0
गोल्डेन न्यूज संवाददाता
विद्यालय पढ्न गएका १५ वर्षीय अनिश गौतम स्कूल भित्रै आफैलाई पढाउने शिक्षकवाटै निर्घात कुटिए। कास्कीको पुरुञ्चौरमा रहेको भारती भवन मा.वि.का शिक्षकहरु मिनराज ढुंगाना, वासु तिवारी, धर्मदत्त अधिकारी र विद्यालयका प्रधानाध्यापक गोविन्द काफ्ले समेतले विद्यार्थी अनिष गौतमलाई मुक्का प्रहार गरेका छन् । गुरुहरुको मुक्का प्रहारवाट विद्यार्थी अनिषको देव्रे गालो सुन्निएको छ भने वंगाराको जरामा समेत असर पुगेको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको परीक्षण पूर्जीले उल्लेख गरेको छ । क्षेत्रीय अस्पतालले दाँत परीक्षणका लागि गण्डकी मेडिकल कलेज नयांवजार रिफर गरेको र त्यहां परीक्षण गर्दा बंगाराको जरा हल्लिएको पीडित पक्षले गुनासो गरेका छन् ।  घटनाक्रम अनुसार यहि भाद्र २२ गते बुधबार कक्षा १० पढ्ने चुरुङ्गाका १५ वर्षीय अनिश गौतम आफ्नो स्कूल भारती भवन मा.वि. पुरुञ्चौर पुगे । केहि ढिलो पुगेका उनी हतार–हतार लाइनमा बसे । लाइनमै रहँदा एक शिक्षक वासु तिवारीले उनको कपाल लामो भएको भन्दै काटेर ठुट्याइदिए । बायाँ तिर पनि काट्न शिक्षकले हात अघि बढाएपछि विद्यार्थी अनिशले सर कपाल भोलि काटेर आउँछु भनेर अनुरोध गर्दै सरको हात रोक्न खोजेका थिए । हात रोक्ने क्रममा अनिश लाइनवाट बाहिर निस्कन पुगे। हात रोकिएको विषयलाई शिक्षकहरुले इगो बनाएर लाइममै अनिशको देव्रे गालाको कानमुनी कसिलो मुक्का प्रहार गरेका थिए । विद्यार्थीहरुको लाइनमै ३ जना शिक्षक मध्ये एकले ज्यामिति बक्स नल्याएको निहुँ थपेर यसलाई दण्ड दिनैपर्छ भन्दै कुटपिट गर्न उक्साएका थिए । विद्यालयका प्रधानाध्यापक गोविन्द प्रसाद काफ्लेले पनि विद्यार्थी अनिशलाई कुट्ने विषयमा आगोमा घ्यू थपिदिए । उनले पनि विद्यार्थीलाई एक थप्पड दिए र कार्यालयमा तानेर लगेको पत्रकार यदनाथ बञ्जराले लेखेका छन् ।  भदौ २२ गते भारती भवन मा.वि. मा भएको यो घटनाबाट पीडित वालक अनिश गौतम त्यस रात पीडाले सुत्न सकेनन् । रातभरि ज्वरो आएपछि भोलिपल्ट अर्थात भाद्र २३ गते पीश्चमाञ्चल क्षेत्रीय अस्पताल पोखरा लगेर जाँच गरिंदा गाला सुन्निएको र दात परीक्षणका लागि गण्डकी मेडिकल कलेज जान सुझाव दिइएको थियो ।
विद्यालय शान्ति क्षेत्र हो । आजको शिक्षा बाल मैत्री शिक्षा अपरिहार्य विषय बनेको छ । त्यसमा पनि पुरुञ्चौर गा.वि.स. ले आफ्नो गा.वि.स.लाई बालमैत्री गा.वि.स. बनाउने प्रतिवद्धता व्यक्त गरिसकेको अवस्थामा सोही गा.वि.स. मा रहेको त्यस भेगकै राम्रो कहलिएको विद्यालय भारती भवन मा.वि.मा बालबालिकामाथि नै कुटपिट हुनुलाई किमार्थ राम्रो मान्न सकिन्न । पढाइमा समेत अव्वल रहेका विद्यार्थी अनिश गौतममाथि विद्यालय भित्रै ४ जना शिक्षकहरुले गरेको मुक्का प्रहारपछि सरोकारवाला निकायहरुको ध्यानाकर्षण भएको छ । जिल्ला बालकल्याण समितिका सदस्य रविराज बसौला उक्त घटना खेदजन्य भएको बताउँछन् । सामुदायिक विद्यालयभित्र कपाल पालेको विषयलाई वहाना वनाएर वालवालिकामाथि कुटपिट गर्ने सम्बन्धमा राज्यका निकायले छानबिन गर्नुपर्ने बसौलाले बताए ।
 
