0
तसालको भूकम्पपछि वीमा व्यवसाय निकै चर्चित बन्न पुग्यो । कहिले दाबी भुक्तानी विवाद त कहिले सबैका लागि स्वास्थ्य वीमा । सबैभन्दा बढी त यो व्यवसायमा जनचासो र चेतना बढ्नाले चर्चित र यदाकदा आलोचित बन्न पुग्यो । नेपालका सीमित शहरका केही सिमित घरानाका व्यक्ति र व्यवसाय मैत्री यो व्यवसाय भूकम्पपछिका दिनमा ग्रामिण भेगका सामान्य पशु तथा पंक्षी व्यवसायीका लागि समेत सेवा पुर्रुयाउने योजना बुन्न थाले ।
 
त्यस्तै जीवन तथा निर्जीवन वीमा सेवा खरिदका लागि सामान्य मानिसहरु पनि गाउँबाट शहरसम्म धाउन थालेका छन । यसैको पछिल्लो परिणाम हो कि गत आर्थिक बर्ष कुल वीमा शुल्कमा ३० प्रतिशतको वृद्धि । यसवीचमा जीवन तथा निर्जीवन दुबै वीमाका सेवाग्राही बढेको वीमा समितीको तथ्याङ्क छ । वीमा समितीका अनुसार गत आर्थिक बर्षमा करिब ४६ अर्ब ८५ करोड वीमा शुल्क बराबरको वीमालेखको खरिद भएको छ । जुन कारोबार आर्थिक बर्ष २०७१÷७२ मा करिब ३६ अर्ब ११ करोड मात्र थियो । यस तथ्याङ्कलाई आधार मान्दा गत आ.ब.मा २९ दशमलब ७४ प्रतिशतले वीमा लेखको व्यापार बढेको देखिन्छ । अझ निर्जीवन वीमा क्षेत्रले यो समयमा थप प्रगती गरेको देखिन्छ । आर्थिक बर्ष २०७२÷७३ मा निर्जीबन कम्पनीले करिब १४ अर्ब ९९ करोड वीमाशुल्क बरावरको व्यापार गरेका छन् । जुन अघिल्लो बर्षको तुलनामा ३१ दशमलब ८४ ले बढेको हो । सोही अवधिमा जीवन वीमा कम्पनीका वीमालेख कारोबार भने २७ दशमलब ८८ प्रतिशतले मात्र छ । यसरी हेर्दा वीमाक्षेत्रमा भूकम्प तथा नाकाबन्दीका क्षेती नभएका होइनन् । यो समयमा दावी भुक्तानीका लागि अत्यधिक निवेदन परे । भूकम्पका कतिपय दावी गरिएका क्षती अझै भुक्तानी भएका छैनन् । तर, वीमा गर्दा भवितव्यमा क्षतिपूर्ती पाइन्छ भन्ने चेतना बढेको छ । निर्जीवन कम्पनीको आम्दानीमा आएको उल्लेख्य सुधारले यही तथ्यलाई प्रमाणित गरेको छ । यही चेतनाले वीमा क्षेत्रमा नयाँ आकर्षण ल्याएको हो । वीमा व्यवसाय सम्बन्धी आकर्षणलाई वर्तमान पुँजी बजारले समेत प्रमाणित गरेको छ । विगतमा सधै जलविद्युत, बैंक तथा बिकास बैंकको नेप्से परिसुचक तुलनात्मक रुपमा आकर्षक मानिन्थ्यो । हालका बर्षमा वीमा व्यवसाय तथा लघबित्त क्षेत्रको बजार मूल्य परिसुचक उत्कृठ देखिँदै आएको छ । यसका कारणका रुपमा पनि भूकम्प तथा नाकाबन्दिको प्रभाव नै हो भन्न सकिन्छ । भूकम्पपछि धेरै जलबिद्युत उत्पादन गृहमा पुगेको क्षती तथा नाकाबन्दीले खस्काएको औद्योगिक वातावरणले अन्य वित्तीय क्षेत्रका परिसुचक धेरै प्रभावित बन्यो । यसैका कारण पनि लगानीकर्ता वीमा क्षेत्रतर्फ आकर्षित