0
गोल्डेन न्यूज संवाददाता
पोखरामा स्थापना भएको हेम– देवी धर्म, संस्कृति तथा समाजसेवा पुरस्कारबाट संस्कृति शिरोमणि सत्यमोहन जोशी सम्मानित भएका छन् । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका संस्थापक अध्यक्ष हेमबहादुर प्रधानद्वारा स्थापित र समितिबाट सञ्चालित पुरस्कारबाट जोशीलाई राष्ट्रपति विद्यादेवी भण्डारी सम्मान गरेकी हुन् । नगद एक लाख एक हजार रुपैयाँ, दोसल्ला र सम्मानपत्रले राष्ट्रिपति भण्डारीले सम्मान गरेकी हुन् । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले सञ्चालन गरेको पुरस्कार पहिलो पटक वितरण गरेको हो । धर्म संस्कृति र समाजसेवाको क्षेत्रमा उल्लेखनीय योगदान दिएको भन्दै उनलाई सम्मान गरेको विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष गणेशबहादुर श्रेष्ठले बताए । ब्यक्ति वा संस्थालाई प्रत्येक दुई बर्षमा प्रदान गर्ने गरी पुरस्कार स्थापना गरेको उनले बताए । सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले विन्ध्यवासिनी मन्दिरलाई गुरु योजना बनाई विकास गर्नुपर्नेमा जोड दिइन । उनले सस्कृतिको संरक्षण गर्दै अगाडि बढ्न सकेमा स्वादेशी तथा विदेशी पर्यटक भित्र्याउन सकिने स्पष्ट पारिन् । समितिले धार्मिक एवं संस्कृतिको संरक्षणमा अझ लाग्नुपर्ने भन्दै राष्ट्रपति भण्डारीले पोखरेलीले पोखरालाई धार्मिक पर्यटक आकर्षण गर्नतर्फ अग्रसर हुनुपर्नेमा जोड दिइन ।
 
प्राकृतिक हिसावले मनोरम हिमश्रृङ्खला तथा तालहरु भएको भएतापनि पोखराको बीचमा रहेको बिन्ध्यवासिनी मन्दिरमा पर्यटकहरुलाई आकर्षण गराउन सके आन्तरिक तथा बाह्य धार्मिक पर्यटकको गन्तब्य स्थल बन्न सक्ने उनको भनाइ रहेको थियो । राष्ट्रपति भण्डारीले सताब्दियौं पुरानो बिन्ध्यवासिनी मन्दिरको आफ्नै महिमा रहेको र त्यसलाई विश्वमान चित्रमा फैल्याउन सकेको खण्डमा यहा आउने धार्मिक पर्यटकमा वृद्धि भएर जाने उनको भनाइ रहेको थियो । उनले मन्दिरको आर्थिक हिसावलाई सत्य–तथ्य रुपमा उजागर गर्न सकेको खण्डमा समाजले धार्मिक स्थललाई हेर्ने नकारात्मक दृष्टिकोण हटेर जाने उनको भनाइ रहेको थियो । समारोहमा विन्ध्यवासिनी क्षेत्रमा पुगेकी राष्ट्रपति भण्डारीले बिन्ध्यवासिनी मन्दिर संगै गणेश र शिव मन्दिरमा पूजा समेत गरेकी थिइन । कार्यक्रममा बोल्दै सत्यमोहन जोशीले २००१ सालमा तनहँु, कास्की र स्याङ्जामा काम गरेको स्मरण गर्दै त्यही ठाउँमा सम्मानित हुँदा खुशी लागेको बताए । उनले पहिले र अहिले हेर्दा धेरै परिर्वतन पाएको बताए । उनले पोखरा एकै दिनमा बनेको शहर नभएको भन्दै ठूलो मिहिनेले बनेको शहर भएको बताए । उनले धर्म र संस्कृतिको संरक्षण गर्दै अगाडि बढे कै ले पोखरा सहर अहिले राम्रो सहर भएको बताए । सांस्कृतिक विविधताले नै नेपालको राष्ट्रियता बलियो हुने भन्दै उनले राजनीतिक परिर्वतन भए पनि सांस्कृतिकलाई संरक्षण गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए । कार्यक्रममा समितिको सचिब तीर्थ श्रेष्ठ, पुरस्कार स्थापना गर्ने हेमबहादुर प्रधान, सदस्य कृष्णमोहन श्रेष्ठ लगायतले पुरस्कार स्थापनाका बारेमा जानकारी दिएका थिए । समितिका अध्यक्ष गणेश बहादुर श्रेष्ठको संयोजकत्वमा गठिन समितिले जोशीलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको थियो । पुरस्कारको लागि १५ लाख रुपैयाँको अक्षयकोष खडा गरि सञ्चालन गरेको हो । यसैबीच राष्ट्रपति भण्डारीले बिहीबार नै पोखराको फेवातालमा जलकुम्भी हटाउने कार्यको सुरुवात गरेकी छन् । उनले फेवाताल सफाइ अभियानको छैटौं श्रृङ्खलाको उद्घाटन गरेकी हुन् । कार्यक्रममा नागरिक समाजका संयोजक रामबहादुर पौडेलले फेवातालको अतिक्रमणको चपेटामा परेको भन्दै संरक्षणका लागि राष्ट्रपतिलाई पहल गर्न अनुरोध गरे । राष्ट्रपति भण्डारी बिहीबार नै पोखराबाट गोर्खाको मनकामना मन्दिरको पुनर्निर्माणका शिलन्यास गरेर काठमाडांै फर्किएकी छन् ।

Post a Comment

 
Top