केन्द्रीय बाल अधिकार समितिका स्रोत व्यक्ति वद्रि प्रसाद वाग्ले विद्यालय पढ्न गएका वाल वालिकाहरु उपर हुने कुनैपनि प्रकारको यातना र कुटपिट कर्पोरल सजयाँ भएकोले त्यसलाई अक्षम्य अपराध मानिने बताउँछन् । पीडितले न्याय खोज्न प्रतिवद्ध हुनसकेको पीडकलाइ सजाय दिन सरकार सक्षम रहेको वाग्लेले बताए । जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्मा विद्यालयले विद्यार्थीको अनुशासन कायम राख्न जरुरी भएपनि कुटपिट गर्न नहुने र भारती भवन मा.वि.मा भएको घटना सम्वन्धमा आफूले वुझेर सचेत गराउने बताए । विद्यालयले घटना घटेपछि विद्यार्थी अस्पतालसम्म गएपछि त्यसको खर्च जिम्मा लिने, घाइते र बहिनीको पढाई शुल्क मिनाहा गरिदिने बताइएको छ । घटनापछि विद्यालयमा डेलिगेसन गएका अभिभावक एवं स्थानीय युवाहरुलाई विद्यालयका प्र.अ. गोविन्द काफ्ले ले यस्तो प्रतिवद्धता व्यक्त गर्दै माफी मागेका थिए । प्र.अ. काफ्लेले स्थलगत रिपोटिङमा गएका पत्रकारहरुको टोलीलाई पनि घटना आकस्मिक भएको र अव यस्तो हुन नदिने बताएका थिए । प्र.अ.ले विद्यार्थी अनिश गौतमले भोलि कपाल काटेर आउँछु भन्दा भन्दै कुटपिट गर्न नहुने प्र.अ. काफ्ले बताएका थिए । घाइतेकी आमा पार्वती गौतमले आफ्नो छोरा माथि निर्घात भएको कुटपितबाट आफू असह्य पिडामा रहेको बताएकी थिइन् । विद्यालयले आफूलाई तत्काल बोलाएर सहिछाप गराएको बताइन् । विद्यालयले आफ्नो गल्ती ढाक छोप गर्न विभिन्न योजना गरेको पाइएको छ । संचारकर्मीहरु रिपोटिङ गरेर पोखरा फर्किएपछि पीडितपक्षलाई विभिन्न दवाव र प्रभाव सृर्जना गराइएको स्रोतले दावी गरेको छ । आम नागरिकलाई शिक्षा प्रदान गर्न राज्यकोषबाट अरवौं खर्च भइरहेको छ तर राज्यकोषवाटै तलव भत्ता आएका जिम्मेवार शिक्षकहरु नै विद्यार्थीलाई आतंकित पार्न उद्दत देखिएका छन् यसले २१औं सताव्दीको शिक्षा प्रणालीलाई सम्वोधन गर्न सक्दैन । वालमैत्री शिक्षण पद्धति अनुसार अगी वढ्न सके मात्र देश र जनता को हित हुन्छ की ?



Post a Comment

 
Top