हुनपेगेका हुन् । भाद्र १ गतेको तथ्याङ्कलाई मात्र आधार मान्दा पनि नेप्सेमार्फत वीमा व्यवसायमा २६ करोड ७० लाख बराबरको बजार पुँजीकरण भएको देखिन्छ । उक्त दिनको क्षेत्रगत पुँजीकरणका आधारमा वीमा क्षेत्र दस्रो स्थानमा पर्न आउँछ । सो दिनको वाणिज्य बैङ्क क्षेत्रको पुँजीकरण  करिब रु ४३ करोड १७ लाख छ र वाणिज्य बैङ्क नै प्रथम स्थानमा छ ।
तर, मनन गनुपर्ने कुरा के हो भने नेपालमा हाल २८ वाणिज्य बैङ्क छन् भने कुल २५ वीमा कम्पनी रहेका छन् । त्यस्तै कुल चुक्ता पुँजी आधारमा पनि यी दुई क्षेत्रका बीचमा निकै ठूलो अन्तर छ । आब २०७१÷०७२  को अन्त्यसम्म बाणिज्य बैंकहरुको कुल चुक्ता पुँजी करिब रु ८७ अर्ब ८० करोड देखिन्छ । तर वीमा कम्पनीहरुको जम्मा चुक्ता पुँजी भने करिब रु ६ अर्ब ४१ करोडमात्र देखिन्छ । यस हिसाबले हेर्दा वीमा व्यवसायका पुँजी बजार बाणिज्य बैङ्क भन्दा धेरै सानो छ । तर, पुँजीकरण अनुपातका अधारमा निकै व्यापक । सोही दिनको नेप्से परिसुचकले समेत यो तथ्यलाई प्रमाणित गरेको छ । भाद्र १ मा नेप्से परिसुचकका आधारमा वीमा क्षेत्रको परिसुचक रु ८ हजार ४ सय पुगेको छ । तर, बाणिज्य बैङ्क क्षेत्रको परिसुचक रु १ हजार ६ सय ३४ मात्र रहेको छ । त्यस्तै जलविद्युत समुहको परिसुचक २ हजार ४ सय ८६ रहेको छ । यसबाट पुष्टि हुन्छ कि वीमामा आकर्षण बढेको छ ।
के होला आकर्षणको कारण ?
नेपालको अर्थतन्त्रको स्तरको अनुपातमा वित्तीय संस्था धेरै भएको भन्ने कुरा अन्तरांष्ट्रिय मुद्राकोष
(आइएमएफ) ले समेत भन्दै आएको छ । नेपाल राष्ट्र बैङ्कले लिएको वित्तीय संस्था घटाउने रणनीति आइएमएफकै निर्देशन मुताबिकको हो । सानो बजार  र धेरै संस्था भएकाले मर्ज र एक्यिुजिसन नीतिलाई प्रर्वधन गर्न केन्द्रीय बैंकले पुँजी वृद्धिको योजना विगत दशकदेखि नै लिँदै आएको  हो । यद्यपि आशातीत प्रगति हुन सकेको छैन । पुँजीवृद्धि योजनाले मर्जरलाई प्राथमिकता दिएको थियो । तर, व्यवहारमा एफपीओ र हकप्रद निष्काशनले प्राथमिकता पायो । यस्तै गत वर्षको भूकम्प तथा नाकाबन्दीले लगानीको वातावरण बिथोल्दा वित्तीय क्षेत्रको लगानी निकै खम्चिन पुग्यो । यसले वित्तीय संस्थामा तरलता अत्यधिक बढ्न गयोे । जसका कारण व्याजदर निकै घट्न पुग्यो । उत्पादनमूलक व्यवसायमा विगतको दशकदेखि नै क्रमिक गिरावट त थियो नै, अर्को्तिर मौद्रिक नीतिकै कारण पुँजीबजार भने निरन्तर बढ्दै गयो ।
