0
बाग्लुङदेखि भारतको राजधानी नयाँ दिल्लीसम्म सिधा बस सेवा सञ्चालनमा आएको छ। पोखराबाट दैनिक बस सञ्चालन गर्दै आएको मोर्डन ईरा टुर्स एण्ड ट्राभल्स प्रालिले धौलागिरी अञ्चलको बाग्लुङदेखि नियमित बस सेवा सुरु गरेको हो । बस सेवाको नेपाल यातायात ब्यवसायी राष्ट्रिय महासंघका कार्यवहाक अध्यक्ष डोलनाथ खनालले शुक्रवार उद्घाटन गरे ।  धौलागिरी अञ्चल यातायात ब्यवसायी सञ्चालक समितिसँगको सहकार्यमा सञ्चालित यो बस सेवाले मुक्तिनाथ जाने आउने भारतीय यात्रुलाई बिशेष सहजता प्रदान गर्ने अपेक्षा गरिएको छ । साथै म्याग्दी, बाग्लुङ तथा पर्वतका यात्रुलाई पनि दिल्ली आवत–जावतमा सहज हुने भएको छ । विगत ६ बर्षदेखि नीजि स्तरमा र साढे दुई महिनादेखि सरकारी स्तरमा गरी पोखराबाट दैनिक दुई वटा बस सञ्चालन गर्दै आएको ट्राभल्सले धौलिगिरी अञ्चललाई लक्षित गरी नयाँ सेवा सुरु गरेको हो । मोर्डन ईराको बस धौलागिरी अञ्चल यातायात बस ब्यवसायी सञ्चालक समिति अन्र्तगत सञ्चालनमा आएको हो ।
बाग्लुङबाट तत्कालको लागि हप्तामा तीन दिन बस सञ्चालन हुने प्रालिका अध्यक्ष केशब अधिकारीले जानकारी दिए । तत्कालको लागि आईतवार, बुधवार र शुक्रवार सेवा सञ्चालन हुने र यात्रुको चापलाई ध्यान दिइ आगामी दिनमा दैनिक सेवा समेत सञ्चालन गर्ने अधिकारीले बताए । बस बाग्लुङबाट पोखरा, नारायणगढ, सुनौली हँुदै दिल्लीको जागरपुरेसम्म पुग्नेछ । दिल्लीबाट बाग्लुङका लागि बुधवार साझनै बस छुटेको छ । बाग्लुङबाट दिल्ली झण्डै १४ सय किलोमिटर छ। बाग्लुङबाट दिल्लीको भाडादर ३२ सय रुपैयाँ पर्ने बताइएको छ । प्रालिले भारतको उत्तर प्रदेश परिवहन निगम डिपो गाजियाबाद सँगको सहकार्यमा असार २७ गते देखि नेपाल भारत मैत्री पोखरा– दिल्ली–पोखरा बस सेवा सञ्चालन गर्दै आएको छ । सरकारी स्तरबाट बस सेवा सञ्चालन हुनुपूर्वनै प्रालिले विगत ६ बर्षदेखि निजी स्तरमा पोखरा–दिल्ली–पोखरा बस सेवा सञ्चालन गर्दै आएको थियो । अहिले पोखरा–दिल्ली–पोखरा नियमित दुई वटा बस सञ्चालन हँुदै आएको छ ।




Post a Comment

 
Top