0
गोल्डेन न्यूज संवाददाता
एक सहचालकले यात्रु बसमा भेटिएको झण्डै १० तोला बरावरको सुनको गहना सम्बन्धित ब्यक्तिलाई फिर्ता गरेका छन् । वुटबलबाट पोखरा आउने क्रममा ग १ ख ३४२० नम्बरको बसमा चढेकी एक यात्रुले छोडेको सामान उनले पृथ्बी राजमार्ग बस सञ्चालक समिति मार्फत सम्बन्धित ब्यक्तिको जिम्मा लगाएका हुन् । गत शुक्रवार वुटबलबाट पोखरा आउदै गरेको बसमा स्याङजाको गल्याङ्गबाट चढेकी केशरी पराजुली १२ किलोमिटर वर बाँयाटारीमा झरिन् । तर उनले बहुमुल्य सामान सहितको झोला बसमै बिर्सिइन् । बस पोखराको पृथ्बीचोक स्थित बसपार्कमा आइपुग्यो र सबै यात्रु झरे । बसका सहचालक चन्द्र बहादुर क्षेत्रीले बस सफा गर्न लागे । त्यहि बेला एउटा झोला फेला पारे । झोलामा रहेको परिचय पत्रमा उल्लेखित नम्बरमा फोन गरे तर अफ थियो । झोला भित्र एउटा मंगलसुत्र, दुई वटा सुनको बाला, दुई वटा औठी, विच्छि र पाउजु सहित चुरा र तीन हजार नगदको साथमा परिचय पत्र थियो । त्यसपछि पृथ्बी राजमार्ग बस सञ्चालक समितिमा ल्याएर बुझाए । बस स्याङजाबाट पोखरा आउदा सम्म कोहि कसैले आफ्नो सामान हराएको बारे खबर गरेनन् । केशरीले बायाँटारीमा बस्ने आफ्ना जेठाजु भिम पराजुलीलाई खबर गरिन् । पराजुलीले समितिमा फोन गरे र सामान हराएको बारे जानकारी गराए । केहिवेरपछि झोला पाएको खबर आयो । सामान सकुशल भेटिएको जानकारी पाएपछि उनीहरु ढुक्क भए । र तीन दिन पछि आएर सामान लिए ।
 
समितिले सोमवार पत्रकार सम्मेलन गरी सामान हस्तान्तरण गरेको हो । सहचालक क्षेत्रीले पराजुलीलाई बसमा भेटिएको सामान सहितको झोला हस्तान्तरण गरे । सामान फिर्ता गरे वापत उनलाई तत्काल पाँच हजार पुरस्कार प्रदान गरियो र खादा लगाएर सम्मान गरियो । स्याङ्जा सिर्सेकोट ९ की केशरी तीज मानेर गल्याङ माईतीबाट घर फर्कने क्रममा गहना झोलामा राखेर फर्केकी थिइन् । वहुमुल्य गहना लगाएर बस चढ्दा जोखिम हुने भएकाले उनले झोलामा रोखेको गहना छोडेकी हुन् ।

Post a Comment

 
Top