0
लामो समयदेखि बेलायतमा यातनासम्वन्धी मुद्दा खेपिरहेका नेपाली सेनाका महासेनानी कुमार लामाले सफाइ पाएका छन् । दुई ट्रायलपछि यो फैसला आएको हो, जसको लागत एक मिलियन पाउण्ड अर्थात १४ करोड रुपैयाँ भन्दा बढी परेको छ । अदालतले मंगलबार अब तेस्रो ट्रायल नहुने घोषणा गरेको छ । लण्डनस्थित सेन्ट्रल क्रिमिनल कोर्टले कर्णेल लामाका लागि यो अन्तिम सुनुवाइ भएको फैसला सुनाएको छ । साथै उनीविरुद्ध अब बेलायतको अदालतमा अर्को कुनै कार्बाही प्रक्रिया सुरु गरिने छैन । सशस्त्र द्वन्द्वकालमा पक्राउ परेका व्यक्तिलाई यातना दिएको भन्दै लामाविरुद्ध युद्ध अपराधसम्वन्धी मुद्दा लगाइएको थियो । तर, उनले आरोप अस्वीकार गर्दै आएका थिए । अदालतले अन्ततः उनीमाथिको आरोपमा प्रमाणित हुन नसकेको फैसला सुनाएको छ । न्यायाधीश स्वीनीले लामा अब स्वतन्त्र भएको र बेलायतको अदालतमा अर्को कारबाही नहुने बताए । सशस्त्र द्वन्द्वको समय कपिलबस्तुमा पक्राउ परेका जनक राउतलाई यातना दिएको भन्दै उजुरी परेपछि नेपाली सेनाका कर्णेल लामा २०१३ मा बेलायतमा पक्राउ परेका थिए । शान्ति मिसनमा खटिएका उनी बेलायतमा रहेका परिवार भेट्न जाँदा पक्राउ परेका थिए ।




Post a Comment

 
Top