भूकम्प गएको केही महिनापछि नै भएको नाकाबन्दीले समग्र व्यवसाय चौपट पार्दा बैङ्क तथा वित्तीय संस्थामा निक्षेप थुप्रिन पुग्यो, तर लगानीका श्रोत भएनन् । फलतः निक्षेपमा ब्याज नगन्य मात्रा रहृयो । यो स्थितिले सबैको आकर्षण पुँजीबजारमा पुग्दा पुँजीबजारमा अप्राकृतिक वृद्धि आउन थाल्यो । कतिपय संस्थामा भूकम्पले गर्दा आर्थिक प्रगतिमा व्यापक गिरावट थियो । तर, तिनको शेयर मूल्य भने ठीक विपरीत दिशामा दगुरेको थियो । त्यसैले विवेकशील लगानीकर्ताले सुरक्षित विकल्पका रुपमा जीवन वीमा लेख किन्न थाले । त्यस्तै लगानीकर्तामा लगानीको विविधिकरण गर्नुपर्छ भन्ने चेतना आयो । यसरी हेर्दा मूलतः तीन कारणले वीमामा आकर्षण बढेको पाइन्छ । पहिलो, लगानीको विविधिकरण आवश्यक ठानिनु । दोस्रो, तुलनात्मक रुपमा वीमा क्षेत्रमा न्यून जोखिम तर अधिक प्रतिफल पाइने क्षेत्र हुनु । र, तेस्रो– उपलब्ध करछुटको व्यवस्था हुनु ।
भूकम्पले जलविद्युत तथा लघुवित्त व्यवसायलाई धेरै प्रभाव पार्रुयो भने नाकाबन्दीले बाँकी अन्य क्षेत्रलाई । फलतः एकै क्षेत्रको शेयर खरिद बिक्री गर्ने लगानीकर्ताले पनि व्यवसायको विविधिकरण गर्न थाले । लगानीका पर्याप्त अवसर नभएका व्यवसायीले बैङ्कमा निक्षेप राख्नु समेत उचित देखेनन् । त्यसैले वीमा सम्बन्धी सामान्य जानाकार व्यक्तिहरुले समेत एकभन्दा धेरै वीमालेख खरिद गर्नपुगे ।
नकि बैङ्क तथा वित्तीय संस्थाको निक्षेपमा अधिकतम व्याजदर करिब ४ प्रतिशतमा झर्दा जीवन वीमाको वीमालेखमा बोनस दर ८ प्रतिशतसम्म पुगेको छ । यस्तै सरकारले उपलब्ध गराएको कर छुट व्यवस्थाले तलबी कर्मचारीलाई बढी आकषिर्त गरको छ । आफ्नो करयोग्य आम्दानी कम गराउने प्रयोजनकै लागि पनि जीवनवीमा गर्नेको संख्या बढ्दै गएको छ ।
पछिल्लो दिनमा आम नागरिकको निवृत्तीभरण तथा सामाजिक सुरक्षाकोषका बारेमा निकै बहस भइरहेको छ । सरकारले किसानका लागि योग्यतामा आधारित निवृतिभरणको योजना बुन्दै गर्दा जीवन वीमा कम्पनीले पेन्सन प्लान बेच्न थालिसकेका छन् । वचत भएका तर बुढेसकालको आर्थिक उपार्जनमा चिन्तित व्यक्तिहरु यस्ता योजनामा आकषिर्त भएको पाइन्छ । सामाजिक सुरक्षा उन्मूख आजीवन वीमा तथा निवृत्तीभरण वीमालेखले समेत मध्यम बर्गलाई तानेको देखिन्छ । यसका अलावा व्यवसायीमैत्री अग्रिम भुक्तानी योजना (मनी व्याक स्किम) पेशेवर व्यवसायीका लागि आकर्षक योजना हुन । यस अतिरिक्त कर्मचारीको सुरक्षाका लागि म्यादी योजनाले समेत व्यवसायीलाई राहत दिइरहेको छ । वीमालेखको खरिद अन्य लगानीभन्दा धेरै सुरक्षित मानिन्छ । हरेक वीमालेखको पुनर्बिमा गर्नैपर्ने प्राबधानले पनि वीमालेख क्रेतालाई निश्चिन्त बन्न सघाउँछ । वीमालेखको पुनर्बिमा गर्नाले कम्पनी आफैले कुनैपनि दायित्व बहन गर्न नसकेको अवस्थामा समेत  पुनर्बिमा कम्पनीले कम्तीमा ४० प्रतिशत शोधभर्ना गरिदिन्छ ।
