0
गोल्डेन न्यूज संवाददाता
पोखरेली उद्योगी व्यवसायीको छाता संस्था एवं निजी क्षेत्रको पुरानो संस्था पोखरा उद्योग वाणिज्य संघको २५ सदस्यीय कार्यसमितिका लागि ५३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । सोमबार मनोनयन पत्र लिने सबैले मंगलबार उम्मेदवारी दर्ता गराएका हुन् । अध्यक्षका लागि ६ जना प्रतिस्पर्धामा उत्रिएका छन्। वर्तमान कार्यसमितिका प्रथम उपाध्यक्ष देव क्षेत्रीसहित विश्वशंकर पालिखे, हिरा भट्टराई, ईश्वर कर्माचार्य, नारायण कोईराला र धनीराम बरालले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै एक जना वरिष्ठ उपाध्यक्ष पदका लागि दुई जनाले उम्मेदवारी दिएका छन् । वर्तमान कार्यसमितिका द्वितीय उपाध्यक्ष मिनराज काफ्ले र महासचिव रविन्द्र बहादुर प्रजु वरिष्ठ उपाध्यक्ष पदका लागि भिड्ने भएका हुन् । महासचिवमा कांग्रेस कास्कीका कोषाध्यक्ष समेत रहेकी लक्ष्मी पाण्डे र यातायात व्यवसायी दामु अधिकारीबीच प्रतिस्पर्धा हुने भएको छ । उनीहरु दुबैले मंगलवार उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ता गराएपछि महासचिव पदका उम्मेदवार लक्ष्मी पाण्डेले व्यक्तिगत तथा सामुहिक भेटघाटलाई तीव्र बनाएकी छन् ।  उनले मंगलबार पोखरा–१४, चाउथेका उद्योगी तथा व्यवसायीहरुसंग भेटघाट गरिन् भने साँझ आफू निकट केही व्यक्तिहरुसंग छलफल गरेकी थिइन । उनले आफू पोउवासंघको निर्णायक ठाउँमा उम्मेदवारी दिएकाले अध्यक्षका प्रत्यासीहरुलाई पनि मिलाउन प्रयत्न गर्ने बताइन । यस्तै उद्योगतर्फको उपाध्यक्ष का लागि सीता गुरुङ र गोकर्ण कार्की प्रतिस्पर्धामा उत्रिएका छन् । त्यस्तै वाणिज्यतर्फको उपाध्यक्षमा विन्दु कोईराला सुवेदी, केदारनाथ भट्टराई र सुरेश अधिकारी प्रतिस्पर्धी बनेका छन् । कोषाध्यक्षमा पनि दुई जनाले उम्मेदवारी दिएका छन् । जनकराज पराजुली र पवन कुमार प्रजापति कोषाध्यक्ष पदका लागि चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन् । उप–महासचिवमा तीन जनाले उम्मेदवारी दिएका छन् । अर्जुन पोखरेल, नविन बराल र धर्मराज अर्याल प्रतिस्पर्धीको रुपमा अघि सरेका छन् । दुई जना कर्पोरेट सदस्यमा भने दुई वटा मात्रै उम्मेदवारी दर्ता भएपछि निर्विरोध भएको छ । कर्पोरेट सदस्यमा नरेन्द्र बाँस्तोला र कमलबहादुर बस्नेत निर्विरोध भएका हुन् । उद्योगतर्फको एक सदस्यका लागि दुई जनाले मनोनयन दर्ता गराएका छन् । औद्योगिक सदस्यमा मोहनबावु खड्का र हिरामणि पण्डित पनि प्रतिस्पर्धी बनेका छन् ।

