0
नेपाल किड्नी फाउन्डेशन र ब्रिज अफ लाइफ डाभिटा भिलेज ट्रस्टको आयोजनामा सोमबार पोखरामा बृहत निःशुल्क मृगौला परीक्षण शिविर, ल्याब टेस्ट तथा औषधि वितरण सम्पन भएको छ । शिविरमा ७ सय ५२ जनाले परीक्षण गराएको कार्यक्रम संयोजक  लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ बी वान जोन ३३ का चियरपर्सन मिलन थापाले जानकारी दिइन । जोन ३३ अन्तर्गतका क्लबहरु लायन्स क्लब अफ पोखरा सेती गण्डकी, लायन्स क्लब अफ पोखरा चौतारी, लायन्स क्लब अफ पोखरा टुरिजम सिटी र लायन्स क्लब अफ पोखरा स्टकको स्थानीय ब्यवस्थापनमा बृहत निःशुल्क शिविर भएको हो ।
शिविरमा नेपाल किड्नी फाउन्डेसनका मृगौला विशेषज्ञ डा. शक्ति बस्नेतको नेतृत्वमा १४ जनाको प्राविधिक टोली खटिएका थिए भने ब्रिज अफ लाइफ डाभिटा भिलेज अमेरिकाबाट मृगौला विशेषज्ञ डा.जोन बाल, डा. नासिर, ग्लोरिया अपचर्च, क्याटी चान्लरले सेवा प्रदान गरेका थिए । बिहान ९ बजेदेखि शुरु भएको कार्यक्रमको उद्घाटन गर्दै लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ बी वानका गर्भनर बालकृष्ण बुर्लाकोटीले कार्यक्रममा पर्वतका एकै घरका ५ मृगौला पीडित परिवारका लागि उठेको ३० हजार रुपैयाँ हस्तान्तरण गरेका थिए । पीडितका लागि निर्वतमान गर्भनर ध्रुबबहादुर थापाले १० हजार रुपैयाँ, लायन्स क्लब अफ पोखरा सेती गण्डकीबाट १५ हजार रुपैयाँ, लायन्स क्लब अफ पोखरा टुरिजम सिटीका निर्देशक अर्जुन केसीबाट ३ हजार रुपैयाँ, पोखरा फाइनान्सका प्रमुख कार्यकारी अधिकृत राजकुमार गुरुङ्गले १ हजार रुपैयाँ तथा लायन्स पिस पोस्टर कमिटी चेयरपर्सन सूर्यनाथ कोइरालाले १ हजार रुपैयाँ प्रदान गरेका थिए ।
यसैबीच अर्का मृगौला पीडित घनश्याम बरालका लागि निर्वतमान गर्भनर ध्रुबबहादुर थापाले १९ हजार रुपैयाँ प्रदान गरेका छन् । उनले यसअघि चौथो कन्भेन्सनमा बराललाई ब्यक्तिगत २५ हजार रुपैयाँ प्रदान गरेका थिए । उक्त रकम चौंथो कन्भेन्सन उद्योगपति बिनोद चौधरीको आत्मकथा बिक्रीबाट नाफा रकम प्रदान गरिएको थापाले बताए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ बी वानका गर्भनर बालकृष्ण बुर्लाकोटीले लायन्सको मूल मर्म नै सेवाभाव भएकोले स्वास्थ्य सेवाका लागि शिविर राखेर राम्रो कार्य गरेको भनि प्रशंसा गरे । नेपाल किड्नी फाउन्डेशनका अध्यक्ष डा. शक्ति बस्नेतले मृगौला रोगका लक्षण, बच्ने उपाय, तथा दैनिकीमा ध्यान दिन पर्ने विषयका बारेमा बोलेका थिए । शिविरमा ६ जना नयाँ मृगौला पीडित फेला परेको डा.बस्नेतले जानकारी दिए ।
स्थानीय ब्यवस्थापन संयोजक  मिलन थापाको अध्यक्षतामा भएको कार्यक्रममा लायन्स क्लब अफ पोखरा चौतारीका अध्यक्ष बिश्व बिजुक्छेले धन्यवाद, लायन्स क्लब अफ पोखरा स्टकका प्रथम उपाध्यक्ष गोकुल रिमालले ध्वजाको अभिवादन तथा लायन्स क्लब अफ पोखरा टुरिजम सिटीका सचिव सञ्जयकुमार मल्लले सञ्चालन गरेका थिए ।

Post a Comment

 
Top