साथै अन्य वित्तीय संस्थामा जस्तो ऋण प्रबाहमा समेत वीमा कम्पनीका जोखिम कम हुन्छ । सामान्यतया वीमा कम्पनीहरुले सरकारले तोकेको क्षेत्रभित्र रहेरमात्र ऋण प्रवाह गर्छन ।  सरकारी ऋणपत्र, बैक तथा वित्तीय संस्था र जलविद्युत आयोजना जस्ता क्षेत्रमा गरिने लगानीका जोखिम अन्य संस्थाका भन्दा न्युन रहन्छ ।
यसका अतिरिक्त आफ्ना ग्राहकलाई वीमालेख धितोमा राखेर समेत यी कम्पनीले ऋण प्रवाह गर्छन् । त्यसैले वीमालेखको खरिद वा न्यून जोखिमयुक्त लगानीको क्षेत्र हो । यसैको प्रभाब वीमालेखको व्यापारदेखि यस्ता कम्पनीका शेयर कारोबारमा परेको देखिन्छ । यस बर्ष जीवन वीमा कम्पनी भन्दा निर्जीबन कम्पनीका बृद्धी आकर्षक देखिएका छन् । निर्जीवन वीमा व्यवसायको वृद्धिमा पनि भूकम्प नै कारक हो भन्दा अतियुक्ति नहोला । शहरका सीमित व्यवसायमा सीमित रहेका निर्जीवन वीमा कम्पनीहरु भूकम्पपछि सामान्य किसानसम्म पुग्ने योजना लिएका छन् । त्यस्तै भूकम्पको प्रभाव ज्यादा ग्रामीण भेगमा पर्दा ग्रामीण जनतासमेत सहरका वीमा कम्पनीसम्म धाउन थालेका छन् । फलत स्वास्थ्य वीमा, आगलागि तथा भुकम्पिय वीमा, पशु तथा पंक्षी वीमालेखहरुका माग पनि निकै बढेको देखिन्छ । यसको प्रभाव शेयर बजारमा समेत परिसकेको छ । पछिल्ला दिनमा यी कम्पनीका शेयरमा समेत मागमा उच्च वृद्धिले शेयर मुल्यमा वृद्धि भएका छन ।
चुनौती जोखिम र नयाँ आयाम
तेसो त वीमा र पुँजीबजार हालका वर्षमा कालोधन सकार्ने बलियो क्षेत्रका रुपमा रहेको तर्कसमेत बेलाबेला आउने गरेको छ । वीमालेखको प्रिमियम भुक्तानी गर्नका लागि आम्दानीको स्रोत उल्लेख गर्नुपर्ने नियम भए पनि प्रभाबकारिता देखिएको छैन । तर, वीमालेखको अवधि भुक्तानपछि बोनससमेत गरेर आउने रकमको श्रोतका रुपमा सोही वीमालेखले काम गर्ने हुनाले पनि यो व्यवसाय कालोधन चोख्याउने क्षेत्रका रुपमा समेत चिनिन थालेको छ । सोही प्रयोजनकै लागि समेत जीवन वीमालेख बिक्री बढिरहेको अनुमान छ । त्यस्तै मुद्रा अपचलनको नियम विपरीत अझै ठूलो संख्याका नेपाली भारतीय जीवन वीमा कम्पनीका सेवा लिइरहेका छन । नेपाली अभिकर्ताको अयोग्यता हो या नानीदेखि लागेको बानीको प्रभाब । अधिकांस भारतीय कम्पनीको बोनस दर ६ प्रतिशत भन्दा न्युन छ । जब कि सोही अवधिमा नेपालमा ८ दशमलब २ प्रतिशतको बोनस पाइन्छ । तर पनि अधिकाँश मारवाडी समुदाय र केही आद्यौगिक घरानाका मानिस भारतीय कम्पनीका जीवन वीमालेख किन्छन् । यस्तो लगानी आफैंमा अवैध त छँदैछ, अवधि भुक्तानपश्चात आर्जित सम्पत्तिको स्रोतसमेत खुलाउन पाइँदैन । भोलिका दिनमा कम्पनीले आर्जित रकम नदिएमा कानुनी उपचारको बाटो समेत रहँदैन ।
