0
पोखरा उपमहानगरपालिका वडा नं १२ स्थित शितलादेवी मा.वि.ले देशभरका ३५ हजार सामूदायिक विद्यालयलाई पछि पार्दै सर्वोत्कृष्ट बनेपछि आइतबार एक कार्यक्रमका बीच हर्षोल्लास मनाएको छ । साधन स्रोतले सम्पन्न धेरै सामूदायिक विद्यालयमा शैक्षिक गुणस्तर खस्कँदै गएका अवस्थामा सरकारबाट जम्मा ८ वटा दरबन्दी र ३ वटा राहत कोटा पाएर अन्य सबै निजी स्रोतबाट सञ्चालनमा आएको विद्यालय सर्वोत्कृष्ट बनेको भन्दै विद्यार्थी, अभिभावक एवम् शिक्षकहरूले सामूहिक रुपमा हर्षोल्लास मनाएका हुन् । विद्यालयले ३७ औं शिक्षा दिवस एवम् साक्षरता दिवसका अवसरमा नेपाल सरकारबाट यही भदौ २३ गते यस वर्षको सर्वाेत्कृष्ट विद्यालयका रुपमा दुई लाख नगद पुरस्कार सहित राष्ट्रिय शिल्ड प्राप्त गरेको थियो । विद्यालयले उत्कृष्ट भएवापत नेपाल सरकारबाट प्राप्त गरेको राष्ट्रिय शिल्ड, दुई लाख रुपैयाँको चेक सहित विद्यार्थी, शिक्षक तथा अभिभावक सहभागी ¥यालीले विद्यालय आसपासका विभिन्न भागको परिक्रमा गरेको थियो । प्रत्येक वर्षको शिक्षा दिवसका अवसरमा शिक्षा मन्त्रालयले सामूदायिक र संस्थागत विद्यालयबाट राष्ट्रिय र क्षेत्रीय उत्कृष्ट विद्यालयका रुपमा पुरस्कृत गर्ने गरेकोमा सामूदायिक तर्फको सर्वोत्कृष्ट विद्यालयको पुरस्कार एवम् सम्मान शितलादेवीले प्राप्त गरेकोमा अत्यन्त हर्ष लागेको विद्यालयका प्रधानाध्यापक बाबुराम अधिकारीले बताए। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टिकाबहादुर कार्कीले देशका अधिकांश सामूदायिक विद्यालय राजनीति करणको प्रभावमा परेपनि शितलादेवी लाई त्यसको प्रभावले छुन नसकेका कारण सफलता हासिल गर्न सकिएको बताए । शिक्षक अभिभावक संघका अध्यक्ष शिरोमणि बरालले विद्यार्थी, शिक्षक तथा अभिभावकको सक्रियता तथा मिहिनेतको प्रतिफलस्वरुप विद्यालयले सर्वोत्कृष्ट स्थान ओगट्न सफल बनेको  बताए । रासस




Post a Comment

 
Top