0
पोखरा लगायत मुलुकभर चाडपर्वको बहानामा बजारमा उपभोग्य वस्तुको भाउ अस्वाभाविक ढंगले वृद्धि भइरहेको छ । तरकारीलगायत दैनिक उपभोग्य सामग्रीको मूल्य वृद्धि भएपछि उपभोक्ताहरु पीडित भएका छन् । विशेषगरी, चाडपर्वको समयमा उपभोक्ताको ढाड सेक्ने गरी अस्वाभाविक मूल्य वृद्धि भइरहे पनि सरोकारवाला निकाय मौन भइदिँदा सर्वसाधारण मर्कामा परिरहेका छन् । स्थानीय प्रशासनले नियमित अनुगमन गरी मूल्य वृद्धि नियन्त्रण गर्नसक्ने भए पनि जे–जसरी प्रभावकारी अनुगमन हुनुपर्ने हो, त्यसो भएको पाइँदैन । यसका कारण व्यापारीले अनुचित फाइदा उठाउँदै आएका छन् । बजार कालाबजारीको नियन्त्रणमा रहेको तथ्य सबैलाई विदितै भएको कुरा हो । उपभोक्ताको दैनिक जीवनसँग जोडिएका र बिहान–बेलुकीका लागि अति आवश्यक पर्ने हरियो तरकारी, खाने तेल, चिनी र खाद्यान्नको मूल्य छोइसाध्यै छैन । अहिले बजार सर्वसाधारणको पहुँचबाहिर गइसकेको अनुभूति गरिएको छ । नेपालमा बजार ‘जसको शक्ति उसकै भक्ति’ जस्तो भएको छ । बेथिति यतिसम्म बढेर गएको छ कि नियमसङ्गत नियमन हुनै सकेको छैन । व्यापारीहरुले जे–जस्ता बहाना वा बाध्यता बताए पनि महँगीको रोग राष्ट्रव्यापी समस्या बनिसकेको छ । चाडपर्व भर्खरैमात्र सुरू भएको छ, तर बजारमा मूल्य वृद्धि अकासिँदै गएको छ । परनिर्भरता बढ्दै गएको र भारतीय बजारको एकाधिकार तोड्न नसक्नु एउटा कारण रहे पनि व्यापारीको मनोमानी बढ्नुचाहिँ बजार अनुगमनमा स्थानीय प्रशासनको प्रभावकारिता नभएरै हो भन्नेमा कुनै द्विविधा छैन । चाडपर्वको समयमा बजारमा उपभोग्य वस्तुको माग बढ्नु स्वाभाविकै हो । अर्थशास्त्रको नियममा माग बढे मूल्य बढ्छ र माग घटे मूल्य घट्छ । यस्तो अवस्थामा अलिअलि तल–माथि हुनु स्वाभाविकै हो । तर, चाडपर्वको अवसर छोपेर बजार मूल्यमा मनोमानी गर्नु अन्याय हो । यसका विरूद्ध उपभोक्ता सरोकार मञ्च, टोलविकास संस्था, सरोकारवाला निकायले गम्भीर चासो देखाउनुपर्छ । बर्खाको समय भएकाले तरकारीलगायतका उपभोग्य वस्तु उत्पादनमा कमी आएको यथार्थ हो । तराईमा बाढीका कारण तरकारी खेतीमा क्षति हुन पुग्यो । पहाडी क्षेत्रमा उत्पादन हुने सिजनका तरकारी, बालीनालीमा पनि पहिराको समस्याले क्षति पु¥यायो । उत्पादित खाद्य वस्तुको पनि आपूर्ति हुन सकिरहेको छैन । सडकको दुरवस्थाका कारण समयमै ढुवानी हुन नसक्दा पनि बजार मूल्यमा प्रभाव पर्न गयो । विनाशकारी महाभूकम्प, लामो भारतीय नाकाबन्दी, बाढी पहिरो जस्ता प्राकृतिक प्रकोपका कारण बिग्रिएको बजार अझै ठीक ठाउँमा आउन सकेको छैन । बेमौसमी तरकारी, खाद्यान्नको उत्पादन कम भएको बहानामा उपभोक्तालाई मर्कामा पार्नु कदापि उचित होइन । जबसम्म कालोबजारी र बिचौलिया नियन्त्रण गर्न सकिँदैन, उपभोक्ता यसरी नै महँगीको मारमा पिल्सिरहने छन् । बजारलाई आफ्नो नियन्त्रणमा राख्ने व्यवसायी, बिचौलिया र मनोमानी गर्ने विरूद्ध कार्वाही नगरेसम्म उपभोक्ताले यस्तै सास्ती बेहोरिरहनु पर्नेछ । स्थानीय प्रशासनको सक्रियतामा पोखरामा शुरु भएको बजार अनुगमलाई तीव्रता दिन जरुरी छ । प्रशासनले नागरिक समाजको संलग्नतामा बजार अनुगमनलाई प्रभावकारी बनाउनु जरूरी देखिएको छ ।




Post a Comment

 
Top