0
गोल्डेन न्यूज संवाददाता
विद्यार्थीलाई उचित शिक्षा दिक्षा प्रदान गर्ने र मार्गदर्शन गर्ने क्याम्पस ब्यवस्थापन समितिका अध्यक्षनै जुवाँको खालबाट पक्राउ परे भनेको सुन्दा तपाईलाई कस्तो लाग्ला ? पोखराको नयाँबजारमा रहेको पोखरा बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष विष्णु बाँस्तोला ठूलो रकम सहित जुवाँको खालबाट पक्राउ परेका छन् । पोखरा उपत्यका नगरविकास समितिका पूर्व अध्यक्ष समेत रहेका उनी कांग्रेस नेता पनि हुन् । उनलाई अन्य ७ जना जुवाँडेको साथबाट मंगलवार प्रहरीले पक्राउ गरेको हो । मध्यान्ह पोखरा उद्योग वाणिज्य संघको उम्मेदवारी दर्ता कार्यक्रममा पनि केहिबेर देखिएका उनी त्यहाँबाट सिधै अन्य जुवाँडे जम्मा गरी हेम्जा फेदिमा पुगेका थिए । पोखरा २९ हेम्जा फेदी स्थित मनहरि भण्डारीद्वारा सञ्चालित रेष्टुरेन्टमा जुवा खेल्दै गर्दा उनी सहित ८ जनालाई ४ लाख भन्दा बढी नगद र कौडा खेल्दै गरेको अवस्थामा पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ । कौडा खेलिरहेको गोप्य सूचनाका आधारमा बडा प्रहरी कार्यालय बगरबाट प्रहरी निरीक्षक मोहन बहादुर खाँणको कमाण्डमा खटिएको प्रहरी टोलीले चार लाख ९ हजार २५ रुपैयाँ नगद सहित ८ जनालाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा बाँस्तोला, भण्डारी सहित पोखरा ९ नयाँबजारका ४० बर्षीय महेन्द्र रानामगर, चिप्लेढुंगाका ४२ बर्षीय नवराज थपलिया, पोखरा ३ नदीपुर बस्ने बर्ष ६६ का चिरञ्जिवी गुरुङ, ४४ बर्षीय कमल सापकोटा, पोखरा १४ चाउथे बस्ने बर्ष ४५ का नारायण श्रेष्ठ र गुल्मी माझकोट ६ घर भई हाल पोखरा २ मोहोरिया टोल बस्ने ४० बर्षीय गोपाल पन्थी रहेका छन् । उनीहरु सबैलाई वडा प्रहरी कार्यालय बगरमा राखिएको छ ।

Post a Comment

 
Top