0
पोखरा १ असोज ।
पोखरा उप–महानगरपालिका वडा नं. ७, रत्नचोकमा रहेको सवलाइम उच्च माविमा चिनियाँ सांस्कृतिक कार्यक्रम सम्पन्न भयो । नेपाल र चाइनाबीच संस्कृति आदान–प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको विद्यालयले जनाएको छ । उक्त अवसरमा विद्यालयका विद्यार्थीहरुले चिनियाँ संस्कृति झल्कने गीत र नृत्य प्रस्तुत गरेका थिए । सवलाइममा विगत ६ वर्षदेखि चिनियाँ भाषा र संस्कृति सम्बन्धी पढाइ हुँदै आएको विद्यालयका उच्च मावि को–आर्डिनेटर पुष्पराज पराजुलीले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिए । उनका अनुसार कक्षा ४ देखि ८ सम्मका विद्यार्थीका लागि चिनियाँ शिक्षकले नै साताको २ दिन चिनियाँ भाषा र संस्कृति सम्बन्धी प्रशिक्षण दिंदै आएका छन् ।  कार्यक्रममा बोल्दै विद्यालयका प्राचार्य युवराज पराजुलीले चीन–नेपाल बीचको भाषा र संस्कृति आदान–प्रदान हुन सके निकै फाइदा पुग्ने भएकाले सवलाइम उच्च माविमा चिनियाँ भाषाको पढाइ संचालन गरेको र विद्यार्थीको पनि यसमा निकै रुचि बढेको बताए। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लिलाधर पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा  विद्यालयका उच्च मावि संयोजक पुष्पराज पराजुलीले विद्यार्थीहरुलाई सानैदेखि चिनियाँ भाषा र संस्कृति सम्बन्धी प्रशिक्षण दिन थालेपछि विद्यार्थीको निक्कै प्रगति भएको बताए । कार्यक्रमको संचालन विद्यार्थीद्वय राजन कार्की र रक्षा पौडेलले गरेका थिए ।

Post a Comment

 
Top