0
गोल्डेन न्यूज संवाददाता
एविसी टेलिभिजनका पोखरा ब्यूरो प्रमुख एम बी आस्था सहारा खेलकुद पत्रकारिता पुरस्कारबाट सम्मानित हुनुभएको छ । विहिवार सहारा क्लबको १८ औं बार्षिकोत्सब तथा साधारणसभाको अबसरमा उनलाई पुरस्कार प्रदान गरिएको हो । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ र सहारा क्लबका अध्यक्ष विरभद्र आचार्यले उनलाई नगद १५ हजार ५५५ रुपैयाँ, दोसल्ला र सम्मानपत्रले पुरस्कृत गरे । अग्रज पत्रकार एबं क्लबका सल्लाहकार नारायण कार्की संयोजकत्वको प्रतिभा छनौट समितिको सिफारिसको आधारमा उहालाई सम्मान गरिएको हो । आस्था स्थापना कालदेखि एविसी टेलिभिजनमा आबद्ध हुनुहुन्छ भने पोखराको पत्रकारितामा विगत डेढ दशकदेखि क्रियाशिल हुनुहुन्छ । सहारा क्लब पोखराले स्थापना गरेको सहारा खेलकुद पत्रकारिता पुरस्कारबाट यसअघि १० जना पुरस्कृत भैसकेका छन् । २०६३ सालमा स्थापित सहारा खेलकुद पत्रकारिता पुरस्कारबाट यसअघि कुलचन्द्र न्यौपाने, धन बस्नेत, विनोद लामिछाने, प्रेम नारायण न्यौपाने, राम गुरुङ्ग, दीननाथ बराल, प्रदिप पौडेल, एकराज गिरी, सागरराज तिमिल्सिना, कृष्णमणि बराल सम्मानित भैसकेका छन् । कास्की जिल्लालाई कार्यक्षेत्र बनाई कम्तिमा ५ बर्ष निरन्तर पत्रकारिता पेशामा आबद्ध र खेलकुद पत्रकारितालाई उच्च प्राथमिकता प्रदान गर्ने पत्रकार मध्येबाट एक जनालाई बार्षिकोत्सबको अबसरमा क्लबले पुरस्कार प्रदान गर्दै आएको छ ।  त्यस्तै क्लबले बार्षिकोत्सबको अबसरमा सहारा उत्कृष्ट पुरस्कारबाट संस्थाका साधारण सदस्य सुनिता गुरुङ्गलाई सम्मान गरेको छ । कार्यक्रममा क्लबले सञ्चालन गरेको सहारा फुटवल एकेडेमीमा रहेका ६ जना वालकलाई पढाईमाम उत्कृष्टता हासिल गरेवापत सम्मान गरिएको थियो । क्लबले सहारा निमावी सञ्चालनको सहयोगार्थ ५१ हजार ५१ रुपैया समेत हस्तान्तरण गरेको छ ।

Post a Comment

 
Top