0
बगरको टुँडिखेल मैदानमा यो पटक विशेष ‘दशैँ फूलपाती मेला’ हुने भएको छ । परापूर्वकालदेखि नै टुँडिखेल मैदानमा फूलपातीको दिन विशेष हाट बजारसहितको मेला लाग्ने भएपनि यो पटक त्यहाँको बुद्ध टोल युवा क्लबले मेलालाई अझै वृहत बनाउन लागेको हो । क्लबले बुधबार मेलास्थलमै पत्रकार सम्मेलन गरेर यसबारे जानकारी दिएको हो । मेला असोज १८ देखि २४ गतेसम्म चल्ने आयोजकले बताएको छ । ‘टुँडिखेलमा फुलपाती हाटबजार र मेलाको परम्परा निकै पुरानो हो । यद्यपि यो पटक मेलालाई अझै वृहत रुपमा हामीले लैजान लागेका हौँ ।’ मेलाका सँयोजक चन्द्रबहादुर गुरुङले भने–‘यसले मेलाको महत्वलाई अझै बढाउने हामीले ठानेका छौँ।’ टुँडिखेल मैदानको स्तरोन्नति र टोल सुधारका लागि युवा क्लबले मेला आयोजना गर्न लागेको जानकारी दिएको छ ।
 
यो पटक मेलामा भेडा च्याङ्ग्राको विशेष स्टलसँगै व्यापारिक स्टल, बाल उद्यान, विभिन्न खेल सामाग्री र राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति रहनेछ । साँगीतिक प्रस्तुतीमा लोकदोहोरी तर्फ प्रजापति पराजुली, पुरुषोत्तम न्यौपाने, शर्मिला गुरुङ, रामजी खाँड, राजु गुरुङ लगायतको विशेष प्रस्तुति रहनेछ । मेला अवधिभर साँझपख हुने पप कन्सर्टमा अभया एण्ड स्टिम ईन्जन्स, अनुप्रस्थ, लेकाली ब्याण्डले माहौल गर्माउने आयोजकले बताएको छ ।
 त्यो सँगै पोखरेली माग्ने बुढा, धुर्मुस र दिपक थापाको हाँस्य प्रस्तुति पनि मेलामा रहने पत्रकार सम्मेलनमा जानकारी दिईयो । एक सातासम्म चल्ने मेलाका लागि १३ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको बुद्ध टोल युवा क्लब बगरका अध्यक्ष अरुण गुरुङले बताए । मेलामा ३१ वटा व्यवसायिक स्टल रहनेछन् ।

Post a Comment

 
Top