0
गोल्डेन न्यूज संवाददाता
युवा गीतकार टीएन रेग्मीको गीति एल्बम ’मर्यादा’ बजारमा आएकोे छ । स्याङ्जा जिल्लामा जन्मिएका रेग्मी विगत एक दशकदेखि राजधानीमा रही साहित्य र सञ्चारकर्ममा सक्रिय हँुदै आएका उनको मर्यादा गीति एल्बम विन्ध्यवासिनी म्युजिक प्रालिले बजारमा ल्याएको हो । उक्त गीति एल्बममा प्रकाश नेपालीले संगीत भरेका छन् । एल्बममा समावेश ६ वटा गीतहरु रीमा गुरुङ, जुनु रिजाल, सुमिना लो, शिव परियार, विश्व नेपाली र मदन सेन्चुरीद्वारा स्वरबद्ध गरिएको छ । यस एल्बमका रहेका दुईवटा गीतको म्युजिक भिडियो तयार भइसकेको छ । भिडियोमा रिश्ता बस्नेत, अमृत रिमाल, किरण बराल, सुनिल कटुवाल, दिनेश केसी र सम्झना केसीले अभिनय गरेका छन् । कार्यक्रममा ’यादै नआए तिम्रो’ शीर्षकको गीतको म्युजिक भिडियो समेत सार्वजनिक गरिएको थियो । विश्व नेपालीको स्वरमा रहेको ’माया मैले तिमीलाई’ बोलको गीतको भिडियो यसअघि सार्वजनिक भइसकेको छ । यसैबीच हालै राजधानीको प्रज्ञा प्रतिष्ठानमा आयोजित एक कार्यक्रममा उक्त गीति एल्बम सार्वजनिक गरिएको हो ।  कार्यक्रमलाई सम्बोधन गर्दै गीतकार रेग्मीले मर्यादा गीति एल्बम यात्राको क्रममा भेटिएको पहिलो देउराली भएको बताएका छन् । नेपाली गीतसंगीतमा हुनुपर्ने एकमात्रै गुण नेपालीपन भएको उल्लेख गर्दै उनले पछिल्लो समयमा संगीतकर्मीहरु केवल चर्चाको लागि अस्वस्थ प्रतिस्पर्धा गर्ने र अनेक हर्कतमा लागेकामा गहिरो असन्तुष्टि व्यक्त गरे । डिजिटल प्रविधिले नेपाली गीतसंगीतको बजारमा नकारात्मक प्रभाव परेकोमा चिन्ता व्यक्त गर्दै रेग्मीले भने,–“सूचना प्रविधिको प्रयोगले खसी र काउलीको बजार बढ्छ तर गीतसंगीतको किन बढ्दैन ? यो स्वाभाविक होइन । यहाँ केही गडबड छ । सचेतना अभियान नेपालका उपाध्यक्ष कुमार अधिकारी र गीतकार विपिन किरणले कार्यक्रमलाई सम्बोधन गर्दै एल्बमको सफलताको शुभकामना व्यक्त गरेका थिए । गीतकार किरणले यसप्रकारका कृतिले गीतसंगीतको विकासमा टेवा पु¥याउने बताए । वरिष्ठ संगीतकार राजु सिंहले मर्यादा एल्बमको संगीत पक्षको समीक्षा गरेका थिए । सिंहले मर्यादा एल्बममा गीत, संगीत र गायनको उत्कृष्ट संयोजन भएको धारणा व्यक्त गरे । कार्यक्रमका प्रमुख अतिथि प्रा.डा. कृष्णहरि बरालले मर्यादा एल्बमका सर्जक रेग्मी साहित्य सिर्जनामा नयाँ नभएर संगीत क्षेत्रमा मात्रै नयाँ भएको बताए । मर्यादा एल्बममा समावेश गीतमा स्थानीयताको चित्रण, जीवन दर्शन र भोगाइका सवालहरुको उत्कृष्ट संयोजन भएको बरालको भनाइ थियो । संगीतकारले विभिन्न विषयमा रचिएका गीतमा सोही अनुरुपको संगीत भरेको तथा एरेन्ज र स्वरसमेत गीतको मर्मसँग मिल्दो भएको बरालले बताए। शब्द, भाव, गायन र प्राविधिक पक्ष हरेक हिसाबले मर्यादा एल्बम उत्कृष्ट कृति भएको बरालको धारणा थियो । कार्यक्रमका अध्यक्ष विन्ध्यवासिनी म्युजिक प्रालिका प्रबन्ध निर्देशक सुवास रेग्मीले गीतसंगीतका लागि डिजिटल प्रविधि आफैमा चुनौती नभएर व्यवसायीहरुको सोच र क्षमतासँग जोडिएको विषय भएको बताए । निर्देशक रेग्मीले संगीत व्यवसायीहरुले डिजिटल व्यापारको रोयल्टी संकलन समेत गर्न नसक्ने अवस्था रहेको उल्लेख गरे । संगीत व्यवसायीहरुमा खुला, व्यावसायिक सोचको अभाव भएको उनको धारणा थियो । सबैजना आफ्नै झोली भर्ने कार्यमा लागेकाले संगीत क्षेत्रमा भद्रगोल देखिएको रेग्मीको भनाइ थियो । कार्यक्रममा मर्यादा एल्बम तयार पार्न योगदान गर्ने कलाकार तथा विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको थियो । रबिन्द्र सुवेदीले सञ्चालन गरेको उक्त कार्यक्रममा संगीतक्षेत्रका संघसंस्थाका प्रतिनिधि, सञ्चारकर्मी र सहभागीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।





Post a Comment

 
Top