0
गोल्डेन न्यूज संवाददाता
आदर्श कला केन्द्र पोखराले आफ्नो २१ औं बार्षिकोत्सवको अवसरमा आयोजना गरेको ‘आदर्श कला केन्द्र विशेष सांगीतिक साँझ–२०७३’ सम्पन्न भयो। खचाखच दर्शकले भरिभराउ पोखरा सभागृहमा लोकदोहोरी र सुगम संगीतको माहौल जम्यो । प्रजापती पराजुली, पुरुषोत्तम न्यौपाने र राजु परियारले लोकदोहोरी पारखी पोखरेलीहरुको प्यास मेटे भने सुगम संगीततर्फ गायक मनोजराज र कमल किरणले वाहवाही बटुले । पोखरेली धुर्मुसको उपमा पाएका राजेन्द्र नेपालीको प्रस्तुतिमा पोखरेली दर्शक मज्जाले हाँसे । फरक क्षमता भएका व्यक्तिहरुको प्रस्तुति ‘ह्विल चेयर नृत्य’मा दर्शकहरु गम्भीर बने ।  कार्यक्रममा पोखराका चर्चित कलाकेन्द्रहरुको प्रतीनिधिमूलक नृत्यसमेत प्रस्तुत गरिएको थियो ।
 
नेपाली संगीतका मुर्धन्य प्रतिभा संगीतकार प्रकाश गुरुङ्गको प्रमुख आतीथ्यतामा सम्पन्न कार्यक्रममा कलाकेन्द्रले आफ्नो कलाकेन्द्रसंग कुनै बेला जोडिएका र हाल समाजमा विभिन्न पेशा व्यवसायमा स्थापित भएका आफ्ना विद्यार्थीहरुलाई ‘सक्रिय अनुशासित’ सम्मानद्वारा सम्मानित गरेको थियो । यसरी सम्मानित हुनेहरुमा सञ्चारकर्मीदेखि लोकदोहोरी गायकसम्म, नृत्य निर्देषकदेखि हाँस्य कलाकारसम्म थिए । सम्मान कार्यक्रम अन्तर्गत नै चर्चित लोकदोहोरी गायिका स्व. मञ्जु महतलाई मरणोपरान्त सम्मान अर्पण गरिएको थियो । कार्यक्रमका संयोजक तथा आदर्श कलाकेन्द्रका सञ्चालक जय कुमार परियारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य संस्थाका सल्लाहकार सरस्वती गुरुङ्ग र सञ्चालन सञ्चारकर्मीद्वय मन क्षेत्री र लक्ष्मी जि.सी.ले गरेका थिए ।


Post a Comment

 
Top