दिए । बिहीबार पहिलो खेल आयोजक ‘ए’ र युनाइटेड क्लब पोखराबीच हुने छ । दोस्रो खेलमा बगर क्रिकेट क्लब र नेपोलियन क्रिकेट क्लब कोहलपुर भिड्ने छन् । फ्युचर स्टार युथ क्लबको आयोजनामा आइतबारबाट सुरुभएको प्रतियोगितामा शनिबार सम्पन्न हुने क्लबका सचिव निरञ्जन थापाले जानकारी दिए । प्रतियोगितामा कास्की, स्याङ्जा, बागलुङ, पर्वत, बाँके र भारतको उत्तरप्रदेश सहित १६ टिमको सहभागिता छ । प्रतियोगितामा प्रथम र द्वितीय हुनेले क्रमशः ३२ हजार र १६ हजार रुपैयाँ र शिल्ड, मेडल, प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा बेस्ट ब्याट्सम्यान, बेस्ट बलर र हाइएस्ट ६ लाई ट्रफी प्रदान गरिने छ । म्यान अफ दि टुर्नामेन्टलाई बसन्तपुर पाल्पाका स्व रनबहादुर बस्नेतको स्मृतिमा उनको परिवारले आकर्षक पुरस्कारको व्यवस्था गर्ने बताइएको छ ।




Post a Comment

 
Top