0
गोल्डेन न्यूज संवाददाता
३७औं राष्ट्रिय शिक्षा दिवस २०७३ तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा कास्की जिल्लामा शिक्षा क्षेत्रमा प्रशंसनीय काम गरेका शिक्षक र विद्यार्थी र विद्यालयहरुलाई सम्मान तथा पदक प्रदान गरिएको छ । गतवर्ष अर्थात २०७२ मा प्रशंसनीय काम गरेका शिक्षक, विद्यार्थीहरुलाई सम्मान गरिएको हो । सम्मानित हुनेहरुमा कास्कीका प्रावितर्फका ३५ जना, निमावितर्फ १५ जना, मावितर्फ १८ जना र बालविकास केन्द्रतर्फ ४ जना शिक्षक–शिक्षिकाहरु रहेका छन् ।  यसैगरी विद्यालयका कर्मचारीहरुतर्फबाट ४ जना, जिल्ला शिक्षा कार्यालय कास्कीका कर्मचारी २ जना र शिक्षाप्रेमी ८ जनालाई पनि उक्त अवसरमा सम्मान गरिएको जिल्ला शिक्षा कार्यालय कास्कीका सहायक जिशिअ केदारराज आचार्यले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिए । उक्त अवसरमा ४ जनालाई राष्ट्रिय शिक्षा दिवस पदक तथा प्रमाणपत्र समेत प्रदान गरिएको थियो । पदक तथा प्रमाणपत्र पाउनेमा कालिका उच्च माविकी प्रावि इन्चार्ज विजयालक्ष्मी कोइराला, जनप्रिय माविका श्रीकान्त सिग्देल, सहारा निमाविका प्रअ लोचना अधिकारी र गोगन मावि लेखनाथकी शिक्षक चन्द्रावती पौडेल रहेका छन् । सम्मानित कोइराला नेपाल शिक्षक संघ कास्कीका उपाध्यक्ष समेत हुन् । उनी राधाकृष्ण टोल विकास संस्था र सहनशिल महिला समूह लगायत विभिन्न संघ–संस्थामा आवद्ध छन्। अर्का सम्मानित व्यक्तित्व पौडेल लेखनाथ कांग्रेस नेता स्व. रामजी पौडेल बादलकी धर्मपत्नी हुन् । जिल्ला शिक्षा कार्यालय कास्कीको आयोजनामा भएको कार्यक्रम संवृद्ध राष्ट्र निर्माणका लागि जीवनोपयोगी शिक्षामा लगानी भन्ने मूल नाराका साथ यो दिवस मनाइएको हो । कार्यक्रममा पश्चिमाञ्चलका क्षेत्रीय प्रशासक गोपीनाथ मैनाली, कास्कीका प्रजिअ हरि प्रसाद मैनाली, नेपाल शिक्षक महासंघका केन्द्रीय सदस्यद्वय वसन्त पाण्डे र लोचन अधिकारी, नेपाल शिक्षक संघ कास्कीका अध्यक्ष शिरोमणि लामिछाने, नेपाल राष्ट्रिय शिक्षक संगठनका कास्की अध्यक्ष रामप्रसाद पोखरेल, प्याव्सन कास्कीका अध्यक्ष चिनु रानाभाट, एनप्याव्सन कास्कीका अध्यक्ष रामबहादुर मोची, प्याव्सियूका आरसी शर्मा, माओवादी केन्द्र निकट शिक्षक संगठनका गोपालमणि लामिछाने र विमल बहादुर बराल लगायतले आ–आफ्नो भनाइ राखेका थिए । कास्कीका स्थानीय विकास अधिकारी तथा जिल्ला शिक्षा समिति कास्कीका अध्यक्ष दामोदर भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा कास्कीका जिशिअ रमाकान्त शर्मा, सहायम जिशिअ दीपेन्द्र ढकाल र केदारराज आचार्यलले शिक्षा कार्यालयको गतिविधिमाथि प्रकाश पारेका थिए ।







Post a Comment

 
Top