नेपालमा वीमा व्यवसायको नियमक वीमा समितीले समेत यससम्बन्धी ठोस योजना ल्याउन सकेको देखिँदैन । साथै भारतीय कम्पनीले पुराना ग्राहक आफैंमा राख्न थप बोनस तथा छुटको योजना दिएका छन । त्यसलाई प्रतिकृया दिने योजनाको अभाब नेपाली वीमा कम्पनीमा देखिन्छ ।
नेपालका वीमा अभिकर्तामा ग्राहकमैत्री नीतिभन्दा नाफामुखी नीति देखिन्छ । प्रायः वीमालेखमा दोस्रो बर्षपछि  १० बर्षसम्म वीमाशुल्कमा ५ प्रतिशत मात्र कमिसन पाउँछन् । जब कि पहिलो र दोस्रो बर्षका किस्तामा अधिकतम २५ प्रतिशतसम्म कमिसन पाउने प्राबधान छ । यो प्राबधानले गर्दा अभिकर्ताहरु ग्राहकलाई खासै वास्ता गर्दैनन् । अझ कतिपयले ग्राहकबाट किस्ता असुल गरी आफ्नै पोल्टामा हाल्ने र ढीलो तिरेर जरीवानामा पार्ने जस्ता हरकतहरु समेत गर्छन् । यसले कतिपय ग्राहक वीमालेखको निरन्तरता दिन सक्दैनन् । यसले गर्दा कतिपय ग्राहकले अत्यन्त न्यून ‘सरेन्डर भ्यालु’मा चित्त बुझाउनुपरेको छ ।
त्यस्तै आम ग्राहकका वीमा कम्पनीसँग समेत गुनासो गर्छन् । क्षतीको अवस्थामा दावी भुक्तानीमा पन्छिने, निकै ढीलो मात्र भुक्तानी दिने, वीमाङ्क भन्दा निकै न्यून भुक्तानी दिने जस्ता गुनासो उनीहरुले गरिरहेका छन् । यसतर्फ वीमा समितिले ध्यान दिनु जरुरी छ । व्यवसायमा आएको वृद्धिसँगै वीमा सेवाको शैलीमा समेत परिर्वतनको आभाष गर्न थालिएको छ । हालसम्म व्यक्तिगत अभिकर्ताकै दबदबी रहेको यो क्षेत्रमा भूकम्पपछि संस्थागत अभिकर्तासमेत खुलेका छन । सीमित वित्तीय संस्थाले आफ्ना योजनामा वीमा स्किमसेमत राखी एकीकृत सेवा दिँदै आएकोमा अबका दिनमा व्यवसायिक अभिकर्ताहरु सम्पूर्ण वीमा सेवाका लागि बजारमा प्रवेश गरिसकेका छन् ।
हाल काठमाडौँमा वित्तीय तालिम प्रदान गर्दै आए संस्थाले व्यवसायिक अभिकर्ताका रुपमा कार्य प्रारम्भ गरिसकेका छन् । व्यक्तिगत अभिकर्तामा भएको कमजोरी तथा ठगीजन्य घटना न्यूनिकरणमा यस्ता कम्पनीको उदयले निश्चय पनि सघाउनेछ ।
अभिकर्ता कम्पनीमार्फत सम्पूर्ण वीमा सेवा उपलब्ध हुनाले ग्राहकलाई समेत निकै सहयोग पुग्नेछ । यी व्यवसायीले ग्राहकका घरदैलोमा पुगेर सेवा प्रदान गर्नाले ग्राहकका समयकोसमेत बचत हुनेछ । अब जरुरी छ त यसकालागि स्पस्ट नीति तथा नियमनको । आशा गरौं, आगामी दिनमा वीमा व्यवसाय अझै फस्टाउनेछ । अभिकर्ता तथा वीमा कम्पनीहरु गाउँगाउँसम्म पुग्नेछन् र सामान्य नागरिकले सरलरुपमा वीमा सेवा उपभोग गर्न सक्नेछन् ।
स्रोत ः अनलाइन खबर

Post a Comment

 
Top