खुल्ला १० सदस्य पदमा २१ जनाले उम्मेदवारी दिएका छन् । खुल्ला सदस्यका लागि ६ महिला सहित २१ जना चुनावी मैदानमा उत्रिएका हुन् । चीनु गुरुङ, सीता बराल, गीता तिवारी, कुमारी मुना वास्तोला, गोमा ढकाल, पवित्रा देवी गुरुङ, हरिराज पन्त, हिमालय बख्रेल, बलराम आचार्य, यदुनाथ अधिकारी, प्रेम प्रसाद पौडेल, देव कृष्ण काफ्ले, किसान सुनार, प्रेम वहादुर भूजेल, सुरेन्द्रमान बिजुक्छे, महेश्वर पोखरेल, अनिल सिग्देल, कृष्ण रानाभाट, नवराज त्रिपाठी, गिरीधारी शर्मा, अर्जुन खनालले खुल्ला सदस्य पदको मनोनयन पत्र लिएका छन् । चार वस्तुगत सदस्यका लागि ८ जनाले उमेदवारी दिएका छन् । नारायण प्रसाद पौडेल, गिरीधारी अधिकारी, डिवी भूजेल, यामनाथ पौडेल, तारानाथ ढुङ्गाना, केपी शर्मा, यामनाथ तिमिल्सिना र माधवप्रसाद पौडेलले वस्तुगत सदस्यमा प्रतिस्पर्धा गर्ने भएका छन् । दर्ता गरिएको उम्मेदवारी उपर दावी विरोधका लागि बुधवार बिहान ११ बजेदेखि अपरान्ह २ बजेसम्मको समय तोकिएको निर्वाचन समितिले जनाएको छ । उम्मेदवारी उपरको दावी विरोधको छानविन पनि सोही दिन सम्पन्न गरी अपरान्ह ५ बजे उम्मेदवारको नामावली सार्वजनिक हुनेछ । बिहीवार बिहान ११ बजेदेखि ४ बजेसम्म उम्मेदवारी फिर्ताको समय तोकिएको छ भने सोही दिन ५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ । भदौ २५ गते उम्मेदवारको परिचय कार्यक्रम सम्पन्न भएपछि भदौ ३१ गते ३१औँ महाधिवेशन सुरु हुनेछ । नयाँ कार्यसमितिका लागि मतदान असोज १ गते बिहान ८ बजेबाट अपरान्ह ४ बजेसम्म हुनेछ ।  संघको विधान २०६५ को पहिलो संशोधन २०७२ का अनुसार अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष (उद्योग), उपाध्यक्ष (वाणिज्य), महासचिव, कोषाध्यक्ष, उप–महासचिवसहितको २५ सदस्यीय कार्यसमिति निर्वाचित हुनेछन् । कार्यसमिति सदस्यको हकमा साधारण सदस्यहरुले साधारणतर्फ बाट १० जना, कर्पोरेट सदस्यहरुको हकमा २ जना, वस्तुगत संघहरुबाट ४ जना र औद्योगिक सदस्यमध्ये बाट १ जना निर्वाचित हुने ब्यवस्था छ । विधानले अध्यक्षलाई ४ जना सदस्य मनोनित गर्ने अधिकार प्रत्याभूत गरेकोले संघको कार्यसमिति भने २९ सदस्यीय हुनेछ । यसैबीच भदौ ३१ देखि सुरु हुने संघको ३१औं महाधिवेशन अन्तर्गत नेतृत्व हत्याउन आधा दर्जन उम्मेदवार मैदानमा ओर्लिएका छन् । मंगलबार बिहान ११ बजेदेखि सुरु हुने दर्ता कार्यक्रम अन्तर्गत निर्वाचन समिति साढे १० बजेदेखिनै तयारी अवस्थामा थियो । उम्मेदवारहरु एकपछि अर्को गर्दै मनोनयन दर्ता गर्न आइपुगेका थिए ।  