0
गोल्डेन न्यूज संवाददाता
पोखरा विश्वविद्यालय प्रशासन र माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) बीच मंगलबार ९ बुँदे सहमति भएको छ । शैक्षिक शुल्क बृद्धि खारेजीलगायत विभिन्न माग राख्दै आन्दोलनमा उत्रिएको क्रान्तिकारी र विश्वविद्यालय प्रशासनबीच मंगलबारको वार्ताबाट सहमति भएको हो । क्रान्तिकारीले ९ बुँदे माग पूरा नगरेको भन्दै भदौ १३ गतेदेखि उपकुलपतिको कार्यालय, रजिस्ट्रारको कार्यालय र योजना महाशाखामा तालाबन्दी गरेको थियो । विश्वविद्यालयका तर्फबाट विज्ञान तथा प्रविधि संकायका डीन इन्जिनियर बुद्धिराज जोशीको संयोजकत्वमा गठित वार्ता टोलीमा स्वास्थ्य, मानविकी, व्यवस्थापन संकायका डीन र परीक्षा नियन्त्रक डा. भरतराज ढुंगाना सहभागी थिए । विद्यार्थीको तर्फबाट क्रान्तिकारीका पोविवि अध्यक्ष विकास गायकको नेतृत्वमा वार्ता टोली बनेको थियो । विश्वविद्यालय ले २४ प्रतिशतले बढाएको शैक्षिक शुल्क १५ प्रतिशतमा घटाउन सहमत भएको छ । आंगिक तथा सम्बन्धनप्रात कलेजको शुल्क अनुपात वैज्ञानिक तवरले निर्धारण गर्न एक अध्ययन समिति बनाइ प्रक्रिया अघि बढाउने सहमतिपत्रमा उल्लेख छ । विश्वविद्यालयले आफ्नो कलेज र कार्यक्रम विस्तार गर्ने नीति अन्तर्गत यही वर्षदेखि देशका विभिन्न स्थानमा थप कार्यक्रम सञ्चालन गर्ने छ । स्वास्थ्य विज्ञान संकाय अन्तर्गत ब्याचलर इन अप्टोमिट्री, बिएस्सी नर्सिङ इन अन्कोलोजी, विज्ञान तथा प्रविधि संकाय अन्तर्गत स्नातकोत्तरमा स्ट्रक्चरल इन्जिनियरिङ, हाइड्रोपावर इन्जिनियरिङ र हेल्थ इन्जिनियरिङ र व्यवस्थापनमा एमबिएस (एक्जेक्युटिभ) कार्यक्रम थप गर्ने सहमति भएको छ । पोविविको छात्रवृत्तिबारे अधिकतम प्रचार–प्रसार गर्ने, १७ औं सभाबाट अनुमोदन भएको स्नातकोत्तर तहको छात्रवृत्ति सम्बन्धी व्यवस्थालाई तुरुन्त सबै शैक्षिक संस्थामा पत्राचार गरी जानकारी गराउने र सशुल्क भर्ना लिने प्रक्रियाभन्दा अगाडि नै छात्रवृत्तिमा भर्ना लिने प्रक्रियालाई अगाडि बढाउने सहमतिमा उल्लेख छ। सहमति बमोजिम विश्वविद्यालय ले केन्द्रीय प्रवेश परीक्षा संचालन गर्न आगामी ६ महिनाभित्रमा सम्पूर्ण प्रक्रिया पूरा गरी सम्बन्धित शैक्षिक संस्थालाई पत्राचार गर्ने भएको छ । महिला छात्रावासमा शहिद र वेपत्ता परिवारलाई समेत सम्बोधन हुने गरी कार्यविधि संशोधन गर्ने, ३ महिनाभित्र सबै संकायमा आवश्यक पुस्तकको व्यवस्था गर्ने, इन्टरनेटको पर्याप्त क्षमता बृद्धि गरी सम्बन्धित संकायमा छुट्टै अटोमेसन गरी ३ महिनाभित्रमा व्यवस्था गराउने सहमति भएको छ । पोविविको हाताभित्र पर्याप्त पिउने पानी, सरससफाइ, बृक्षारोपण कार्यको थप आवश्यक व्यवस्था गर्ने, खुदीडहरमा राख्न लागिएको पियु गेट केन्द्रीय कार्यालय अगाडि राख्ने, खेलकुद मैदान र पार्किङ निर्माणको लागि आवश्यक प्रक्रिया पु¥याइ ७ महिनाभित्रमा प्रक्रिया अघि बढाउने, मेडिकल कलेज यही आर्थिक वर्ष भित्र सुरुवात गर्ने विश्वविद्यालयले सहमति गरेको छ । सहमति पछि क्रान्तिकारीले सम्पूर्ण आन्दोलनका कार्यक्रम मंगलबार नै फिर्ता गरेको छ । क्रान्तिकारीका पोविवि अध्यक्ष विकास गायकले विश्वविद्यालयसँग भएको सहमति ऐतिहासिक भएको बताए । उनले विश्वविद्यालयको गुणस्तर सुधारमा उक्त सहमति कोशेढुंगा सावित हुने दाबी गरे ।



Post a Comment

 
Top