0
पोखरा उद्योग वाणिज्य संघको ३१ औं महाअधिवेनका अध्यक्ष पदका उम्मेदवारहरु देव क्षेत्री र विश्वशंकर पालिखेले घरदैलो अभियानलाई तीव्र पारेका छन् ।  घरदैलो अभियानका क्रममा क्षेत्रीले आईतबार पोखराको विन्ध्यवासिनी, मोहरियाटोल, भैरवटोल, भीमसेनटोल, नालामुख, तेर्सापट्टी, लगायतका क्षेत्रका विभिन्न उद्योगी व्यवसायीहरुसंग भेटघाट गरेर भोट मागे भने पालिखेले लेकसाईड, विन्ध्यवासिनी, मोहरियाटोल, भैरवटोल, भीमसेनटोल, नालामुख, तेर्सापट्टी, रानीपौवा लगायतका क्षेत्रमा विभिन्न व्यवसायीहरुसंग भेटघाट गरे । घरदैलो अभियानमा क्षेत्रीले पोखराका उद्योगी ब्यापारीहरु र वस्तुगत संघ–संस्थाहरुले आफ्नो समूहलाई सहयोग गर्ने वचन दिएकोे बताएका छन् । उनले अन्य उम्मेदवारले जस्तो आफूले ठूला योजना र महत्वाकांक्षी आश्वासन भन्दा पनि ब्यवसायीको हक हितलाई प्रथामिकतामा दिएकोले आफ्नो पक्षमा उद्योगी ब्यापारीहरुले मत दिने दाबी गरे । उनले व्यवसायलाई समय सापेक्ष बनाउन प्रविधिको सहारा लिँदै अनलाइन सेवा सञ्चालन गर्ने र सचिवालयलाई प्रविधियुक्त बनाउने, उद्योग व्यवसायमा समस्याका रुपमा देखिँदै आएको व्यवसायी–मजदुर बीचको सम्बन्ध सुधार र विवाद समाधानलाई प्राथमिकतामा राख्ने, युवा उद्यमी मञ्च र महिला उद्यमीको भूमिकालाई अझै प्रभावकारी बनाउने, राष्ट्रिय र अन्तराष्ट्रिय उद्योग वाणिज्य संघसँग भगिनी सम्बन्ध गाँसेर अनुभव आदान प्रदान गरी उद्यमशीलता विकासका लागि काम गर्ने प्रतिबद्धता जनाएका छन् । यस्तै पालिखेले पोखराका विभिन्न वस्तुगत संघसंस्था, व्यवसायिक संघ–संस्थाहरुले आफ्नो समूहलाई सहयोग गर्ने थप प्रतिवद्धता दिएको बताए । व्यवसायिक हक, हित र समृद्ध पोखरा निर्माण आफ्नो अभियान भएको कारणले पनि आम पोखरेली व्यवसायीहरुले आफूले नेतृत्व गरेको समावेशी समूहलाई विजयी गराउने बलियो आधार भएको उनले दावी गरे। उनले व्यवसायीलाई करदाता शिक्षा प्रदान गर्दै लेखा प्रणाली सम्बन्धी ऐन नियम बारे जानकारी गराउन कार्यक्रम सञ्चालन गर्ने, सदस्यको हित संरक्षण र दक्षता विकासका लागि सरकारी तथा गैरसरकारी संस्थासँग समन्वय गरी अघि बढ्ने प्रतिवद्धता जनाएका छन् । अध्यक्ष पदका उम्मेदवार नारायण कोइराला, ईश्वर कर्माचार्य, धनीराम बराल, हीरा भट्टराईका साथै अन्य सबै पदका उम्मेदवाहरु पनि आफ्नो पक्षमा मत माग्न दौडधूप गरिरहेका छन् ।







Post a Comment

 
Top