0
गोल्डेन न्यूज संवाददाता
धादिङ मार्पाकको लवांगफेदी मा यात्रुवाहक बस दुर्घटनामा मृतकको संख्या १९ पुगेको छ । घाइते १३ जनाको काठमाडौंको शिक्षण अस्पतालमा उपचार भइरहेकोमा एकजनाको मृत्यु भएको इमरजेन्सी विभाग प्रमुख डा. प्रतापनारायण प्रसादले बताएका छन्। यस्तै १८ जनाको घटनास्थल मा नै मृत्यु भएको धादिङका प्रहरी प्रमुख शरदकुमार खत्रीले जानकारी दिए । घाइतेरुलाई दुईवटा हेलिकप्टरमार्फत् उपचारार्थ काठमाडौं लगिएको छ । बिहान धादिङ सदरमुकामको मिलनटोल बाट ३५ जना टिकट काटेका यात्रु लिएर किङ्गताङ्ग फेदीका लागि छुटेको ना ४ ख ३३१८ नंबरको समीक्षा यातायातको बस मार्पाक–६ स्थित उकालोमा दुर्घटना भएको धादिङ जिल्लाका प्रहरी निरीक्षक भीमप्रसाद भट्टराईले जानकारी दिए । बसपार्कबाट ३५ जना बोके पनि बीच बाटोमा अरु थपिएको हुन सक्ने प्रहरीले बताएको छ । मृतक १९ मध्ये १८ जनाको सनाखत भएको छ ।  दुर्घटनामा परी मृत्यु हुनेमा बस चालक गोरखा तान्द्राङ–९ का गंगावीर विश्वकर्मा, मार्पाक–५ का कमल पौडेल, सोहि ठाउाका पवनबहादुर स्माइली मगर, दिलकुमारी अधिकारी, दार्खा–९ का पर्यटन व्यवसायी रामचन्द्र सापकोटा, सत्यदेवी–३ का लिलाबहादुर गुरुङ, सोहि स्थानकी चिरमाया तामाङ, रावन तामाङ, रि गाउँ–८ कि मुना तामाङ, सत्यदेवि–२ रंगसिंह तामाङ, सोहि स्थानका मिदिजंग तामाङ, रौता तामाङ, रि गाउँ–२ का टेकबहादुर तामाङ, चन्द्रमान तामाङ, गुम्दी–८ का इन्द्ररुद्रबहादुर घले र ठेगाना नखुलेका नरबहादुर थापा गरी १६ जनाको सनाखत भएको छ । भुकम्पले क्षतिग्रस्त घरको पुनर्निर्माण गर्न पहिलो किस्ता ५० हजार रकम अनुदान लिन आएका उत्तरी भेकका सत्यदेवी र री गाविसका अधिकांश भूकम्पपीडित यात्रुहरु बसमा रहेको टिकट काउन्टरले जनाएको छ । सेम्जोंग र कटुन्जेबाहेक उत्तरी भेकका री, लापा, सत्यदेवी, तिप्लिङ्ग, सेर्तुङ्ग, झार्लाङ्गका बासिन्दाहरुले उक्त सडक प्रयोग गर्छन् । मिलनटोलस्थित काउन्टरमा सदरमुकाममा बस्ने उत्तरी भेकका आफन्तजनहरुको भीड लागे पनि मृतकहरुको नाम खुल्न नसकेकोले सबै आफन्तजनहरु अन्योलमा परेका छन् । थप १५ जना घाइतेलाई नेपाली सेनाको हेलिकप्टरले उपचारार्थ सवा २ बजे उद्धार गरी काठमाडौं लगेको सदरमुकामस्थित नेपाली सेनाको देवीदत्त गणले जनाएको छ ।
सत्यदेवीका उद्धारका लागि दार्खास्थित प्रहरी चौकी र जिल्ला प्रहरीबाट मिनीट्रकमा ३० जना प्रहरी पठाइएको प्रहरीले जनाएको छ । टिकटको काउन्टले दिएको चलानीमा कुनै पनि यात्रुको नाम ठेगाना लेखिएको छैन । एउटै व्यक्तिले धेरै टिकट खरिद गर्ने भएकाले टिकटमा नाम नलेखिने काउन्टर सञ्चालकले बताएका छन् । दुर्घटनास्थल सदरमुकाम धादिङवेसीबाट ३२ किलोमिटर दूरीमा पर्छ । प्रहरीका अनुसार दुर्घटनामा परेको बसको रुट परमिट छैन ।  बर्षाले बिग्रेको  ग्रामीण सडक मर्मत संभार नभएपछि दुर्घटना भएको प्रहरीको भनाई छ ।

Post a Comment

 
Top