अध्यक्षको प्रत्यासी ईश्वर कर्माचार्य सबैभन्दा पहिले मनोनयन दर्ता गराउन पुगे । उनले सोमबार मनोनयन पत्र पनि अन्य प्रत्यासी भन्दा पहिल्यै लिएका थिए । उनी उम्मेदवारी दर्ता गराउन आउँदा उनको अगाडि–पछाडि कोही पनि शुभेच्छुक र शुभचिन्तक थिएनन् । ब्यक्तिगतरुपमा एक्लै आएर उम्मेदवारी दर्ता गराए र भोट माग्न बजारतिर हिंडे । त्यसको केहीछिनपछि महासचिवका प्रत्यासी दामु अधिकारी यातायात ब्यवसायीको साथमा ब्यानर र दलवलसहित उपस्थित भए।

यस्तै अध्यक्षका प्रत्यासी देव क्षेत्रीले पनि आफ्नो प्यानलसहित ब्यानर बोकेर दलवलको साथमा उम्मेदवारी दर्ता गराए। उनी न्यूरोडदेखि पोउवासंघको कार्यालय गैह्रापाटनसम्म आफ्ना समर्थकसहित ¥यालीमा निस्किएपछि संघको चुनावी माहौल केहि तातो भएजस्तो महसूस हुन्थ्यो । क्षेत्रीको प्यानलमा वरिष्ठ उपाध्यक्षमा मिनराज काफ्ले, महासचिवमा लक्ष्मी पाण्डे, उद्योग तर्फको उपाध्यक्षमा सीता गुरुङ, वाणिज्यतर्फको उपाध्यक्षमा सुरेश अधिकारी, कोषाध्यक्षमा जनकराज पराजुली र उप–महासचिवमा अर्जुन पोखरेल छन्। त्यस्तै सदस्यहरुमा हरिराज पन्त, चिनु गुरुङ, गोमा ढकाल, कुमारी मुना बाँस्तोला, हिमालय बख्रेल, नवराज त्रिपाठी, बलराम आचार्य, गिरीधारी शर्मा, अर्जुन खनाल र महेश्वर पोखरेल छन् । क्षेत्रीको यो समूह मध्येका केहि पदाधिकारी र सदस्य बाहेक अधिकांश उम्मेदवारी दर्ताका लागि मंगलबार न्यूरोडमा भेला भई एकसाथ संघको सचिवालय पुगेका थिए।  महासचिवको चर्चामा रहेका प्रकाशदेव पालिखे पछिहटेपछि अन्तिम समयमा लक्ष्मी पाण्डेले उम्मेदवारी दिएर क्षेत्री प्यानललाई पूर्णता दिएकी हुन् । स्रोतका अनुसार माओवादी केन्द्र समर्थित तीन जना उम्मेदवार क्षेत्री समूहमा संलग्न छन् । कांग्रेस र माओवादी केन्द्र दुई पार्टीको जिल्लातहमा बनेको योजना अनुसार यो प्यानल तयार भएको बताइन्छ । यो प्यानललाई बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालको पनि समर्थन रहेको बताइन्छ । नेपाली कांग्रेस कास्कीले अध्यक्षमा क्षेत्रीलाई पूर्ण समर्थन गर्दै पार्टीको जिल्ला कोषाध्यक्ष पाण्डेलाई सोहि प्यानलको महासचिवमा उम्मेदवार बनाएको थियो ।

महासचिवमा लक्ष्मी पाण्डेले आकस्मिकरुपमा उम्मेदवारी दिएपछि अध्यक्षका केही प्रत्यासी र निर्विरोध हुने आशा पालेका महासचिव पदका प्रत्यासी उम्मेदवार दामु अधिकारी केही तनावमा रहेको बताइन्छ । कांग्रेस निकट केही समर्थकहरुले भने कांग्रेसले बल्ल सही निर्णय गरेको भन्दै खुशी प्रकट गरेका छन् । कांग्रेस निकट एक व्यक्तिले गोल्डेन न्यूज दैनिकसंग भने–‘यतिबेला कांग्रेसले सही निर्णय लिएको छ, आफ्ना छाडा कार्यकर्तालाई लाइनमा ल्याउन समेत यस निर्णय महत्वपूर्ण हो । आफू निकटहरुलाई मिलाउन कांग्रेस अझै महत्वपूर्ण भूमिका खेल्न जरुरी छ ।’ कांग्रेस, माओवादी केन्द्र र नयाँशक्तिको समिकरणमा बनेको क्षेत्री समूह अहिलेसम्मको मजवुद समूह भएको बताइन्छ । पछिल्लो समय अध्यक्षका अर्का प्रत्यासी विश्वशंकर पालिखेको प्यानल बन्ने निश्चित जस्तै भएपनि अन्तिम समयमा प्यानल बन्न नसकेको बताइन्छ। स्रोतका अनुसार सोमबार लक्ष्मी पाण्डेले महासचिवमा उम्मेदवारी दिएपछि यसअघि एमालेसँग भएको समझदारीमा खटपट भएको छ । पाण्डेले उम्मेदवारी दिने भएपछि सोमबार साँझ एमाले कास्कीका उच्च नेतासहित बसेको बैंठकले आफ्नो पार्टी निकट महासचिवका उम्मेदवार दामु अधिकारीलाई जिताउने आधार खोजेको थियो । विश्वशंकर पालिखेले यसअघि महासचिवको बलियो दावेदार मानिएका प्रकाशदेव पालिखेलाई पछि हटाउन सहयोग गर्ने र महासचिवमा अधिकारीलाई अघि सार्दै अध्यक्षमा एमालेको समर्थन जुटाउन प्रयास गरेको स्रोत बताउँछ । उनको यो प्रयास र प्यानल पाण्डेको उम्मेदवारी सँगै भत्किएपछि एमाले कास्कीले पुनः समिकरण फेरवदलको प्रयास गरेको बुझिएको छ । उम्मेदवारी दर्ता गराउन देव क्षेत्रीपछि अध्यक्षको अर्का प्रत्यासी विश्वशंकर पालिखे एक्लै आएर उम्मेदवारी दर्ता गराए । क्षेत्री र पालिखे एकछिन सँगै बसेर भलाकुसारी गरे भने अंगालो हाल्दै फोटोसमेत खिचाए ।  अध्यक्षका अर्का आकांक्षी नारायण कोइराला पनि दलबलसहित उपस्थित भएका थिए । हिरा भट्टराई केहि महिला उद्यमीको साथमा उम्मेदवारी दर्ता गराउन पुगेकी थिइन् भने धनिराम बराल एक्लै गए र उम्मेदवारी दर्ता गराएर हिंडे । दलवलसहित उम्मेदवारी दर्ता स्थलमा पुग्नेमा वरिष्ठ उपाध्यक्षका प्रत्यासी रविन्द्र बहादुर प्रजु र कोषाध्यक्षका प्रत्यासी पवन कुमार प्रजापति पनि थिए । वाणिज्यतर्फको उपाध्यक्षमा अघि सरेका सुरेश अधिकारी पनि समर्थक सहित ब्यानर बोकेर संघको कार्यालय अघि पुगेका थिए । उनको साथमा सदस्य पदका उम्मेदवार हरिराज पन्त पनि सामेल थिए । अधिकारी अधिकृत विक्रेता संघका अध्यक्ष हुन् भने पन्त वरिष्ठ उपाध्यक्ष हुन् । २५ सदस्यीय कार्यासमितिको लागि उम्मेदवारी दिन उपस्थित भएका ५३ जना कोही व्यक्तिगत रुपमा आए उम्मेदवारी दर्ता गराए र फर्किए भने कोहि दलबल सहित आएर र एकछिन चुनावी रौनक छरेर भोटको बोट फलाउनतिर लागे । अध्यक्षमा आकांक्षीको संख्या बढि भएपछि अन्य उम्मेदवार अन्योलमा छन् । 





Post a Comment

 
Top