0
गोल्डेन न्यूज संवाददाता
पोखरा युनाइटेड एकेडेमी मावि पोखरा–१२, भद्रकाली र युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल) गिरी कम्प्लेक्स, न्युरोडको संयुक्त आयोजनामा शनिबार भएको मधुमेह तथा मृगौलासम्बन्धी निःशुल्क रक्त तथा पिसाब परीक्षणमा तीन सय ६२ जनाको निःशुल्क परीक्षण गरिएको छ। भद्रकाली ट्याक्सी एकाइ समिति, ढिकालेथर आमा समूह, ढिकालेथर सेवा समिति, ढिकालेथर टोल विकास संस्था, रानाभाट तथा भाट समाज कास्की र अमरसिंह व्यापार व्यवसायी समितिको सह–आयोजनामा भएको कार्यक्रममा अन्य सबै रक्त परीक्षणसमेत ५० प्रतिशत छुट प्रदान गरिएको थियो। कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ फिजिसियन डा तारा कोइरालाले मधुमेह सामान्य रोग भए पनि हेलचेक्राइँ गर्दा अंगभंग, प्यारालाइसिसदेखि ज्यानै जान सक्ने बताए। उनले खानपिन र जीवनशैलीमा ध्यान दिए दीर्घ र स्वस्थ जीवनयापन गर्न सहयोग पुग्ने उल्लेख गरे। युआरएलका प्रवन्ध निर्देशक ठाकुरप्रसाद पन्तले युआरएलले नेपालमै धेरै प्रकारका रक्तपरीक्षण गर्ने गरेको जनाउँदै हालसम्म विभिन्न संघ, संस्थासँगको सहकार्यमा २६ निःशुल्क शिविर भइसकेको जानकारी दिए। उनले शिविरबाट १३ हजार बढीले निःशुल्क सेवा पाएको उल्लेख गर्दै परीक्षण गरिएकामध्ये १२ प्रतिशत नयाँ मधुमेहका बिरामी फेला परेको बताए। विद्यालयका कार्यकारी निर्देशक कृष्ण सापकोटाले सामाजिक उत्तरदायित्व वहन गर्दै शिविर आयोजना गरेको र अब हरेक वर्ष यसलाई निरन्तरता दिने प्रतिवद्धता जनाए।विद्यालयका कार्यकारी निर्देशक कृष्ण सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत प्रिन्सिपल दीपक रेग्मी र सञ्चालन शिक्षक तारा श्रेष्ठले गरेकी थिइन्।

Post a Comment

 
Top