0
गोल्डेन न्यूज संवाददाता
पोखरामा यही असोज १५ देखि २२ गतेसम्म संचालन हुने पाँचौं संस्करणको संगम कप सेभेन ए साईड फुटवल प्रतियोगिता २०७३ को तयारी तीव्र पारिएको छ । संगम क्लवको आयोजनामा माछापोखरी खेल मैदानमा ८ दिनसम्म संचालन हुने प्रतियोगिताको तयारी तीव्र पारिएको मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको हो । “लागू औषध निर्मूल हाम्रो अभियान, समाज परिवर्तनमा युवा जागरण” भन्ने मूल नाराका साथ आयोजना हुने प्रतियोगितामा करिब ४० टिमको सहभागिता रहने भएको क्लवका अध्यक्ष शिव गुरुङ्ग (माया) ले बताए ।  संगम, एल.जी, हङ्गकङ्गको मुख्य प्रायोजनामा ६ दिनसम्म संचालन हुने प्रतियोगितामा विजेता टिमलाई १ लाख २१ हजार १ सय ११ रुपैयाँ र दोश्रो हुने टिमलाई भने ६१ हजार १ सय ११ रुपैयाँ साथमा ट्रफी मेडल र प्रमाणपत्र वितरण गरिने भएको छ । प्रतियोगितामा उत्कृष्ट खेलाडीले ५ हजार प्राप्त गर्ने भएको छ ।
 
त्यसैगरी उत्कृष्ट गोलरक्षक, उत्कृष्ट स्टाईकर, उत्कृष्ट डिफेन्स र हाईस्कोररलाई जनही दुई दुई हजार साथमा ट्रफी प्रदान गरीने भएको छ ।शिखर बहुउद्देश्य सहकारी संस्थाका अध्यक्ष एवं समाजसेवि रवि शर्माले पहिलो पुरस्कार प्रायोजना गरेका छन भने मुख्य प्रायोजक संगम, एल.जी, हङ्गकङ्गले उक्त प्रतियोगिताका लागि ५ लाख ४३ हजार १७ रुपैयाँ आर्थिक सहयोग गरेकोे क्लवले जनाएको छ । प्रतियोगितामा अन्तिम टिम दर्ताको समय सीमा भने यही असोज १३ गतेसम्म भएको प्रतियोगिताका संयोजक सूर्य बहादुर गुरुङ्ग (राजु) ले बताए । त्यसैगरी सह–प्रायोजकको रुपमा संगम युके र संगम जापान रहेका छन । संगम जापानको तर्फबाट अशोक गुरुङ, राजकुमार गुरुङ र राजु गुरुङको सक्रियतामा एक लाख तीस हजार उक्त प्रतियोगिताका लागि सहयोग गरेका छन । मनोज गुरुङ र मिलन गुरुङको नेतृत्वमा सहप्रायोजकको रकम सहित प्रतियोगिताका लागि वेलायताबाट एक लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग प्राप्त भएको सह–संयोजक विवेक गुरुङले बताए ।


Post a Comment

 
Top