0
नेपाली कांग्रेसले सरकारमा सहभागी हुने राज्यमन्त्रीहरूको नियुक्ति र सपथ असोजको दोस्रो साता गर्ने तयारी गरेको छ। यसअघि सभापति शेरबहादुर देउवा सिंगापुरबाट फर्किएलगत्तै राज्यमन्त्रीहरुको नियुक्ति हुने भनिएको थियो। तर, कांग्रेसका दुई महत्वपूर्ण भातृसंस्था नेपाल महिला संघ र नेपाल तरूण दलको अधिवेशनलाई ध्यान दिँदै सभापति देउवाले राज्यमन्त्री नियुक्तिको प्रक्रियालाई असोज ५ पछाडि सारेको देउवा निकट एक नेताले सेतोपाटीलाई बताए।
कांग्रेस र मधेसी मोर्चा लगायतका दलको समर्थनमा प्रधानमन्त्री निर्वा्चित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले साउन २० गते सरकारको जिम्मेवारी सम्हाले पनि कांग्रेसका तर्फबाट विमलेन्द्र निधि र रमेश लेखक बाहेक बाँकी १३ जना सदस्यले नेपाल विद्यार्थी संघको अधिवेशन पश्चात भदौ १० गतेमात्रै सपथ लिएका थिए। भदौ २३ देखि २५ गतेसम्म पोखरामा गर्ने भनिएको तरुण दलको अधिवेशन केही जिल्लामा अधिवेशन हुन बाँकी रहेको भन्दै असोज ३ देखि ५ गतेका लागि सारिएको छ। त्यसैगरी महिला संघको अधिवेशन भदौ २९ र ३० गतेका लागि तय गरिएको छ। भातृ संस्थाको अधिवेशन अगाडि राज्यमन्त्रीको नियुक्ति हुन नसक्ने भएका हुन्। अब असोज १२ गते अगाडि राज्य मन्त्री नियुक्त हुने सम्भावना कम रहेकोएक नेताले बताए। प्रधानमन्त्री पुष्पकमल दाहाल भदौको ३० गतेदेखि भारतको चारदिने भ्रमणमा जाँदै छन्। असोजको २ गते भारतबाट फर्किए लगत्तै असोज ३ गते संविधान सभाबाट मुलुकको नयाँ संविधान जारी भएको पहिलो वार्षिक उत्सवमा सहभागी भएर सोहीदिन साँझ प्रधानमन्त्री दाहाल संयुक्त राष्ट्रसंघको ७१ औं महासभामा भाग लिन अमेरिका जाने कार्यक्रम रहेको छ। एक साता भन्दा बढी समय अमेरिकामा बिताएर असोज १२ गतेसम्ममा प्रधानमन्त्री नेपाल फर्किने छन्। ‘प्रधानमन्त्री दाहालको भारत र अमेरिका भ्रमण पछि मात्र कांग्रेसका तर्फबाट सात जना राज्यमन्त्रीहरुको नियुक्ति र सपथ ग्रहण हुनसक्छ,’ ती नेताले भने। कांग्रेसका तर्फबाट राज्यमन्त्रीका रूपमा नियुक्ती लिन दोस्रो तहका थुप्रै सांसदहरु दौडधूपमा छन्।
यद्यपी सभापति देउवाले ध्यानगोविन्द रञ्जित, दीर्घराज भाट, अब्दुल रज्जाकलाई प्राथमिकतामा राखेको स्रोतले बताएको छ। पार्टीमा लामो समय बिताएर कुनै पनि जिम्मेवारी नपाएका चितवनका शेषनाथ अधिकारी पाल्पाका हरिप्रसाद नेपाल र गुल्मीकी सुवर्ण ज्वहारचनलाई देउवाले राज्यमन्त्रीमा पठाउनेबारे आन्तरिक सल्लाह गरिरहेका छन् । तर उनीहरु राज्यमन्त्री बन्न तयार नदेखिएको कांग्रेसका एक नेताले बताए।
त्यसैगरी महिला र दलित समुदायबाट देउवाको सिफारिसमा मन्त्री नबनाएको भन्दै पार्टी्भित्र आलोचना भएपछि प्रधानमन्त्रीसँग थप एक मन्त्रालय माग्ने देउवाको तयारी छ। ‘सम्भव भएसम्म महिला र दलित समुदायलाई मिलाउन देउवाले प्रधानमन्त्री दाहालसँग अर्को एक मन्त्रालय थप गराई मन्त्री बनाउन लागिपरेका छन्,’ती नेताले भने।
साना दलका लागि छुट्ट्याएको चार मन्त्रालयमा भागवण्डा नमिलेमा देउवाले दलित तथा महिला कोटामा सुजाता परियार, वरिष्ठ नेता पौडेलको सिफारिसमा कन्चन वादे श्रेष्ठ, सञ्जयकुमार गौतम, सुरेन्द्र आचार्यमध्येबाट दुई वा तीनलाई र कृष्णप्रसाद सिटौलाको सिफारिसमा तारामान गुरूङलाई राज्यमन्त्रीमा सिफारिस गर्ने स्रोतले बतायो।





Post a Comment

 
Top