0
गोल्डेन न्यूज संवाददाता
कास्कीको घान्द्रुक गाविसले सार्वजनिक सुनुवाई गरेको छ । गाविसले नागरिकलाई प्रदान गरेको सेवा प्रवाह र विकास निर्माणको बिषयमा जानकारी दिने उद्देश्यले कार्यक्रम गरिएको हो । कार्यक्रमका सहभागीहरुले गाविसमा निर्माणाधीन सडक निर्माणका लागि एकजुट हुनुपर्ने बताए ।  लामो समयदेखि गाविस सीमानासम्म सडक पुगेपछि केन्द्रसम्म पुग्न सकेको छैन । आपसमा विवाद भएकै कारण सडक निर्माण हुन नसकेको भन्दै उनीहरुले चालू बर्षभित्रै प्राथमिकताका साथ काम गर्नुपर्ने बताए । बैंकमार्फत हुने सामाजिक सुरक्षा भत्ता बितरणलाई सहज बनाउनुपर्नेमा उनीहरुको जोड छ । स्थानीय उज्वल गुरुङले बैंकमार्फत भत्ता वितरण गर्दा सर्वसाधारणले दुख पाउने भएकाले सहज बनाईदिन आग्रह गरे । खाता खोल्दा त यति धेरै समस्या भोग्नुपरेको छ, उनले भने–पहिले घरघरमा सचिवले भत्ता पु¥याईदिन्थे, अहिले बैंकसम्म पुग्न सहज छैन । भौगोलिक विकटताका कारण घान्द्रुकलाई छुट्टै ब्यवस्था गर्नुपर्ने अर्का स्थानीय जगन बहादुर गुरुङले बताए । स्थानीयहरुले गाविस र जिविस बीच समन्वय कम भएका कारण विकास बजेट फ्रिज हुने अवस्था भएको भन्दै आगामी दिनमा समन्वयलाई बढाउनुपर्ने सुझाव दिए । सिवैं–घान्द्रुक मोटरबाटोका अध्यक्ष ध्रुव घलेले जिविसले गाविस तहमा सञ्चालन गर्ने कार्यक्रमका बिषयमा जानकारी नदिँदा समस्या भएको बताए ।  जिविसबाट कुन योजना परेको छ हामीलाई जानकारी हुँदैन, उनले भने–आर्थिक बर्षको अन्त्यमा बजेट सँगै जानकारी हुन्छ, कसरी कार्यान्वयन गर्ने ? गुनासोको सुनुवाई गर्दै गाविस सचिव अर्जुन प्रसाद भण्डारीले गाविस र जिविस बीच दुरी नभएको भन्दै आगामी दिनमा अझै थप समन्वय गर्ने प्रतिबद्धता जनाए। हालसम्म सूचनाकै कारण कुनै पनि योजना फर्किएको छैन, उनी भन्छन्–समयमै सूचना लिएर गाविस तहमा प्रचार गर्नेछौं ।  यस्तै सामाजिक सुरक्षा भत्ता वितरणका लागि पनि गाविस तहमै बैंकका कर्मचारीलाई बोलाएर वितरणको ब्यवस्था मिलाउने जानकारी दिए । यस बिषयमा बैंकले पनि प्रतिबद्धता जनाईसकेको छ, उनले भने–पछि केही समस्या भयो भने हामी समन्वय गर्नेछौं ।  सहभागीहरुले एक्यापको बिषयमा समेत गुनासो गरेका थिए । एक्याप क्षेत्रमा पशुपंक्षी संरक्षण भएपनि किसानहरु मर्कामा परेको उनीहरुको गुनासो छ । यस्तै जतिसक्दो छिट्टो एक्यापलाई समूदायमा हस्तान्तरण गर्नुपर्ने उनीहरुको भनाई छ ।  राष्ट्रिय निकुञ्जमा लैजाने स्थानीय तहमा चर्चा भैरहेका बेला उनीहरुले परिषद्मा परिणत गर्नुपर्ने सुझाव दिए । एक्याप घान्द्रुकका प्रतिनिधि आनन्द सुवेदीले जनताको चाहना अनुसार नै एक्यापले परियोजना छोड्ने तयारी गरिरहेको जानकारी दिए ।  पत्रकार प्रकाश ढकालले सहजीकरण गरेको कार्यक्रममा नेकपा माओबादी केन्द्रका केन्द्रीय आयोजक समिति सदस्य धर्म गुरुङ, नेपाली काँग्रेस गाउँ सभापतिललितमान गुरुङ, एमाले अध्यक्ष क्षेत्र बहादुर गुरुङ, माओबादी केन्द्रका प्रतिनिधि चक बहादुर गुरुङ, राप्रपा नेपालका गाउँ अध्यक्ष जगन बहादुर गुरुङ लगायतले अहिले देखिएका केही कमजोरीलाई सुधार गर्न सहयोग गर्ने प्रतिबद्धता जनाए ।



Post a Comment

 
Top