0
भारतको नैनीताल पुगेर सवारीबाट झर्ने वित्तिकै ट्याक्सी चालकहरु लाइन लाग्छन् । त्यस आसपासको दृश्याबलोकन स्थलको फाटो देखाउँदै वर्णन गर्न थाल्छन् । नैनीताल सहित अन्य दृष्याबलोकन स्थल कति छन्, कस्ता छन् र ती स्थल घुम्नको लागि कति समय र पैसा लाग्छ सबै बताउछन् । ती ट्याक्सी चालकले यसरी वर्णन गर्छन् कि त्यहा रहेका सबै स्थल घुमुघुमु लाग्छ । आसपासका दृश्यावलोकन स्थलको तस्वीर सहितको एल्बम बोकेका उनीहरुले घुम्नको लागि लैजान्छन् तर केहि स्थल यस्तो पनि छ जसलाई देखाउदा पर्यटक पनि अचम्मित हुन्छ । पानीनै नभएको स्थललाई ‘सुख्खा ताल’, समान्य भिरको ढिललाई ‘सुसाईड प्वाईन्ट’ को रुपमा दृश्यावलोकन स्थल बनाइएको छ र त्यही पर्यटकलाई भुलाउन खोजिएको छ । हिमश्रृङ्खलालाई नजिकबाट नियालेका र स्पर्श समेत गरेका कतिपय नैनीतालको दृश्यावलोकन स्थलमा पुग्दा दुरविनबाट हिमाल हेर्न समेत पछि पर्दैनन् । बार्षिक करोडांै पर्यटक तान्न सफल नैनीतालमा भारतीयले यसरी पर्यटक भुलाइरहँदा नेपालकै पर्यटकीय राजधानी र देशकै दोस्रो ठूलो ताल फेवातालमा भने आकर्षण बढाउन सकिएको छैन । फेवा सहित वेगनास, रुपा लगायतका–९ ताल छ यहाँ । पातलेछाँगो (डेभिड फल्स), गुप्तेश्वर गुफा, चमेरे गुफा, महेन्द्र गुफा, सेती खोंच, विश्व शान्ति स्तुपा, अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय, सराङ्कोट, तालबाराही मन्दिर, विन्ध्यवासिनी मन्दिर लगायतका थुप्रै पर्यटकीय स्थल पोखरामा पर्यटक भूलाउने ठाँउ हुन् । यी स्थलमा दक्ष जनशक्ति सहित पर्यटकलाई घुमाउने हो भने उनीहरुलाई कम्तिमा पनि तीन दिन सम्म भुलाउन सकिन्छ । पोखरा आइपुग्ने वित्तिकै ट्याक्सी चालकले मनपरी शुल्क लिने, ट्राभल एजेन्सीले दृश्यावलोकन स्थल देखाउने र दुई घण्टामा सबै घुमाएर फर्काउने प्रवृत्तिले पनि पर्यटकको बसाई अवधि लम्ब्याउन नसकिएको स्वयं पर्यटन व्यवसायीनै स्वीकार्छन् । पोखराका ट्याक्सी चालक त के पर्यटक गाईडलाई समेत यस आसपासको दृश्यावलोकन स्थल कति छन् ? घुम्न कति समय लाग्छ र कुन दृष्यावलोकन स्थलको विशेषता के छ भन्न सक्दैनन् । पोखरामा पर्यटक घुमाउने दक्ष टुर गाईड छैनन् । जसको कारण यहा आएका पर्यटकको बसाई अवधि लम्व्याउन र खर्च गर्ने दर बढाउन सकिएको छैन । पोखरामा पहिलोपटक १९९८ मा ४० जना र दोस्रो पटक २००३ मा ५० जना गरी कुल ९० जनाले टुर गाईडको तालिम प्राप्त गरे । तर ती जनशक्ति अहिले पोखरामा छैनन् । उनीहरु अवसरको खोजीमा अन्यत्र पलायन भएका छन् । पोखरा पर्यटन परिषद्ले सिटी टुर गाईडलाई दक्ष बनाउने उद्देश्यले १३ बर्षपछि १० दिने तालिम सुरु गरेको छ । बुधबारबाट सुरु भएको तालिम १० दिनसम्म चल्नेछ । ४१ जना तालिममा सहभागी छन् । सहभागीलाई ८ दिनसम्म सैद्धान्तिक र दुई दिन प्रयोगात्मक सिकाइको लागि पोखरा आसपासका दृश्यावलोकन स्थल लगिने परिषद्का महासचिव रामु गौतमले जानकारी दिए ।
 
पोखरा पर्यटन परिषद्ले नेपाल एकेडेमी आफ टुरिजम एण्ड होटल म्यानेजमेन्टको प्राविधिक सहयोग र पर्यटन बोर्डसँगको साझेदारीमा तालिम संचालन गरेको हो । तालिमको लागि झण्डै १०० जना ईच्छुक देखिएपनि ४१ लाई मात्रै समावेश गरिएको र अन्यका लागि छिट्टै अर्को तालिम सञ्चालन गरिने परिषद्का अध्यक्ष सोम थापाले बताए । परिषद्का सल्लाहकार डम्बर केसीले पोखरामा दक्ष टुर गाईडको आवश्यकता खड्किरहेका बेला आयोजना गरिएको तालिम फलदायी हुने विश्वास ब्यक्त गरे । नेपाल पर्यटन बोर्डका पूर्व केन्द्रीय सदस्य टिकाराम सापकोटाले पर्यटकको बसाई अवधि लम्ब्याउन टुर गाईडको भूमिका महत्वपूर्ण हुने बताए । नेपाल एकेडेमी अफ टुरिजम एण्ड होटल म्यानेजमेन्टका कृष्ण खरेलले आफ्नो संस्थाले अहिलेसम्म ४२ हजार जनशक्ति उत्पादन गरेको बताए । उनका अनुसार यो जनशक्ति मध्ये झण्डै ८५ प्रतिशत अबसरको खोजीमा विदेश पलायन भैसकेका छन् ।  संस्थाले चार हजार राष्ट्रिय स्तरका टुर गाईड र तीन सय सिटी टुर गाईड उत्पादन गरिसकेको उनको दावी छ । तर पोखरामा झण्डै १० जना मात्रै दक्ष टुर गाईड रहेको उनले बताए । देशको कुनैपनि स्थलमा स्थानीय स्तरमा दक्ष टुर गाईड हुने र आएका पर्यटकलाई आवश्यकता अनुसारको जानकारी दिदै घुमाउन सक्ने मात्रै हो भनेपनि पर्यटक आगमन बढाउन, बसाई अवधि लम्ब्याउन र खर्चको दर बढाउन सकिने उनको विश्वास छ । एजेन्सी

Post a Comment

 
Top