0
राहदानी हरायो ? अब पत्रिकामा विज्ञापन छाप्न र प्रहरी रिेपोर्ट लिइरहनुपर्दैन । राहदानी विभागका महानिर्देशक लोकबहादुर थापाका अनुसार अबदेखि सीधै विभाग, सम्बन्धित जिल्ला प्रशासन कार्यालय वा दूतावासमार्फत सहजै अर्को राहदानी लिन सकिनेछ । त्यति मात्र होइन, हराएको राहदानीबारे अब इन्टरपोलले समेत रेकर्ड राख्नेछ । हराएको पासपोर्ट प्रयोग गरेमा उक्त व्यक्ति सहजै पक्राउ पर्नेछ ।  राहदानी हराएको विज्ञापन छपाएर जिल्ला प्रहरी कार्यालयबाट रिपोर्ट ल्याउनुपर्ने व्यवस्थालाई विभागले सोमबारदेखि हटाएको हो, जसले पीडित व्यक्तिलाई पुनस् राहदानी लिन निकै सहज भएको छ । ‘विभागले एक महिनायता परीक्षणका रूपमा यो काम गरिरहेको थियो,’ थापाले भने । राहदानी विभागमा आएर राहदानी हराएको निवेदन दिनेबित्तिकै शाखाले त्यसको विवरण बुझ्ने र त्यहीबाट प्रहरीको इन्टरपोलमा सहकार्य गरी पुरानो राहदानी नम्बरलाई ‘इन्एक्टिभ’ गर्दै नयाँ नम्बर राखिनेछ । ‘जिल्लाबाट राहादानीको फारमसँगै हराएको निवेदन विभागमा आउँछ । निवेदन र भरेको नयाँ फारम अध्ययन गरी इन्टरपोलमा जानकारी दिँदै राहदानी बनाएर जिल्ला पठाइनेछ । त्यस्तै, प्रक्रिया दूतावासबाट पनि अघि बढ्नेछ,’ थापाले भने । विभागको हराएको पासपोर्ट हेर्ने शाखाले निवेदनको डाटा चेक गर्नुका साथै तत्काल नेपाल प्रहरीको इन्टरपोलमा इमेल गर्नेछ । ‘प्रहरीले बढीमा ५ मिनेटभित्रमा रिप्लाई गर्ने गरी व्यवस्थापन मिलाइएको छ,’ उनले भने । इन्टरपोलमार्फत सबै देशमा उक्त हराएको राहदानी नम्बर वाहकलाई अध्यागमनमा रोकिनेछ । मेसिन रिडेबल भएकाले बिना झन्झट तत्काल हराएको राहदानी बोक्ने व्यक्ति पक्राउ पर्नेछ । यसो गरेकै कारण गतसाता नेपालको विमानस्थलमा २० जना विदेशी नेपाली राहदानी बोकेकाले पक्राउ परेका थिए ।






Post a Comment

 
Top