0
गोल्डेन न्यूज संवाददाता
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख, प्रहरी उपरीक्षक  घनश्याम अर्यालले आफ्नो कार्यकालमा प्रहरीबाट कुनै कमि–कमजोरी हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले जनताको सेवालाई सर्वोपरी ठानेर आफू अघि बढेको र मातहतका प्रहरी पनि सोहि अनुसार अघि बढेको दाबी गरे । उनले कार्य सिलसिलामा कुनै कमजोरी भए आफू समक्ष गुनासो गर्न आग्रह गरे । धादिङ्ग–पोखरा सम्पर्क समाजको १८औं वार्षिक साधारणसभा तथा नवौं अधिवेशनको उद्घाटन गर्दै उनले न्यायका क्रममा आफूले कुनै वाद नहेर्ने स्पष्ट पारे। ‘नातावाद, कृपावाद, परिवारवाद, राजनीतिक वाद भन्ने मलाई चल्दैन । मेरो छोरो नै अपराधी भएपनि जोगाउनेतिर म लाग्दिनँ ।’ ‘गलत काममा मेरो छोरो लाग्छ भने पनि म जेल हाल्छु’ अर्यालले भने–‘जनताको सेवा भावले काम गरौं । जनताको सेवा नै प्रमुख हो । म बिहान ८ बजेदेखि कार्यकक्षमा हुन्छु । समस्या भए आउनुस् ।’
उनले सात जिल्लामा प्रमुख हुँदा आफू धादिङ जिल्लामै सबैभन्दा बढि सेवा गरेको मात्र नभई अहिलेसम्मका प्रहरी प्रमुखमध्ये सबैभन्दा बढि समय कार्य गर्ने नै आफू भएको जनाए । डिएसपी हुँदा २९ महिना धादिङको गाउँ गाउँ पुगी काम गरेको अनुभव सुनाउँदै उनले धादिङवासीहरुले पोखरामा समेत सम्झेकोमा आभार व्यक्त गरे। उनले सामाजिक संस्थामा राजनीतिलाई हावी हुन नदिन आग्रह पनि गरे ।
धादिङ फूलखर्क निवासी खड्कबहादुर भट्टराई मजदुरी गर्ने सिलसिलामा दुई वर्षअघिदेखि एक्कासी वेपत्ता हुँदा पनि प्रहरीले अहिलेसम्म खोजीकार्यमा गम्भीर नभएको गुनासो कार्यक्रममा उठेपछि  अर्यालले आफूले यसबारे बल्ल थाहा पाएको बताउँदै आफूले तत्काल यस विषयमा अनुसन्धान गर्ने प्रतिवद्धता जनाए ।
कार्यक्रममा अन्तरसमाज महासंघ नेपालका अध्यक्ष दीपेन्द्र राईले जिल्लाका अन्तरसमाज मध्ये धादिङ समाज अग्रणी भएको जनाउँदै सबै जिल्लावासीलाई समेटेर अघि बढ्न सुझाव दिए ।
पोखरा उद्योग वाणिज्य संघकी उपाध्यक्ष विन्दु कोईराला सुवेदीले धादिङवासीहरुलाई आफूले मेहनति पाएको भन्दै पोखरामा उद्योग व्यवसायमा संलग्न धादिङवासीहरु वृद्धि भएकोमा खुशी लागेको बताईन् ।
पूर्व अध्यक्ष एवं सल्लाहकार परिषद् संयोजक रुद्रप्रसाद खनालले पोखरामा रहेका धादिङ्गवासी एकजुट हुनुपर्ने बताउँदै राजनीतिक पूर्वाग्रह नराखी सामाजिक कार्यमा अघि बढ्न जोड दिए। खनालले धादिङ्गवासीहरु पोखरामा बढि संख्यामा मजदुर रहेकाले उनीहरुमाथि आईपर्ने जटिल समस्या समाधान गर्न समिति अझ बढि क्रियाशील हुनुपर्नेमा जोड दिँदै सम्पूर्ण धादिङ्ग वासीलाई समितिमा आबद्धताका लागि आग्रह समेत गरे ।
समाजका अध्यक्ष झम्क सारु मगरको अध्यक्षतामा भएको साधारणसभामा महासचिव सुदर्शन बसौलाले वार्षिक प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष लालप्रसाद पाठकले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सो अवसरमा आगिन्चोक इकाई अध्यक्ष हरि पन्त, कार्यक्रम संयोजक युवराज खतिवडा, वरिष्ठ उपाध्यक्ष गोकर्ण लम्साल लगायतले बोलेका थिए।

नयाँ नेतृत्व चयन गर्न असफल
 धादिङ–पोखरा सम्पर्क समाजको नवौं अधिवेशनबाट नेतृत्व चयन असफल भएको छ। समितिको नेतृत्वमा धेरैको उम्मेदवारी परेपछि, सहमति प्रयास असफल र निर्वाचन गराउन सदस्यको गणपुरक संख्या नपुगेपछि कर्यक्रम नै स्थगित भएको छ। समाजको  अध्यक्षमा पदमा कृष्णबहादुर लम्साल, गोकर्ण लम्साल, वीरबहादुर थापा, युवराज खतिवडाले उम्मेदवारी दिएका थिए । समाजको वरिष्ठ उपाध्यक्ष पदमा गुणप्रसाद सापकोटा र सुदर्शन बसौला, महासचिवमा हरि पन्त र युगमराज अगस्तीले उम्मेदवारी दिएका थिए । यस्तै समाजको उपाध्यक्षमा शम्भु अधिकारी, सचिवमा नवराज सापकोटा, कोषाध्यक्षमा समिर अर्याल र सह–कोषाध्यक्षमा कृष्ण विक निर्विरोध निर्वाचित भएका थिए भने कार्यसमिति सदस्य पदमा दर्जन बढीको उम्मेदवारी परेको थियो । नयाँ नेतृत्व चयनका लागि सदस्यको गणपुरक संख्या नपुगेको र विशेषगरि वरिष्ठ उपाध्यक्ष पदमा कुरा नमिलेपछि सहमतिको प्रयास असफल भइ समाजको नयाँ नेतृत्व स्थगित भएको हो ।












जीर्ण सडकले पोखरा कुरुप

Post a Comment

 
Top